देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राममन्दिर अयोध्यामै बन्न थाल्यो !

देशान्तर

भारतले नेपाललाई फेरि हेप्यो, त्यो पनि असैह्य तरिकाले । नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले रामजन्मभूमि भारतको अत्यन्त विवादास्पद अयोध्य होइन, नेपालको ठोरीभन्दा अलि परको अयोध्या नाम गरेको गाउँ हो भनेर ठोकुवा गर्दागर्दै पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा प्रधानमन्त्रीलाई टेर्दै नटेरी भारतकै अयोध्यामा राममन्दिर निर्माणको भूमिपूजन अर्थात् शिलान्यास गर्नु नेपालका ओलीको घोर अपमान र अपहेलना मात्र होइन, जानाजानी नेपालीलाई होच्याउनु र हेप्नु पनि हो । तसर्थ, नेपालले त्यसको सशक्त जवाफ दिनुपर्छ । त्यसको जवाफ भनेको नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा प्रकाशित गरेको लगत्तै त्यसको जवाफमा नेपालले पनि भारतले दाबी गरेको र सडक निर्माणसमेत गरिसकेको सबै भूभाग समेटेर नयाँ नक्सा निकालेर जसरी जस्तालाई तस्तै, ढिँडालाई निस्तै भनेर मुखभरिको जवाफ दिएको थियो, त्यसैगरी यसपालि पनि नेपालको अयोध्या गाउँमा भारतको भन्दा ठूलो र भव्य राममन्दिर निर्माण गरेर त्यसको गतिलो जवाफ दिनुपर्छ भन्ने माग, आमजनताको स्तरबाट उठ्न थालेको छ । नउठोस् पनि किन ? ओली भनेका दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री मात्र होइनन्, चीनजस्तो शक्तिशाली राष्ट्रका आजीवन राष्ट्रपति सी जिनपिङ विचारधारका कट्टर अनुयायी पनि हुन् । उनलाई हेपेको टुलुटुलु हेरेर बस्न सकिन्छ ?

रामलाई विश्वभरिका हिन्दूधर्म मान्नेहरू मर्यादा पुरुषोत्तमका रूपमा श्रद्धा र सम्मान गर्दछन् । पुरुषमा सबैभन्दा उत्तम र जस्तोसुकै अवस्था उत्पन्न भए पनि मर्यादा पालनमा अटल रहने भएकाले उनलाई ऐतिहासिक कालदेखि नै त्यस्तो विभूषण प्रदान गर्ने गरिएको थियो, जुन अद्यापि कायम छ । त्यो यसकारण कि जहाँ विधिको शासन छ, जहाँका शासकहरू विधिको बर्खिलाफ कुनै काम भयो भन्ने आरोप लाग्नेबित्तिकै नैतिकताका आधारमा पदबाट राजीनामा दिएर जनमतको कदर गर्दछन्, जहाँ अन्याय र अत्याचार हुँदैन, जहाँका कर्मचारीहरू भ्रष्टाचारले लिप्त हुँदैनन्, जहाँको समाजमा चोरीचकारी हुँदैनन्, जहाँ मानिसले मानिसको शोषण गर्दैन, जहाँ मानिस मानिसका बीचमा भेदभाव र पक्षपात हुँदैन, जहाँ राजनीति तथा सार्वजनिक जीवनमा नैतिकता र चरित्रको उच्च सम्मान हुन्छ, सदाचार जहाँको जीवनशैली हुन्छ, त्यस्तो आदर्श राज्य र राज्यव्यवस्थालाई शास्त्रले रामराज्य भनेको छ । आधुनिक युगमा जहाँ त्यस्तो मर्यादा पालन हुन्छ, त्यहाँको राज्यव्यवस्थालाई विधिबाट चल्न भएकाले त्यसलाई सर्वोत्तम व्यवस्था मानिन्छ । महात्मा गान्धीले पनि त्यस्तो राज्यव्यवस्थालाई “रामराज्य” भनेका थिए । उनले भारतको स्वतन्त्रतापछि जुन राज्यव्यवस्था स्थापित गर्न खोजेका थिए, त्यो त्यही रामराज्यका आदर्शद्वारा अनुप्राणित थियो । यद्यपि हाम्रो धर्मशास्त्रले मानेको रामराज्यको त्यस्तो आदर्श शासन व्यवस्था वर्तमान युगमा “युटोपिया” मानिन्छ, तथापि हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले उद्देश्य के लिनु, उडिछुनु चन्द्र एक भने झैं राज्यव्यवस्थाको सवाल उठ्नेवित्तिकै सबैको पहिलो चयन, रामराज्य नै हुने गर्छ । शायद, मानिस युटोपियाजस्तो अलभ्य वस्तुलाई हेरेर बाँच्न अभ्यस्त भएकाले हो कि ?

राम, अयोध्याका राजा दशरथका जेठा छोरा थिए । अयोध्या आफ्नो समयको मध्य भारतको सुविस्तृत क्षेत्रमा फैलिएको सभ्य, सुसंस्कृत, समृद्ध तथा शक्तिशाली राज्य थियो । त्यसैले त्यहाँका राजगद्दीका स्वाभाविक उत्तराधिकारीलाई वचपनदेखि नै प्रदान गर्नुपर्ने धर्म, दर्शन, न्याय, राजकाज तथा सामाजिक मर्यादाका शिक्षा विशेष प्रकारका गुरुजनबाट प्राप्त थियो । धनुर्विद्यामा उनी यति पारंगत थिए कि विदेह अर्थात् मिथिलाका राजा जनककी छोरी सीतासँग उनको विवाह अनेक देशका राजकुमारसँग भएको बाण प्रहारसम्वन्धी प्रतियोगितामा विजयी भएकाले हुन पुगेको थियो । त्यो बेग्लै प्रसंग हो, जसलाई रामायणमा सीता स्वयम्वर शीर्षकमा बडो रोचक ढंगले प्रस्तुत गरिएको छ ।

तर पण्डित ओलीले अयोध्या र जनकपुरको दूरीले पनि अयोध्याका राम जन्ती लिएर एकै दिनमा जनकपुर पुग्न सम्भव नभएको, तर कथामा एकै दिनमा जन्ती आएको वर्णन भएकाले त्यो भारतको अयोध्याबाट आएको जन्ती होइन, ठोरीनिरको नेपालकै अयोध्या भन्ने गाउँबाट जनकपुरसम्म जन्ती लगेको हो भनी ठोकुवा गरेका थिए । त्यसबाट रामको अस्तित्व र रामायणको कथाको सत्य–तथ्य नै उल्टिन पुगेको थियो । उनलाई नपढी पण्डित किन बनाएको भन्ने आरोप हामीमाथि लाग्न सक्छ, अनेक अरु प्रश्न पनि उठ्ला, तर जब केही विश्वविद्यालयले नपढी विद्यावारिधिको पद्वी फोस्सामा दिन हुन्छ भने पत्रकारले गाईजात्राको सप्ताहमा उनलाई पण्डितको पद्वी दिँदा केको आपत्ति ! आपत्ति त उनको त्यो दाबीप्रति हुनुपर्छ, जसमा उनले ठोरीबाट जनकपुर जन्ती लिएर जान सम्भव भएको उल्लेख गरेका थिए । ठोरीबाट एकै दिनमा पैदल जनकपुर पुग्न न हिजो संभव थियो, न आज छ । तैपनि प्रधानमन्त्रीजस्तो जिम्मेदार पदमा आसीन व्यक्तिले किन त्यसो भने ? खोज र अनुसन्धानको गम्भीर विषय भनेकै त्यही हो ।

रामजन्मभूमि, अयोध्या र भारतप्रति गरिएको अनावश्यक टिप्पणीलाई हिन्दू धर्म र पूर्वीय सभ्यताका विरुद्धको विषवमन मान्नेहरूको संख्या सानो छैन । त्यस्तो टिप्पणीलाई “होली वाइनको ह्याङओभर” अथवा कालापानीको कालकुटको कमाल भन्नेहरू पनि धेरै छन् । संख्या कता कति छन् भन्नुभन्दा पनि त्यसलाई स्वस्थ्य मनस्थितिको परिचयाक हो कि होइन भन्ने दृष्टिले प्रश्न गर्नु महत्वपूर्ण हो । भारतको सर्वोच्च अदालतले समेत अयोध्यामा राममन्दिर बनाउने पक्षमा फैसला गरिसकेको र त्यसलाई भारतमा रहेका २० करोडभन्दा बढी मुस्लिम समुदायले सकारिसकेको मुद्दालाई नेपालका प्रधानमन्त्रीले बाबरी मस्जिदसम्बन्धी विवादको प्रसंग उठाएर भारतवासीको मात्र होइन, विश्वभरिका हिन्दूहरूको धार्मिक भावनामाथि ठेस पुर्‍याउने काम गरेर अस्वस्थ्य मनस्थितिको परिचय किन दिए ? किन बहुसंख्यक नेपाली हिन्दूधर्मका जनताको सेन्टिमेन्टको विचार गरेनन् ? के उनले आवेश अथवा सनकमै भारत र हिन्दूहरूलाई चिढाउने काम गरेका हुन् ?

नेपालका प्रधानमन्त्री ओलीलाई डाँका रत्नाकरले मरा मरा भन्दाभन्दै राम राम भन्न पुगेको र कालान्तरमा रामभक्त भएर रामायण नै लेख्न पुगेको कथाले धेरै प्रभावित पारेको पो हो कि ! त्यसैले त उनी रामको द्रोह र विरोध गरेर रामभक्तमा रूपान्तरित हुन त्यो सर्टकट रोज्न पुगेका त होइनन् ? कुनै समय उनले आफ्नो सरकारको चरम लक्ष भनेको समृद्ध नेपाल र सुखी नेपाली हो भन्ने घोषित गरेका थिए । त्यसको युगसापेक्ष अर्थ हो, रामराज्य । नेपालमा त्यस्तो रामराज्य ल्याउन कटिबद्ध ओली, वास्तवमा रामभक्त हुन् । रामभक्तको अर्को अर्थ, हनुमान भन्ने नलागोस्, जसबाट उनको बाँदर स्वरूपको स्मरण हुन पुगोस् । उनको मात्र होइन, अधिकांश कम्युनिस्टहरू जो भारतको उग्र विरोध गर्दागर्दै कालान्तरमा भारतका एजेन्ट बन्न पुगेका थिए, अहिले पनि रत्नाकर प्रवृत्तिले जहाँ एकातिर मरा मरा भन्दाभन्दै रामको नाम जप्न पुगेको पुरानो कथा दोहोरिन सक्ने अनुमान लगाउन थालिएको छ भने अर्कोतिर भारतका प्रधानमन्त्री मोदी र ओलीको बीचको पुल नै जल्न पुगेकाले ओली आत्तिन पुगेको प्रमाण हो, त्यो अभिव्यक्ति भनिँदैछ ।

अब प्रधानमन्त्री ओलीसँग दुई विकल्प उपलब्ध छ । या त अयोध्यामा राममन्दिरको शिलान्यास गर्ने मोदी र भारतका विरुद्ध जिहाद छेड्नु र आफ्नो अपमानको बदला लिनु, या राम र अयोध्याका बारेमा उनको गरेका अनर्गल टिप्पणीका निम्ति विश्वभरिका हिन्दूधर्मका अनुयायीसँग क्षमायाचना गर्नु । रोजाइ ओलीको हो, मोदीको होइन ।