देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राधिकरणको ४१ अर्ब ११ करोड बजेट

देशान्तर

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले चालु आर्थिक वर्ष २०७७-०७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट बिनियोजन गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको चालु आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७६-०७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरेको थियो । यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालु आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यस पटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए। प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्ति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

विमानस्थल पूर्वाधारतर्फ प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । गौतमबुद्ध विमानस्थलको लािग अधिग्रहण गरिएको जग्गाको मुआब्जाका लागि प्राधिकरणले रु दुई अर्ब १६ करोड ८३ लाख विनियोजन गरेको छ ।

त्यस्तै पोखरा विमानस्थलको लागि गरिएको जग्गा अधिग्रहणलाई रु ७८ करोड विनियोजन गरिएको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणलाई रु २० करोड व्यवस्था गरिएको छ । यो विमानस्थलको गुरुयोजना तयार गर्ने जनाइएको छ ।

यसैगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा प्रमाणित गर्ने, अन्तरप्रदेश उडानमा प्रोत्साहन दिने, आइटी नीति तयार गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालन योग्य बनाउने प्राधिकरणको योजना छ ।