September 22, 2020, Tuesday
२०७७ आश्विन ६
ताजा अपडेट

जसको २५ औं स्मृति दिवस सप्ताह हो

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

प्रजातन्त्रका सेनानी विश्वनाथ मिश्र (वि.सं.१९७३–२०५३)

नेपालबाट सामन्ती तथा निरंकुश राणाशासनको अन्त्य गरेर जनताले चुनेका प्रतिनिधिले शासन चलाउने प्रजातन्त्रिक राज्यव्यवस्था स्थापना गर्न २००७ सालको क्रान्तिअघि र पछि नेपाली कांग्रेसको नेतृत्वमा भएको लामो र कठोर संघर्षमा नेपाल आमाका असंख्य सपूतहरूले अवर्णनीय बलिदान गरेका छन्, जसको लेखाजोखा र तथ्यांक संकलन गरेर भविष्यमा लेखिने सर्वांग इतिहासका निम्ति सामग्री जुटाउने प्रयास पार्टीले यसअघि नै सम्पन्न गरिसक्नुपर्ने थियो । अनेक कारणले त्यसमा विलम्ब भइरहेको थियो । ढिलै भए पनि विभिन्न कालखण्डमा भएका आन्दोलनका महत्वपूर्ण मोर्चा सम्हालेका र पार्टी संगठनको नेतृत्व गरेर संगठन निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको इतिहास दुरुस्त पार्ने अभियान सुरु भएको छ ।

२०१७ साल पुस १ गते, राजा महेन्द्रले इतिहासकै पहिलो कांग्रेसको जननिर्वाचित सरकार भंग गरेर अधिनायकवाद लादेको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि भएको संघर्षमा प्रवासमा बसेर भक्तपुर जिल्लाको संगठन तथा संघर्षको नेतृत्व गरेका विश्वनाथ मिश्रको त्याग, तपस्या र वलिदानको खोज तथा अनुसन्धान थालिएको छ । यद्यपि आधा शताब्दीअघिका घटनाका यथार्थ विवरणको संकलन, कष्टसाध्य काम हो, तथापि अभिलेखका निम्ति नगरी पनि नहुने भएकाले त्यस्तो प्रयास थालिएको हो ।

उनको राजनीतिक जीवनको प्रारम्भ, किसान आन्दोलनका कार्यकर्ताका रूपमा २००९ सालबाट भएको थियो । २००७ सालको क्रान्तिअघि जग्गा जोत्ने वास्तविक किसानमाथि विभिन्न प्रकारका बिर्तावालहरूको चरम शोषण थियो । किसान वर्गलाई मोहियानी हक प्राप्त थिएन । उनीहरूले उत्पादन गरेको मुख्य बालीको तीन भाग बिर्तावाललाई र एक भाग मात्र मोहीले पाउँथे । मोहीको त्यस्तो शोषणको अन्त्य गरेर उनीहरूलाई मोहियानी हक दिलाउन किसान संघको नेतृत्वमा उनीहरू आन्दोलित भएका थिए । किसानलाई बिर्तावालको शोषणबाट मुक्ति दिलाउने र जोताहालाई मोहीको हक दिलाउन प्रसिद्ध किसान नेता पदमबहादुर बुढाथोकीको नेतृत्वमा किसान आन्दोलन प्रभावकारी ढंगले उपत्यकाभित्र चलेको त्यो पहिलो आन्दोलन थियो, जसमा अधिकांश काँठका किसान सामेल थिए । त्यो आन्दोलनका अगुवा कार्यकर्तामध्ये एक थिए, विश्वनाथ मिश्र । उनी त्यही सिरुटारका थिए, जहाँबाट उठेर पदमबहादुर बुढाथोकी त्यो आन्दोलनको नेतृत्व गरिरहेका थिए ।

क्रान्तिकालमा समेत काँठमा अधिकांश टाठाबाठा व्यक्तिले कांग्रेसको विरोध गरेर राणालाई नै सघाएका थिए– गोर्खा दल अथवा खुकुरी दलका जुलुसमा भाग लिएर । कांग्रेसका एकाध समर्थक जो थिए, ती पनि खुकुरी दलको सिकार बन्ने त्रासले खुलेआम बाहिर निक्लन सक्तैनथे । प्रजातन्त्रको घोषणा र राणा–कांग्रेस सम्मिलित अन्तरिम सरकार गठन भइसकेपछि पनि काँठमा कांग्रेस र कम्युनिस्टले प्रवेश पाएका थिएनन् । गोर्खा दलका अतिरिक्त कसैको काँठमा संगठन थियो भने अखिल नेपाल किसान संघको मात्र थियो । तर त्यो संगठनलाई कुनै विचारको संरक्षण प्राप्त थिएन । व्यक्तिको लोकप्रियता र किसानको समस्यालाई अभिव्यक्त गर्ने जल्दोबल्दो नाराका आधारमा संगठित भएकाले कांग्रेस र कम्युनिस्टका वैचारिक आक्रमणका सामु किसान संघ आरक्षित हुन पुग्यो । कालान्तरमा बुढाथोकी आफैं कम्युनिस्ट हुन पुगे भने उनको त्यस्तो एकलकाँटे नीति र निर्णयप्रति असहम हुनेहरू शुद्धीकरण किसानको नाममा अलग भएर कांग्रेससँग जोडिन पुगे ।

त्यसरी कांग्रेस प्रवेश गर्नेहरूमा सिरुटारबाट विश्वनाथ मिश्र, बाल्कोटबाट रामबहादुर ठकुरी, टीकाबहादुर केसी, सुडालबाट अगमबहादुर खत्री, शेरबहादुर खड्का, लीलाबहादुर पण्डित, बागेश्वरीबाट शिवराज गिरी प्रमुख थिए । उनीहरूले आमचुनावको मिति तोक्न राजालाई दबाब दिन कांग्रेसको नेतृत्वमा भएको २०१४ सालको सत्याग्रह र २०१५ सालको चुनावमा पार्टीलाई दुई तिहाइ बहुमत दिलाउन प्राणप्रणले सघाएका मात्र होइनन्, प्रजातन्त्रको अपहरणपछि देशभित्र र बाहिरबाट भएका संघर्षमा सक्रिय सहभागी भएर प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा पनि उत्तिकै योगदान पुर्‍याएका थिए ।

राजाले सेनाको बलमा कु गरेकाले पार्टीहरू प्रतिवन्धित भए, कांग्रेसलाई अराष्ट्रिय तत्व घोषित गरिएयो, निर्दलीय पञ्चायत व्यवस्थाको चकचकी चल्यो । त्यस्तो प्रतिकूल अवस्थामा कांग्रेससमक्ष सशस्त्र संघर्षको बाटो रोज्नुको विकल्प थिएन । त्यसका निम्ति लडाकुहरूको व्यवस्था गर्नु सामान्य चुनौती थिएन । ज्यानको बाजी थाप्नुपर्ने जोखिम मोलेर भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे र नुवाकोटका गाउँमा पुगेर पार्टीका भूमिगत कार्यकर्तासंग सम्पर्क गर्ने र जनशक्ति जुटाउने जिम्मा विश्वनाथ मिश्रले पाएका थिए । प्रवासस्थित भक्तपुरका सभापतिका नाताले मात्र होइन, केन्द्रीय सभापति सुवर्णशमशेरका विश्वासपात्र भएकाले पनि उनले त्यस्तो कठिन जिम्मेदारी पाएका थिए ।

नेतृत्वले लाए– अह्राएको काम निष्ठापूर्वक सम्पन्न गर्ने, लडाकु तथा कार्यकर्ताका क्रियाकलापका यथार्थ सूचना नेतृत्वसम्म पुर्‍याउने र संगठनको हिसाब किताब दुरुस्त राख्ने गुण तथा इमानदारिताले पनि उनलाई नेतृत्वको निकटमा रहेर काम गर्ने दुर्लभ अवसर प्राप्त भएको थियो । युद्धकालीन अनुशासनमा बसेर काम गर्नेहरूले भाषण र गफबाट बच्नुपर्छ र थोरै बोल्ने अभ्यास गर्नुपर्छ । त्यसमा पनि उनी अब्बल थिए, किनभने उनको स्वभाव थियो, बढी अरूका कुरा सुन्ने, बोल्ने कम ।

पार्टीभित्र उनको भूमिका झन् महत्वपूर्ण तब हुन पुग्यो, जब कांग्रेसले हठात् सशस्त्र संघर्ष रोक्ने अप्रिय निर्णय लिनुपर्‍यो । २०१९ सालमा सशस्त्र संघर्ष चरम अवस्थामा पुगेका बेला एकाएक संघर्ष रोक्न बाध्य हुनु परेको कारण थियो, भारतमाथि चीनको आक्रमण । चीनले सीमा विवादको खोचे थापेर भारतमाथि अचानक आक्रमण गरेर उसको ठूलो भूभाग कब्जा गरेपछिको जटिल स्थितिमा उसको भूमिमा आश्रय लिएर बसेको कांग्रेसले सशस्त्र संघर्ष जारी राख्न असम्भव हुन पुग्यो र स्थगित गर्न बाध्य हुनु पर्‍यो । त्यस्तो असहज अवस्थामा पनि कांग्रेसभित्र आन्दोलन जारी राख्नुपर्छ भन्ने र स्थगन नै ठीक हो भन्ने दुई पक्षबीच गम्भीर मतभेद उत्पन्न भयो । त्यो विवादमा विश्वनाथ मिश्र, सभापति सुवर्णशमशेरको निर्णयका पक्षमा दृढतापूर्वक खडा थिए भने भक्तपुरकै केही साथीहरू त्यसप्रति असहमति राख्थे र संघर्ष जारी राख्नुपर्ने अडानमा थिए । त्यो घटनाले पनि उनलाई सुवर्णजीको निकट पुग्न सघायो ।

संघर्ष स्थगनपछिको अत्यन्त निराशाजनक अवस्थामा निरंकुश राजा महेन्द्रलाई झुकाएर प्रजातन्त्र पुनस्र्थापना गरिछाड्ने सपना बोकेर प्रवासमा पुगेका युवाहरूलाई काबुबाहिरको परिस्थितिका कारण आन्दोलन रोकेर अनिश्चितकालसम्म उनीहरूलाई पालिराख्न परेको थियो । त्यस्तो कहालिलाग्दो अवस्थामा साथीहरूको मनोबल उच्च तुल्याई राख्नु कम चुनौतीपूर्ण थिएन । तिनै कठिन परिस्थितिको सामना गर्न पार्टी नेतृत्वलाई सबै प्रकारका सहयोग जुटाइदिनेहरूमध्ये विश्वनाथ मिश्र पनि एक थिए । भारतका नेपालसित सीमा जोडिएका साना ठूला विभिन्न सहरमा रहेका कांग्रेसका शिविरहरूमा पुगेर लडाकुहरूका समस्या समाधानमा दत्तचित्त भएर लाग्नु तिनताका नेतृत्वलाई सघाउने सर्वोत्तम उपाय थियो । त्यो काम, उनले बडो योग्यतापूर्वक सम्पन्न गरेका थिए ।

“पशुपति बाजे”का नामबाट चिनिने विश्वनाथ मिश्रले सुवर्णजीको २ जेठ २०२५ को वक्तव्य र त्यसपछि सुरु भएको आममाफीको चरणबद्ध शृंखलामा प्रवासमा रहेका र जेलभित्रका साथीहरूको नाम नछुटोस् र भरसक छिटो रिहा होऊन् भन्ने प्रयासमा पनि उनी उत्तिकै सक्रिय थिए ।

सुवर्णशमशेरको राष्ट्रिय एकता र मेलमिलापको वक्तव्य, राजा महेन्द्रको त्यो आह्वानको जवाफमा आएको थियो, जसमा उनले राष्ट्रमाथि संकटको कालो बादल चारैतिर मडारिन थालेकाले त्यसको सामना गर्न देशभित्रका मात्र होइन, प्रवासका रहेका नेपालीलाई पनि अपिल गर्छु भनेका थिए ।

सुवर्णजीको त्यही वक्तव्यका आधारमा बीपी कोइराला र गणेशमान सिंह सुन्दरीजल सैनिक शिविरबाट रिहा भएका थिए भने सुवर्णशमशेर, परशुनारायण चौधरीलगायत उनी आफैं पनि आममाफी पाउनेहरूको पहिलो लिस्टमै परेका थिए । त्यसरी उनी पनि आठ वर्ष लामो प्रवासबाट स्वदेश फर्केका थिए ।

भक्तपुरको सोमलिङटारमा, जसलाई अहिले सिरुटार भनिन्छ । पिता लीलानाथ र माता भगीरथीका कनिष्ट पुत्रका रूपमा जन्मेका विश्वनाथ मिश्रले सामान्यबाहेक औपचारिक शिक्षा पाएका थिएनन् । तैपनि पहिले किसान संघ, शुद्धीकरण किसान संघ र २०१३ सालदेखि २०२५ सालको बीचमा कांग्रेसको संगठन र सशस्त्र संघर्षमा सक्रिय हुँदा पाएका बाउन्न घुच्चा, त्रिपन्न लातको अनुभवले उनलाई तलदेखि माथिसम्मको राजनीतिका गोटीचाल बुझ्ने मात्र होइन, त्यसमा आफ्नो भूमिका पहिल्याउन पनि सक्षम तुल्याएको थियो । उनको त्यही गुण र क्षमता स्वदेश फर्केपछि अभिशाप बन्न पुग्यो । पञ्चायत प्रशासनको गुप्तचर प्रणाली अत्यन्त सुदृढ थियो । संघर्षकालमा जनशक्ति परिचालन गरेर विभिन्न स्थानमा क्षति पुर्‍याएका र भविष्यमा पनि पुर्‍याउन सक्ने व्यक्तिहरूलाई छानीछानी हत्या गराएको घटनाले पनि त्यसको पुष्टि गरेको थियो । तेजबहादुर अमात्य, सरोजप्रसाद कोइराला, दिवानसिंह राई, योगेन्द्रमान शेरचनजस्ता आफ्नो समयका प्रभावशाली तथा निष्ठावान् नेताहरूका हत्या त्यसका उदाहरण थिए ।

उपत्यकामा सुन्दरीजल, वाग्मती पुल र फर्पिङ पावर हाउसमाथि आक्रमण गर्ने कांग्रेसको नीतिअनुसार भएका कारबाही यद्यपि सफल भएनन्, तथापि ती योजना कार्यान्वयनका पछाडि विश्वनाथ मिश्रको मुख्य भूमिका रहेकाले उनी र उनका परिवार, नातागोता धेरैका विरुद्ध अराष्ट्रिय तत्व र ध्वंसात्मक काम कारबाहीमा संलग्न भएको आरोपमा मुुद्दा चल्यो र धेरैले दुःख पाए । उनकी माहिली श्रीमती चुनमाया मिश्रलगायत उनका निकटका नातेदारहरूमाथि ध्वंसात्मक क्रियाकलापमा लागेको आरोपमा सबैलाई तीन वर्षको सजाय तोकिएको थियो । तिनमा काठमाडौंको पासिखेलकी दिदी गंगा ढकाल, सुन्ताखानकी बहिनी हरिदेवी भण्डारी र बाल्कोटका जगतबहादुर श्रेष्ठ हुन् । उनीहरू प्रत्येकले तीन वर्षको सजाय पाएका थिए ।

२०२५ देखि २०४६ सम्म उनले अत्यन्त सकसपूर्ण राजनीतिक जीवन व्यथित गर्नु प¥यो । त्यो त्यही अवधि थियो, जुन बेला पञ्चायतको प्रशासनले उनलाई प्रताडित तुल्याएको थियो– विगतको भूमिका कोट्ट्याएर । सुवर्णशमशेरले राजालाई दिएको वचन पूरा गर्न उनकै सल्लाहमा मिश्रले २०२८ सालमा सिरुटार गाउँ पञ्चायतको उपप्रधानपञ्च हुनु परेको थियो । त्यसको ग्लानी र प्रशासनको यातनापूर्ण निगरानीले उनलाई राजनीतिमा सक्रिय हुन दिएको थिएन । त्यसमाथि दुई पत्नीबाट सन्तान नभएकाले तेस्रो विवाह गर्नु परेको र त्यसपछि लगातार तीन सन्तान, एक छोरा– घनानाथ र दुई छोरीको लालनपालन गर्नु परेकाले उनले सक्रिय राजनीतिबाट लगभग अवकाशको जीवन बिताउन थालेका थिए ।

उनको जीवनको उत्तरार्ध समाजसेवामा बितेको थियो, जसमध्ये निजी खर्चमा दधिकोट र सिरुटारबीचको चरखण्डीको पुल र सोमलिंगेश्वर आधारभूत विद्यालयका लागि भवन निर्माण गर्न डेढ रोपनी जग्गा प्रदान गरेका थिए, जसको वर्तमान अवस्थाको मूल्यअनुसार सात करोड २० लाख हुन्छ ।


  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares