देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचौं चरणको उद्धार उडान आजदेखि

देशान्तर

विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज देखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो ।

सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । भदौ १५ पछि सरकारले नियमित उडान गर्ने जनाइसकेको छ । सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ ।

युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।

दुबईबाट ८ वटा, दोहाबाट ७, क्लालालम्पुरबाट ६, दम्माम र अबुधाबीबाट ५–५, कुवेतबाट ३, रियाद र सारजाहाबाट २–२ र अमेरिका, जापान, जेद्दा, कोरिया र अस्ट्रेलियाबाट १–१ गरी ४३ वटा उडान हुनेछन् । हाल तोकिएका १२ वटा गन्तव्यबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहने नेपालीलाई पनि यिनै उडानबाट स्वदेश फर्किन खुला गरिएको छ ।

उद्धार उडानको टिकट बिक्री सम्बन्धित वायुसेवा कम्पनीले मात्रै गर्न पाउनेछन् । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ । नेपाली दूतावासहरूमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेको भन्दै नाम टिपाएका छन् ।