देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘परिचय गुमेको कांग्रेस’ विस्थापित गर्ने चुनौती

देशान्तर

मोती बिन्दुले ढाकेको आँखा उघारेर हेर्ने हो भने कोभिड प्रकोपको भुँमरीमा गाँजिँदै, बाढी पहिरो तथा आत्महत्या गर्नेहरूको संख्यामा अपार वृद्धिले मुलुकलाई ग्रस्त तुल्याएको देखिन्छ । मानव निर्मित प्रकोपका कारणहरूले गर्दा अर्थतन्त्र जर्जर हुँदै धराशायीतर्फ तीव्र गतिमा बढ्दै गरेको सूचकहरू भेटिन्छ । ‘दुई तिहाइ बहुमत’ प्राप्त सरकार प्राकृतिक प्रकोपको प्रभाव न्यूनीकरण गरेर जनसाधारणको जीवन रक्षा गर्नेतर्फ भन्दा विपतलाई सीमित व्यक्तिहरूको निहित स्वार्थपूर्तिका निमित्त लाभको अवसरको रूपमा प्रयोग गर्दैछ । नागरिकद्वारा सुम्पिएको शासन अभिभारालाई जवाफदेहिताविहीन अवस्था निर्माण गरेर अनियमितता तथा भ्रष्टाचार गर्ने वैध अधिकार पाए सरहको व्यवहार हाबी भएको छ, विगत २८–२९ महिनादेखि । सरकारले अख्तियार गरेको गलत नीति तथा कार्यहरूविरुद्ध जनपरिचालन गरेर सरकारलाई सही दिशा उन्मुख तुल्याउने अभिभारा पाएको नेपाली कांग्रेस (नेका) “किन चाउरिएको मरिच ?” प्रश्नको उत्तर “आफ्नै रागले” जस्तो नियति भोग्दैछ । परिणाम : सत्ताधारी दल मुलुकलाई कहालीलाग्दो अनिश्चित भविष्यतर्फ धकेल्दै छ भने प्रतिपक्ष दल त्यसलाई अनदेखा गर्दैछ ।

सत्तापक्ष दल जस्तै गरेर प्रतिपक्षी दलको नेतृत्व पंक्ति पनि पदीय संघर्षमा रुमलिँदैछ । नेका सभापतिले दोस्रो पटक सभापति पदमा निर्वाचित हुनका निमित्त लिखित, अलिखित, विधि, विधान तथा स्थापित मूल्य मान्यतालाई लत्याउँदै एकपछि अर्को निर्णय गरेको आरोप इतरपक्षले लगाउँदै आएको छ । निजी लाभ र मोलतोलसमेतको हिसाब राख्ने अहिलेका महाधिवेशन प्रतिनिधिहरूको बीचबाट स्रोत र साधन सम्पन्न पार्टी सभापतिलाई विस्थापित गर्ने क्षमता प्रमुख इतरपक्षसँग छैन ।

त्यही कारण इतरपक्ष सभापतिको स्वार्थी प्रवृत्ति, गलत आचरण र चरित्र तथा असक्षमतालाई कार्यकर्ता पंक्तिमा प्रमाणित गरेर तिनको लोकप्रियतामा क्षय आउने आशासहित नेतृत्व खोस्ने अभियानमा देखिन्छ । यसै सन्दर्भमा नेका पार्टी सभापतिले गरेका केही दिन पूर्वका पाँच निर्णयहरू (१) दुई पूर्व मन्त्री (गोविन्दराज जोशी तथा पुष्करनाथ ओझा) तथा डँडेलधुरा जिल्ला कार्यसमितिका कार्यालय सचिव (रामबहादुर बिष्ट) लाई पार्टीबाट निष्काशन (२) राप्रपा नेता (सुनील थापा) को पार्टी प्रवेश तथा (३) पार्टी सभापतिले आफ्नो अध्यक्षतामा ४ सय ९७ सदस्यीय ज्येष्ठ राजनैतिक सभाको गठन, (४) भ्रातृ संस्थाहरूको म्याद ६ महिना थप्ने तथा (५) विभिन्न विभागहरूको गठन तथा तिनमा रिक्त रहेका पदपूर्ति इतर पक्षका निमित्त मसला साबित भएकै छन् सरकार सञ्चालनका क्रममा देउवाले गरेका भ्रष्टाचारजन्य काम, अनैतिक र आचरणहीन कामलाई पनि सो समूहले मुद्दा बनाएको छ ।

नेकाभित्र मञ्चन हँुदै गरेको नाटकका प्रमुख पात्रहरू शेरबहादुर देउवा तथा ‘वरिष्ठ’ नेता रामचन्द्र पौडेल हुन् । जुनसुकै हतकण्डा अपनाएर भए पनि सभापित देउवा पदमा टिकी रहन चाहन्छन् । सत्ता र शक्तिका लागि जेसुकै गर्न पनि पछि नपर्ने देउवासामु पौडेलका निमित्त उक्त पद पाउने विषय निकै जटिल र चुनौतीपूर्ण छ । देउवाले सरकारको पटकपटक र पार्टीमा पनि नेतृत्व सम्हाल्ने अवसर पाउँंदा उनका समकक्षी भएर पनि आफू यी दुवैको नेतृत्व गर्ने अवसरबाट बञ्चित हुनु परेको अवस्थामा पौडेलका लागि यो महाधिवेशन जीवनमरणको प्रश्न बन्नु स्वाभाविक पनि हो । दुवै जना विगत तीन दशक लामो समकालीन नेकाको इतिहासमा अहम् भूमिका निभाएका व्यक्ति हुन् । उनीहरूको कार्यकालमा पार्टीलाई के कति लाभ वा हानि भयो, त्यसको मूल्यांकन कांग्रेसजनले गरेकै हुनु पर्दछ । यस पंक्तिकारको मतमा दुवैले पाएको अवसरहरूले नेकाको छवि सुधार्नभन्दा बढी बिगार्नमा भूमिका खेलेको छ । कांग्रेसको छवि बिगार्न र बदनाम गर्नमा पौडेलको तुलनामा देउवा धेरै दोषी छन् तर पौडेलले पनि त्यो छवि सुधार गर्न कुनै ठूलै कदम चाल्ने साहस नदेखाएर विगतमा पटकपटक गल्ती भने गरेकै हुन् । दुवैमध्ये एकले विगतमा कांग्रेसले गुमाएको हैसियतका कारणहरू केलाएर आत्मा आलोचना गर्ने हिम्मत गरेका छैनन । कांग्रेसले गुमाएको पहिचानको पुनस्र्थापन गर्ने भरपर्दो खाका न त देउवाले न त पौडेलले प्रस्तुत गर्ने सामथ्र्य अहिलेसम्म गरेका छन् ।

तर यसो भनिरहँंदा पौडेलले पार्टी र सरकारका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरे पनि नेतृत्व गरेर सरकार वा पार्टी सञ्चालन गर्ने अवसर नपाएका कारण त्यो अवस्थामा उनी ‘फस्ट मेन’का रूपमा ‘टेस्टेड’ हुन बाँंकी छन् । तर नेतृत्वदायी भूमिकामै उनले सरकार र पार्टीमा जिम्मेवारी प्राप्त गर्दा कुनै त्यस्तो चमत्कारिक छवि बनाउन नसकेका कारण त्यही आधारमा पार्टी सभापति भइहाले भने कांग्रेसलाई ठूलै रूपान्तरण गर्लान् भनेर कार्यकर्ताहरूले पत्याउन सकिरहेको देखिँदैन । यसै पनि देउवा गुटमा उनी एक्लै प्रतिस्पर्धी रहँंदा पौडेल समूहमा गुटभित्रै ३–४ जना पात्रलाई मिलाउनुपर्ने चुनौतीमा छन् । चरित्रका हिसाबले देउवाभन्दा निकै स्वच्छ र वैचारिक क्षमतामा दक्ष मानिए पनि पौडेलसँंग टिम व्यवस्थापन गर्ने र त्यसलाई नेतृत्व प्रदान गर्ने क्षमता कमजोर मानिन्छ । यो अवस्थामा साधन, स्रोतले भरिपूर्ण देउवासँंग प्रतिस्पर्धा गरेर उनको चंगुलबाट कांग्रेसलाई जोगाउन पौडेललाई त्यति सजिलो भने छैन ।

विडम्बना नै हो माथि उल्लेख गरिएको विद्यमान परिस्थितिमा नेका तीन प्रमुख गुटहरूमा विभाजित हुनु १) देउवाले नेतृत्व गरेको ‘संस्थापन पक्ष’ २) वरिष्ठ नेता पौडेलको नेतृत्वको ‘इतरपक्ष’ तथा ३) पूर्वमहामन्त्री सिटौलाले नेतृत्व गरेको गुट । बहुसंख्यक कांग्रेसीहरूको मत छ– अन्तत्वोगत्वा १४ औं महाधिवेशनमा टक्कर देउवा र पौडेलबीचमै हुनेछ । देउवाको कमी, कमजोरीहरूको व्याख्या गर्ने पौडेल गुटका नेताहरू आफू रामचन्द्रको विकल्पमा मनोनयन हुन पाए शेरबहादुरको मुकाबिला गर्न सक्ने धारणा पनि व्यक्त गर्दछन् । तर तिनको पनि शेरबहादुरलाई पराजित गर्न सक्ने भरपर्दो तथ्य र आधार छैन । पौडेल गुटका नेताहरूलाई थाहा छ रामचन्द्र पौडेल आफूबाहेक अन्य नेताहरूमा शेरबहादुरसँग भिड्ने दक्षता देख्दैनन् । तेस्रो गुटका नेता त च्याखे थाप्न खप्पिस कहलिएका व्यक्ति भएको हुनाले तिनका विषयमा चर्चा सायद आवश्यक छैन । यो परिस्थितिमा देउवाइतर समूहलाई टिम व्यवस्थापन गरेर एउटै उम्मेदवार बन्नुपर्ने निकै जटिल अवस्था त छँंदैछ, महाधिवेशनलाई कब्जा गर्ने देउवाका अनेक षड्यन्त्र र फोहोरी खेलको सामना गर्नुपर्ने चुनौती पनि त्यतिकै छ ।

मुलुकले वर्तमान अबस्था जस्तो चुनौतीपूर्ण नियति विगतमा भोगेको थिएन । सत्तापक्षलाई सत्ता प्राप्त गर्न अभूतपूर्व सफलता मिल्यो तर सत्ता सञ्चालन उसको दक्षता (बुता) भन्दा ज्यादै परको विषय साबित भएको छ । अर्कोतर्फ, सफल विद्रोही छवि निर्माण गरेको ऐतिहासिक राजनैतिक दल जसरी सत्तासीन हुँदा सुशासनको अनुभूति दिन असफल रह्यो त्यसैगरी प्रतिपक्षको जिम्मेवारी पाउँदा पनि उक्त भारी बोक्न असमर्थ साबित भएको छ । नेका विगत २८ महिनादेखि सत्ताधारी दलको एउटा ‘अर्को’ गुटको हैसियतमा खुम्चिएको छ । पार्टी नेतृत्व सरकारसँग नीतिगत सुधार अथवा उसले गरेका जनहित विपरीतका कार्यहरूका विषयमा वादविवाद गर्ने, नागरिकलाई सरकारका गलत कार्यहरूका विषयमा सचेत तुल्याएर सरकारका विरुद्ध दबाब सिर्जना गर्नेतर्फभन्दा आफन्तका निमित्त सरकारद्वारा प्रदान गरिने सुख, सुविधाहरूमा पहुँच बढाउन अग्रसर हुँदैछ ।

बहुसंख्यक कांग्रेसजनलाई आफ्नो पार्टी संकटग्रस्त अवस्थाबाट गुजँ्रदै छ भन्ने राम्रो ज्ञान छ । उनीहरूमध्ये कतिलाई विगतमा पनि संकट झेलेको दल विद्यमान संकटबाट उन्मुक्ति पाउन सफल हुन्छ भन्ने विश्वास पनि छ । आत्मसाथ गर्नुपर्ने वास्तविकता भनेको संकट मोचन आफसेआफ हुँदैन । जसरी व्यक्तिले संकट आइपर्नाका कारणहरू केलाएर समाधानका उपायहरू पहिल्याउँदै अगाडि बढ्दछन् त्यसैगरी नेकाले पनि विद्यमान संकट आइपर्नाका कारणहरू विश्लेषण गरेर तिनको संम्बोधनतर्फ कदम चाल्नु नितान्त आवश्यक हुन्छ । नेकाको हकमा वर्तमान अवस्थामा छताछुल्ल भएको संकटको प्रमुख कारण कमजोर नेतृत्व हो भन्न हिच्किचाउनु पर्ने अवस्था छैन । प्रश्न उठ्दछ लामो ‘स्वर्ण अक्षरमा लेखिएको इतिहास’ भएको राजनैतिक दलले किन सबल नेतृत्व पाउन सकेन ?

नेकामा नेतृत्वको खडेरी पर्नाका दुई प्रमुख कारणहरू छन् । पहिलो कारण– बीपीले बाहेक अन्य नेताहरूले नेतृत्व हस्तान्तरणका विषयमा सोच राखेनन् । दुर्भाग्य बीपीले ‘ग्रुम’ गरेका ब्यक्तिहरू या त अधर्य तथा महत्वाकांक्षी (जस्तै विश्वबन्धु थापा, डा.तुलसी गिरी, श्रीभद्र शर्मा तथा परशुनारायण चौधरी आदि) प्रमाणित भए अथवा मारिए (सरोज कोइराला, योगेन्द्रमान शेरचन तथा देवानसिंह राई आदि) तथा दोस्रो बीपीको देहावसानसँगै नेकाको भविष्यका विषयमा दूरगामी चिन्तन तथा सोच–विचार गर्ने नेता नै भएनन् । ‘ट्रोइका’ गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइराला जसले पार्टी नेतृत्वको अभिभारा पाए उहाँहरू तिनैमा अन्य अभूतपूर्व गुणहरू हुँदाहुँदै पनि दीर्घ सोच राखेर बदलिँदो परिस्थिति अनुरूप पार्टीलाई गति प्रदान गर्ने क्षमताको अभाव थियो ।

उहाँहरू तिनैले आफ्नो सबल पक्ष वा गुणहरू एकअर्काको विरुद्ध अस्त्रको रूपमा प्रयोग गर्नुभयो तर आफूमा भएको अभावको परिपूर्तिका निमित्त आफूभन्दा सक्षम नेता कार्यकर्तालाई उदाउने मार्ग प्रशस्त गर्नुको साटो अवरोध खडा गर्न लागिपरे । शेरबहादुरको उदय धेरै हदसम्म ‘ऐक्सिडेन्टल’ नै थियो । तेस्रो, प्रथम जनआन्दोलनको सफलतापश्चातका दिनहरूमा कांग्रेस पहिचान र चरित्रमा ह्रास आउनु हो । कांग्रेसजनको स्थापित पहिचान सबै प्रकारको अन्यायका विरुद्ध लड्ने, समानता र परिवर्तन पक्षधर, लोकतान्त्रिक आचरण घनिभूत, सादा जीवनशैली अपनाउने, आफू र आफ्नालाई नभएर राष्ट्रहितप्रति समर्पित व्यक्ति थियो । नेका तिनै व्यक्तिहरूको समूह वा संगठन थियो । उक्त पहिचानलाई सत्ता प्राप्तिपछिका दिनहरूमा कांग्रेसले गुमाउँदै गयो । बीपीले कार्यकर्ताहरूलाई ‘बिना गेरु वस्त्रको जोगी’ बन्न गरेको आग्रहलाई त कांग्रेसजनले आत्मसाथ गर्न सकेनन् सकेनन् कमसेकम उहाँले भने जस्तै पार्टीलाई ‘सुकिला मुकिलाहरूको चंगुलबाट जोगाउनु’ सकेको भए पनि नेकाले आजको नियति भोग्नुपर्ने थिएन ।

नेकालाई जोगाउने भनेको वर्तमान कालखण्डमा देखा परेको संकट मोचन गर्नु हो । त्यो त्यतिबेलासम्म सम्भव हुने छैन जबसम्म गुमेको पहिचानलाई पुनःस्थापना गर्न नेका समर्थ हुन सक्दैन । विगत तीन दशकदेखि पार्टीमा हाबी हुँदै गरेका सुकिलामुकिला आजको सन्दर्भमा बिचौलियाहरूको चंगुलबाट यो दलले उन्मुक्ति पाउँदैन तबसम्म सायद कांग्रेस चरित्रको पुनःस्थापना सम्भव हुँदैन । त्यसका निमित्त १४ औं महाधिवेशनको मूल उद्देश्य भनेको विद्यमान परिचय गुमेको कांग्रेसलाई विस्थापित गरेर विगतको परिचय पुनःस्थापन गर्न सक्षम काग्रेस नेतृत्वको चयन गर्नु हुन सक्दछ ।

  • २०७७ साउन २५ गते प्रकाशित देशान्तर साप्ताहिकबाट