देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली–दाहाल बोली बाराबार

देशान्तर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिँदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ।  प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि विवाद थप चर्किएको हो। ओलीले बैठक स्थगित गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दाहाल पक्षीय भेलाले ओलीसँग संवाद गर्ने जिम्मेवारी दाहाललाई दिए पनि शनिबार साँझसम्म दुवै नेताबीच संवाद हुन सकेको छैन।  

दुई अध्यक्षको सहमतिमा सचिवालय बैठक राखेर विवाद सुल्झाउने पक्षमा केही नेता लागिपरेका छन्। ‘दुई अध्यक्षबीच संवाद हुन्छ। त्यसपछि मात्रै सचिवालय बैठक बसेर सबै विषय टुंगो लगाउनुपर्छ’, सचिवालयका एक सदस्यले भने। उपाध्यक्ष वामदेव गौतम पनि विवाद सचिवालय बैठकबाटै टुंग्याउने पक्षमा पुगेको स्रोतले बतायो।  

महासचिव विष्णु पौडेलले बिहीबार र शुक्रबार दाहाल निवास खुमलटार पुगेर दुई अध्यक्षबीच संवाद गराउन गरेको प्रयास  सफल भएन। दाहाल निकट स्रोतका अनुसार महासचिव पौडेलले शुक्रबार दिउँसो  कार्यकारी अध्यक्ष दाहाल निवास गएर उनीसँग कुराकानी गरेका थिए। स्थायी कमिटी बैठक रोकेर सबै विषय सचिवालयमा छलफल गर्नुपर्ने ओलीको सन्देश लिएर पौडेल दाहाल निवास गएका थिए। पौडेलसँग दाहालले ओलीले साथीभाइको कुरा नसुन्ने, स्थायी कमिटी बैठकमा उपस्थित नहुने, सरकारले गरेका कामको जवाफ नदिने, पार्टीको विधि र प्रक्रिया नमान्ने जस्ता अहं प्रदर्शन गरेकाले समस्या उतै रहेको बताएका थिए। त्यसपछि बालुवाटार पुगेका पौडेलले दाहालको सन्देश ओलीलाई सुनाएका थिए।  नागरिक दैनिकमा खबर छ।