देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुटबन्दीले कांग्रेसलाई दुष्चक्रमा पारेको छ

देशान्तर

नेपाली कांग्रेसलाई १४ औं महाधिवेशनले छोएको हो ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन एकदमै नजिक आइसकेको छ । यसको तिथि, मिति हामीले तोकी पनि सक्या छौं । तिथि मिति तोक्यामात्रै होइन कि कार्यतालिका पनि बनिसक्या छ । अहिले देशभरि क्रियाशील सदस्यहरूको नवीकरणको प्रक्रिया प्रारम्भ भएको छ ।

महाधिवेशन लक्षित तयारी काहाँ पुगेको छ त ?

सबैकुरा सँगसँगै अगाडि बढिरहेको छ । खासगरी समायोजनको काम ६० भन्दा बढी जिल्लामा समाप्त पनि भइसकेको छ । अझै केही जिल्लामा समायोजनको काम भने बाँकी नै छ । यो पनि क्रमशः अघि बढिरहेको भनेर साथीहरूले बताउँदै आउनु भएको छ ।

समायोजनको तालिकाअनुसार काम त भएन नि ?

कार्यतालिका त प्रभावित होला नै । केही समस्या पक्कै पनि छन् । तर, अहिले नै कार्यतालिका पूर्णरूपमै प्रभावित भइहाल्यो भनेर भन्ने बेला भएको छैन । अहिलेको कार्यतालिका प्रभावित भए पनि फागुन ७–१० काठमाडौंमा तय भएको १४ औं महाधिवेशनको मिति प्रभावित हुन्छ भन्ने मान्यता भने राखेका छैनौं । त्यही समयभित्रै महाधिवेशन सम्पन्न गर्ने चटारोमा हामी छौं ।

महाधिवेशन मिति तोकिसकेको अवस्थामा विभाग गठनलाई कसरी बुझ्ने ?

वास्तवमा महाधिवेशनको प्रक्रिया स्वरूप क्रियाशील सदस्यता नवीकरण पनि भइराख्या छ । यो बीचमा पार्टीका अन्य संरचनाहरू पनि बनि राख्या छन् । पार्टीभित्र अरू पार्टीबाट आउने प्रक्रिया पनि जारी नै छ । राजनीतिमा केही कुराहरू सुविधा, असुविधा जे भए पनि सँगसँगै जानुपर्ने बाध्यता पनि हुन्छ ।

भनेको पछिल्ला कामहरूलाई स्वाभाविक ठान्नुहुन्छ ?

पहिला नै संगठनका यी संरचनाहरू पूरा भएको भए राम्रो हुने थियो ।

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरेको भए राम्रो हुन्थ्यो होला, अब त महाधिवेशन आउन ६ महिनाको समय छ नि ?

हो, यो काम गर्नका लागि धेरै ढिला भएकै हो । विभागलाई पूर्णता दिने सवालमा अहिले साथीहरूले विभागमा बस्ने इच्छा पनि देखाउनु भएको छ । सभापतिले पूर्णता दिने इच्छा पनि देखाउनु भएको छ । विभागलाई पूर्णता नदिएरै नयाँ महाधिवेशन हुँदा केही समस्या पनि सिर्जना गर्छ । विभाग गठन नगर्दा महाधिवेशनमा नकारात्मक मुद्दा पनि बन्न सक्छ । यसकारण प्रक्रियागतरूपमा पनि विभागहरूलाई पूर्णता दिनुपर्छ जस्तो लाग्छ ।

संस्थापन इतरको समूहले महाधिवेशन प्रभावित पार्नका लागि सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेको भन्ने आरोप लगाएको छ, त्यस्तै गर्न लागिएको हो ?

विभाग गठन गर्न धेरै ढिला भयो भनेर उहाँहरूले प्रश्न उठाउनु भएको छ । यो एकदमै जायज प्रश्न पनि हो । ढिला भयो भन्दैमा अधिवेशन अगाडि यो गठन गर्न हुँदैनथ्यो भन्ने कुरा भने त्यति तर्कसंगत छैन । योभन्दा अघिल्लो कार्यसमितिको बेला पनि समयमै विभाग गठन हुन सक्या थिएन । हालाकि यति ढिला त भएको थिएन । यसको समाधान के हो भने पार्टीका सवै नेताहरू एक ठाउँमा आएर यदि कार्यकर्ता पनि आफ्नो पहिचान चाहन्छन्, विभिन्न विभागहरूमा बस्न चाहन्छन् भने नेताहरूले सहमतिका आधारमा परस्पर बसेर छलफल गरेर विभागलाई पूर्णता दिनु उपयुक्त देखिन्छ ।

कस्का कारणले विभागले पूर्णता पाउन ढिला भएको हो त ?

नेपाली कांग्रेस संगठनात्मक संरचनाका दृष्टिकोणले धेरै नै खुकुलो रहिआएको छ । कार्यकर्तालाई चुस्त दुरुस्त राखेर प्रशिक्षित गरेर पार्टीका संरचनाहरूलाई पनि अध्यावधिक गरेर काम गर्ने हाम्रो बानी छैन । हामी खाली चुनावको बेला र पार्टीले कुनै आन्दोलन गर्न थाल्यो भने मात्रै सल्बलाउने स्वभावका छौं । पार्टी सभापतिले इनिसियसन लिनुपर्ने र पार्टीका प्रतिस्पर्धीहरूले पनि उहाँसँग त्यो पूर्णता दिनुपर्ने पक्षलाई सघाउनु पर्ने । त्यो हुन नसक्दा ढिला भएको हो ।

अहिले जसरी पहिला नै विभागहरूलाई गठन तथा पूर्णता दिएको भए कांग्रेसलाई नै फाइदा पुग्दैनथ्यो र ?

अहिले नेपाली कांग्रेसमा दुई समूह मात्रै छैन । कांग्रेसभित्र अहिले तीन वटा समूहको अस्तित्व कुनै न कुनै रूपमा स्वीकार गर्नै पर्छ । दुई समूह मिल्दा पनि तेस्रो समूहको अब्जेक्सन हुन्छ । तीनै समूहको बीचमा भागबन्डाको सन्दर्भमा कुनै अनुपात निर्धारण गरिएको छैन । त्यसो भएको हुनाले कुनै पनि कुराको मेरिट बेसिसमा सहमति गर्दा नेताहरूका मान्छेहरू छुट्ने र अनुपातको बेसिसमा सहमतिमा पुग्दाखेरि विगतमा भएको दुई समूहको अनुपात तेस्रो समूहको असहमतिले बाधा हाल्ने काम कांग्रेसमा भइरहेको छ । सहमतिको कुरो प्रजातान्त्रिक मूल्य पद्धतिको आधारमा गर्नुपर्छ भन्दाखेरि भोटिङसम्म कतिपय ठाउँमा हुन सकेको छैन । एक पक्षले हार्ने र दोस्रो पक्षले जित्यो भने पछि हार्ने पक्षले हारलाई स्वीकार गरेको अवस्था छैन । त्यसकारण मुखले आरोप लगाउन बडो सजिलो छ । तर, पार्टीभित्रको अन्त्र्यमा पुगेर काम गर्न भने बडो जटिल र कठिन छ ।

पहिला नै विभाग गठन गरेको भए राम्रो हुन्थ्यो भन्ने त तपाईंलाई पनि लाग्दो हो नि, हैन ?

मलाई सकभर तपाईँले तिक्त नबनाई दिएको भए राम्रो हुने थियो । जस्तो तरुण दलको महाधिवेशन भयो, कार्यसमितिलाई पूर्णता दिउँभन्दा खेरि अहिलेसम्म पूर्णता दिन सकिएन । त्यो त कुनै संस्थापन र संस्थापन इतरको कुरा थिएन । सांस्कृतिक संघको अधिवेशन गर्‍यौं त्यसमा पनि व्यवधान आयो । अरू अधिवेशन गर्ने कुरा पार्टीभित्र जटिल बनिरह्यो । त्यसकारण एउटा पक्षले नगरेको, अर्को पक्षले गर्न नचाहेको भन्ने परिस्थिति बिलकुलै होइन । एउटा पक्षले गर्न नसकेको सत्य हो र अर्को पक्षले हुन नदिएको पनि त्यतिकै सत्य हो । गएको चुनावदेखि अहिलेसम्म निरन्तर खस्किँदो अवस्थामा छ, यसको कारण भनेको गुटबन्दी नै केन्द्रमा रहन्छ । गुटबन्दीले नै नेपाली कांग्रेसलाई बाहिर ननिस्कने दुष्चक्रमा पारेको छ ।

अनुशासनको नाममा कांग्रेसले नेता कार्यकर्तालाई कारबाही गरेको छ यसलाई कसरी बुझ्ने ?

नेपाली कांग्रेसमा कारबाहीको कुरो विभिन्न समयमा जटिल मुद्दाको रूपमा रहँदै आएको छ । नेपाली कांग्रेसमा अनुशासन तोडेपछि कारबाही हुन्न भन्ने मान्यता छ । यो मान्यता त्यसै स्थापित भएको पनि होइन, त्यसको एउटा लामो इतिहास छ । २०४८ साल २०५१ सालपछि पनि कैयौं कार्यकर्ताहरूले विद्रोही उम्मेदवारी दिने, चुनावमा सघाउ नपुर्‍याउने र उनीहरूलाई कारबाही बिलकुलै नहुने परिस्थिति हामीकहाँ विद्यमान थियो । पछिल्लो आम निर्वाचनमा पार्टीका उम्मेदवारका विरुद्ध प्रतिकूल काम गरेकाको संख्या १० औं हजार छ । उनीहरूमाथि पनि कारबाही हुन सक्या छैन । अहिले गोविन्दराज जोशी र पुष्कर ओझाको कारबाही नेताहरूसँग ज्यादा सम्बन्धित भएर आयो भन्ने पनि छ । तर, कारबाही पनि निष्पक्ष र धाँधलीरहित हुनुपर्छ र यदि कसैलाई यो कारबाहीमा चित्त बुझेको छैन भने पुनरावेदनका प्रक्रियाहरू बाँकी छन् । त्यसको अभ्यास गर्न सकिन्छ । जहाँसम्म कारबाहीको कुरा हो यो निष्पक्ष पनि हुनुपर्छ । र यो सबैमा समानरूपमा लागू पनि हुनुपर्छ ।

गोविन्दराज जोशी र पुष्कर ओझाको मात्र कारबाही नेता केन्द्रित नै भएको देखिएन र ?

उहाँहरूले गएको निर्वाचनमा असहयोग गरेको कुरा स्पष्ट नै छ । किनभने गोविन्दराज जोशीजीले उम्मेदवारी दिनु भएको थियो । पुष्करजीले आस्थाका कारण म प्रजातन्त्रवादी भएको हुँ र जुन कुरामा म सहमत हुन सकेन र एउटा प्रजातन्त्रवादीको हैसियतले स्वीकार गर्न सकेन भनेर पार्टीको सार्वजनिक कार्यक्रममा उहाँले भन्नु नै भएको थियो । उहाँहरूलाई जसरी देशव्यापी रूपमा कारबाही हुने नै हो भनेपछि त्यो कारबाही पनि जस्टिफाइड हुन्छ । तर, यिनीहरूलाई मात्रै कारबाही भयो अरूलाई कारबाही नै भएन भने व्यक्तिहरू मात्रै सिकार हुने अवस्था आउँछ । यसले पार्टीलाई थप फाइदा गर्दैन ।

कांग्रेसका पछिल्ला गतिविधिहरूलाई हेर्दा, यी जम्मै महाधिवेशनको जोड घटाउका लागि हुन भनेर बुझ्दा गलत हुन्छ कि सही ?

अहिलेका घटनाक्रमहरू महाधिवेशनलाई लक्षित गरेर नै भएको हो भन्ने कुरा त गाह्रो छ । किनभने यो विधानमा बन्दोबस्त भएको कुरा हो । चाहे विभाग गठनको कुरा होस् चाहे अनुशासन कायम गर्ने कुरा नै किन नहोस् । यो विषय विधानमै स्पष्ट छ । यसको प्रक्रिया पनि अलि पहिला नै सुरु गरिएको हो । तर, यो प्रक्रियाको उत्कर्ष भने महाधिवेशनको नजिकनजिक पुगेर भएको छ त्यसकारण मान्छेलाई आशंका लागेको मात्रै हो ।

२०७४ को आमनिर्वाचनलाई लिएर उठेका प्रश्नहरू २०७७ मा आएर टुंगो लगाउनु भनेको महाधिवेशन केन्द्रित भनेर आरोप लाग्नु त स्वाभाविक हो नि ?

२०७५ मा भएका घटना २०७७ मा आएर छिनोफानो भएका छन् र कतिपय घटनाहरू र हजारौं यस्ता उजुरीहरूमाथि छानबिन चलिरहेकै छ । यसको अझै छानबिन भएको छैन । यसलाई कसरी टुंगोमा पु¥याइन्छ भन्ने कुरा महत्वपूर्ण छ ।

तपाईंले आसन्न महाधिवेशनमा आफूलाई कुन रूपमा अघि बढाउँदै हुनुहुन्छ ?

महाधिवेशन आउँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा देशभर छरिएका साथीहरू छन् । हामीसँगसँगै काम गरेका नेता तथा अरू कार्यकर्ता साथीहरू पनि छन् । सबैसँग पर्याप्त मात्रामा बहस छलफल गरेर मात्रै यसको बारेमा यकिन भन्ने परिस्थिति आउँछ । हामीले व्यक्तिगत निर्णय गर्नेभन्दा पनि पार्टीका साथीहरूको भावना बुझेर प्रतिनिधित्व गर्ने कुरा महत्वपूर्ण हुन्छ ।

भनेको पहिला प्रतिनिधिहरूसँग छलफल गर्नुहुन्छ ?

सबै प्रतिनिधिसँग त छलफल सम्भव नहोला, तर ठाउँठाउँमा रहेका साथीहरूसँग छलफल अवश्य हुन्छ । साथै आफूभन्दा सिनियर नेताहरू पनि हुनुहुन्छ । कतिपय आफूले सँगै काम गरेका साथीहरू पनि हुनुहुन्छ । सबैसँग छलफल कुराकानी गरेर संवाद गरेर अघि बढ्छु । यो कुरा टुंगोमा पु¥याउनका लागि हामीसँग अझै समय छ ।

महाधिवेशनबाट अहिलेको नेतृत्व फेर्नुपर्छ भन्ने एउटा आवाज, र युवाहरूले अब नेतृत्व लिनुपर्छ भन्ने आवाजको बीचमा तपाईंका आफूलाई कहाँनेर राख्नुहुन्छ ?

पार्टीभित्र परिवर्तनको बहस पनि चलिराख्या छ । विशेष गरेर नेतृत्वले कार्यशैली परिवर्तन गर्नुपर्छ, यो शैलीले पार्टी अगाडि बढ्न सक्दैन भन्ने आम बुझाइ रहेको छ । पार्टीलाई गुटबन्दी होइन, एकता र अनुशासन चाहिएको छ, पार्टीले आफ्नो क्षमतामा अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । रणनीतिमा पनि सुधार गर्नुपर्ने अवस्था छ । दुई तिहाइ बहुमत प्राप्त गरेर अहिले कम्युनिस्टहरू सत्तासीन छन् । दुनियाँमा कुनै पनि ठाउँमा निर्वाचित नभएका कम्युनिस्टहरू नेपालमा निर्वाचित भएर सत्ता सम्हालिरहेका छन् । यो किसिमको अवस्थामा कांग्रेस परम्परागत किसिमले अगाडि बढेर हुँदैन । नेतृत्वले कार्यशैलीमा आमूल परिवर्तन गर्नुपर्छ भन्ने पार्टीभित्र बहस र छलफल छ ।

चुनावमा कांग्रेस पराजित भयो, प्रतिपक्षको भूमिका राम्रोसँग खेल्न सकेन भन्ने जुन आरोप छ, ती कुराहरू महाधिवेशनका एजेन्डा बन्छन् ?

महाधिवेशनमा यी कुराहरू उठ्ने नै भए । यी स्वाभाविक कुरा हुन् । तर, यसको जिम्मेवारी कस्को हो र कसरी मूल्यांकन भयो भन्ने कुरा महत्वपूर्ण हो । यो विषयमा एक जना व्यक्तिलाई मात्रै दोष थोपारेर हुँदैन । कुनै व्यक्तिका कारणले मात्रै पार्टी कमजोर भएको, हारेको भन्ने हुँदैन । यो विषयमा पार्टीले सामूहिक जिम्मेवारी लिनुपर्छ ।

पार्टीको नेतृत्व गर्नेले पराजयको जिम्मेवारी नलिए कसले लिने त ?

जिम्मेवारीअनुसार धेरै थोरै भने हुन सक्दछ । तर जिम्मेवारीबाट मुक्त हुने कसैलाई पनि मान्य छैन भन्ने कुरा हो । अब युवाहरूले आफ्नै आङ कन्याएर खरानी उडाउनुभन्दा पार्टीलाई अगाडि बढाउने रोडम्यापमा केन्द्रित गरेर जानुपर्छ ।

सरकार आफैं समस्यामा छ, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको पटकपटक भेटवार्ताहरू भइरहेका छन्, अहिलेको अवस्थामा कांग्रेसको सरकारसँग कस्तो सम्बन्ध छ ?

जहाँसम्म कांग्रेस र कम्युनिस्टको सम्बन्धको कुरा छ, हामीलाई गएको निर्वाचनमा जनताले दिएको अभिमतलाई हामीले स्वीकार गरेका छौं । नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ । प्रतिपक्षी मूल्य र मान्यताअनुसार सरकारलाई व्यवधान हुने किसिमले काम गरेको देखिँदैन ।

नेकपाको सत्ता संघर्षमा एकपक्ष बाहिरिने अवस्था आयो भने सरकारलाई टेको लगाउनका लागि कांग्रेस जान्छ भन्ने हल्ला पनि चलेको छ नि ?

नेपाली कांग्रेसको गत निर्वाचनमा हारको एउटा प्रमुख कारणमध्ये दुई फरक विचारबाट गाइड भएका कम्युनिस्टहरू एक ठाउँमा उभिएर चुनाव लड्नु नै थियो । दुई वटा पार्टी एकै ठाउँमा आएर चुनाव लड्दा कांग्रेस पराजित भएको हो । हालाकि हाम्रो मत प्रतिशत भने कम छैन । यस्तो बीचमा कम्युनिस्ट पार्टीमा विग्रह, लडाइँ कांग्रेसका भन्दा पनि विगतमा रहेको वैचारिक मतभेद नै हो । उहाँहरूका बीचमा झगडा भएर छुट्टिने अवस्था आयो भने कांग्रेसले ‘सुपर ग्लु’ को रूपमा जोड्न सक्दैन । यस्तो अवस्थामा जोसँग हाम्रो मूल प्रतिस्पर्धा हो, त्योभन्दा अर्को पार्टीसँग हाम्रो सहकार्य हुन सक्छ ।

आवश्यक पर्‍यो भने कांग्रेस सरकारमा जान्छ भन्न खोज्नु भएको हो ?

हामी सरकारमा त जान्नौं । यो कार्यकालभरि सरकारमा जाने कुरा पनि हुँदैन । यो कार्यकालका लागि हामीलाई सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर भूमिका खेल्नका लागि जनताले जिम्मेवारी दिएका हुन् । तर, जुनसुकै पार्टीले सरकार बनाए पनि संसदीय अभ्यासमा प्रतिस्पर्धीसँग होइन कि अर्को पक्षसँग सहकार्य हुन सक्छ । तर, यो अहिलेका लागि यो प्रश्न नै काल्पनिक हो ।
– प्रस्तुति : मुक्तिबाबु रेग्मी