देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाले नेताहरुकाे जिम्मेवारी तोक्न सकेन

देशान्तर

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक नेताहरूको पदीय बाँडफाँट र जिम्मेवारी नतोकीकनै सकिएको छ । तत्कालीन राजपा र समाजवादीको एकीकरणपछि
केन्द्रीय कार्यकारिणी समितिको बैठकमा जिम्मेवारी बाँडफाँटको मुद्दा नै मुख्य चासो बनेको थियो ।
बुधबारदेखि बसेको बैठकमा कार्यविभाजनलाई लिएर विवाद बढ्न सक्ने भन्दै नेताहरूले शनिबार नै यो एजेन्डालाई छलफलबाट हटाएका थिए ।

सानो टिमबाट मात्रै समाधान निकाल्न सकिने भन्दै कार्यविभाजन र पार्टीको संगठनात्मक समायोजनको काम गर्न नेताहरूकै प्रस्तावमा सचिवालय बनाउने निर्णय भएको छ । सचिवालयमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो छन् ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सबैको पद तथा जिम्मेवारी बाँडफाँट तत्काल तोक्न सदस्यहरूले माग गरेका थिए । निर्वाचन आयोगमा दल दर्ताका क्रममा दुई अध्यक्ष, तीन वरिष्ठ नेतासहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको थियो । केन्द्रीय तहका अन्य संरचना बन्न सकेका छैनन् ।

अहिलेसम्म अध्यक्षद्वय ठाकुर र यादवकै भूमिकाको समेत परिभाषा भएको छैन । केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवले गृहकार्य गर्नका लागि समय नपुगेकाले कार्यविभाजनबारे बैठकबाट निर्णय हुन नसकेको बताए । ‘यो विषयलाई अब सचिवालयले टुंगो लगाउँछ,’ उनले भने । कान्तिपुरमा खबर छ ।