देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परियोजनाको जग्गा अतिक्रमण : ८० घरटहरा भत्काइयो

देशान्तर

सर्लाही । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीको वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो ।परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिरायत र वडा नं ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति भएको थियो । परियोजनाको सहमतिमा वाग्मती नगरपालिकाले नगरभित्र जग्गा नभएका सुकुम्वासी परिवारलाई १८ धुरको दरले घडेरी वितरण गरेको थियो । सो क्षेत्रमा हाल ३०० सुकुम्वासी परिवारले घर बनाएर बसोवास गर्दै आएका छन् ।

परियोजनाले उक्त क्षेत्रको खाली जमिनमा गत वर्ष साउनमा बनाइएको घर छाडेर तारबार गरी मसला, टिक र अमलाको बिरुवा रापेको सागरनाथ वन विकास परियोजनाका प्रमुख जीतेन्द्र कर्माचार्यले जानकारी दिए । व्यवस्थित रुपमा राखेपछि पनि बिरुवा रोपेको जमिनमासमेत केही दिनयता स्थानीयवासीले आफूखुशी वनको जमिन अतिक्रमण गरी घर बनाउने र बालीनाली लगाउने गरिरहेका थिए ।

यसरी वनको जग्गा व्यापक रुपमा अतिक्रमणमा परेपछि आफ्नो स्वामित्वमा रहेको जमिनमा बनाएको घरटहरा भत्काउनु परेको प्रमुख कर्माचार्यले बताए । जनप्रतिनिधिको मिलेमतोमा रातारात अन्यत्र घरजग्गा भएकाले जग्गा ओगट्ने नियतले घर टहरा बनाउने तर बसोवास नगरेको भन्ने सूचनाको आधारमा भर्खरै बनेका घर टहरा भत्काइ जमिन खाली गरिएको परियोजनाले जनाएको छ ।

उक्त खाली गरिएको जमिनमा चाँडै वृक्षरोपण गरिने परियोजना प्रमुख कर्मचार्यले बताए । तर आफ्नो स्वार्थ पूरा गर्न केही राजनीतिक दलका नेता कार्यकर्ताले पटक–पटक बस्ती बसाउने बहानामा आफूखुशी जग्गा वितरण गरी घर टहरा बनाउन लगाएको स्थानीयवासीले बताएका छन् । यसरी जग्गा वितरण गर्दा जनप्रतिनिधिले आफ्नो नातेदार छान्नुका साथै कतिपयसँग पैसा लिएर जग्गा दिने गरेको वाग्मती नगरपालिका– ५ का स्थानीयवासीको गुनासो छ ।

वाग्मती नगरपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर वाइवाले सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्रममा आर्थिक चलखेल नभएको र वास्तविक सुकुम्वासी पहिचान गरी प्रत्येक घरपरिवारलाई १८ धुर जग्गा वितरण गरिएको दाबी गरे । सर्लाही, रौतहट र महोत्तरी गरी तीन जिल्लामा फैलिएको सागरनाथ वन विकास परियोजनाअन्तर्गत १३ हजार ५१२ हेक्टर क्षेत्रफल रहेको छ । जसको खाली जमिनमा सर्लाही, रौतहट, सिन्धुली र महोत्तरीमा घर भएका मानिस सो क्षेत्रमा सुकुम्वासी भन्दै जग्गा लिएर घर टहरा बनाएर बसेका छन् ।