दमौलीतिर हामीकहाँ एउटा व्यास गुफा छ । त्यसैनजिक एउटा पवित्र नदी पनि बग्दछ । यो गुफा देख्दा मलाई जहिले पनि लाग्दछ, कतै यही गुफाभित्र बसेर, व्यासले ‘महाभारत’को सिर्जना त गरेका होइनन् ? कारण ‘महाभारत’ ग्रन्थमा ‘जय’ अर्थात् ‘महाभारत’ रचिएको व्यासजीको बयान, त्यो ठाउँसित मिल्दोजुल्दो छ । ‘महाभारत’मा लेखिएको छ :
एकदिन ‘हिमालयको तल’ मा रहेको पर्वतीय गुफामा, नजिकको पवित्र नदीमा स्नान गरेर, व्यास त्यसै गुफामा ध्यानावस्थित भए । त्यही अवस्थामा उनलाई ‘महाभारत’ फुर्यो । उनलाई ‘महाभारत’को सम्पूर्ण कथा स्वयं प्रकाश्य भएर आयो ।
‘महाभारत’का अनेक श्लोकका रचन गरे । विभिन्न संहिता बनाए । ‘महाभारत’ डेढ सय श्लोकको पनि छ, २४ सय श्लोकको पनि छ । तर हाम्रो प्रयोजनका लागि यो जान्नु जरुरी छ कि, व्यासले ‘महाभारत’को कथा ६० लाख श्लोकको गरेका थिए । ६० लाखमा, ३० लाख श्लोकको रचना, देवलोकमा स्थापित छ । ३० मा १५ लाख श्लोकको ‘महाभारत’ पितृलोकलाई समर्पित गरे । बाँकीमा १४ लाख श्लोक गन्धर्व–लोकमा गयो । हामीसँग अर्थात् १ लाख श्लोकको महाभारत पृथ्वी–लोकमा चलेको छ । यो १ लाख श्लोकको ‘महाभारत’ पनि बृहत् छ ।
‘महाभारत’लाई एकपटक सबै मिलेर तराजुमा राखे एक पाटोमा र अर्को पाटोमा चारै वेद राखियो । दुवैमा ‘महाभारत’ नै गरुंगो भएको देखियो । कारण यसमा, वेद व्यासले चारै वेदको सार दिएका छन् । भनिन्छ, जुन ‘महाभारतमा’ जे छैन, त्यो लोकमा अन्य कही पनि छैन । अनि लोकमा जे छ, त्यो ‘महाभारत’मा सबै छ ।
वेदव्यासले नै सर्वप्रथम वेदलाई चार भागमा बाँडेका थिए । त्यसैले ती महर्षि, कृष्णको नाउँ भयो ‘वेद–व्यास’ । छोटकरीमा व्यास भनेर भनिन्छ । तर यी सब ‘महाभारत’ लेखिएपछिका प्रसंग हुन् ।
‘महाभारत’ पहिले ‘जय’ नाउँले चिनिन्थ्यो लोकमा । अझै पनि यसलाई ‘जय’ पनि भन्दछन् ।
त्यत्रो ग्रन्थको मनमनमा त व्यासले सिर्जना गरे । तर त्यसलाई लेख्ने कसरी ? उनलाई यो समस्या आईपर्यो । उनी आफ्नो समस्या लिएर ब्रम्हाजीकाहाँ गए । भने– “हे जगत्पिता ब्रम्हा, मैले एउटा संसारकै अद्भुत काव्यको रचना गरेको छु, जसमा कौरव–पाण्डवको कथा छ । त्यस काव्यको माध्यमले लोकका यावत् कुराको ज्ञान मनुष्यलाई दिनेछु । त्यो काव्य मेरो मनमा थालनीदेखि अन्त्यसम्म प्रकाशित छ । तर त्यत्रो विशाल ग्रन्थलाई लेख्ने व्यक्ति मैले यस लोकमा कोही देखिन । हार खाएर म हजुरका सम्मुख उपस्थित भएको छु । हे ब्रम्हा अब यसमा हजुरले नै मेरो मार्गदर्शन गर्नुहोस् र मलाई यसलाई लिपिबद्ध गर्ने व्यक्ति जुटाई दिनुहोस् ।”
ब्रम्हाजीले सोधे– “हे महात्मा व्यास, यसलाई तिमीले कसरी लेखाउने विचार गरेका छौ ?”
व्यासले भने– “मेरा मनमा यो ‘महाभारत’ काव्य थालनीदेखि अन्त्यसम्म जस्ताको तस्तै छर्लंग छ । त्यसकारण म यसलाई थालनीदेखि भन्दै जानेछु अनि समर्थ लेखकले त्यो लेख्दै जानेछ ।”
ब्रम्हाजीले भने– “त्यस्ता समर्थ लेखक केवल गणेश हुन सक्छ । तिमी उनैको आह्वान गर ।”
ब्रम्हाजीको सुझावअनुसार व्यासजीले गणेशको आह्वान गरे । गणेश वेदव्यासका सामु प्रकट भएर भने– “हे व्यास, तिमीले मलाई कुन प्रयोजनका निम्ति स्मरण गर्यौं ?”
व्यासजीले हात जोडेर गणेशसामु उभिएर भने– “हे विघ्नहर्ता गणेश, सारा संसारको विघ्न हर्ने तपाई मेरो पनि विघ्न हरण गर्नु हुनेछ भनेर ब्रम्हाजीको आदेशले हजुरको आह्वान गरेको हुँ ।”
– “तिमीजस्ता सिद्ध महात्मालाई के विघ्न पर्यो ?” गणेशले सोधे ।
– “हे गणेश, मैले ‘महाभारत’ नामक एक विशाल काव्यको रचना गरेको छु तर त्यसलाई लेखिदिने मान्छे यस लोकमा कोही पनि देखिन । अब मेरो यो विघ्न हजुरबाटै हरण हुन्छ भनेर आह्वान गरेको हुँ ।”
गणेशले केही क्षण विचार गरे । अन्त्यमा आफ्नो निर्णय सुनाए– “तिम्रो यो महाकाव्य म लेख्न त मञ्जुर गर्दछु, तर त्यसमा मेरो एउटा सर्त छ ।”
– “के प्रभु ?”
– “मेरो लेखनी एक क्षण पनि नरोकिई, चल्न पाउनु पर्दछ । तिमीले भन्न रोक्यौं कि म लेख्न छाडिदिन्छु, के भन्छौं ?”
व्यासले सर्त मञ्जुर गर्दै भने– “मलाई स्वीकार छ, तर हजुरले पनि मेरो एक सर्तको पालना गर्नुपर्दछ ।”
गणेशजीले भने– “भन ।”
व्यासले भने– “मेरो श्लोकको अर्थ नबुझी नलेख्नुहोला ।”
गणेशले– “तथास्तु” भने ।
यसरी ‘महाभारत’ अनवरत भनिन् र लेखिन थाल्यो । तर व्यासजी सर्जक थिए । उनी बीचबीचमा यस्ता गुढ श्लोक हाल्थे, जुन सुनेपछि गणेशजी त्यसलाई बुझ्न एकै छिन गम्थे । त्यसै अवधिमा व्यासजी तत्काल केही श्लोक रच्थे । यसरी ‘महाभारत’ लेखियो, जसमा दुवैको सर्त पूरा भएको थियो । व्यासले भनेका छन्, ‘महाभारत’मा आठ हजार आठ सय श्लोक यस्ता छन् जसको अर्थ म जान्दछु, शुक्रदेव (व्यासकका छोरा) जान्दछन्, विदुर जान्दछन् कि जान्दैनन् भन्न सक्दिन ।
आज हामीकहाँ एक लाख श्लोकको त्यही ‘महाभारत’ पढिन्छ, जुन व्यासद्वारा रचित र गणेशजीद्वारा लेखनी भएको थियो, जसमा कैयौं गुढ अर्थका श्लोक छन् र जसलाई बुझ्न गणेशजी ठाउँठाउँमा अडिन्थे ।
प्रतिक्रिया