देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफ्ना कविताबारे लेखक आफैं

देशान्तर

मेरा विचारमा कविता कविताजस्तै हुनुपर्छ । कवितामा भाव हुनुपर्छ, लय हुनुपर्छ, तरङ्ग हुनुपर्छ । पढ्नासाथ एक प्रकारको आकर्षण हुनुपर्छ, सूत्रात्मक हुनुपर्छ, समाज परिवर्तनको सन्देश हुनुपर्छ, पाठकलाई भनन्न पार्ने हुनुपर्छ, केही गरौं गरौं, केही भनौं भनौं, केही न केही सल्याङ्बल्याङ गर्नुपर्छ । कण्ठ भएभए जस्तो, मन छोएछोए जस्तो, बिर्सन नसकिने पङक्तिपुञ्ज हुनुपर्छ कवितामा । हृदयलाई सरर्र पारेर स्वाद दिने हुनुपर्छ कविता । बुद्धिको पाइला यस्तो होला कि नहोला ? एकपटक पाइला चाल्नुहोस् त ।

मेरा विचारमा लेखकले ढाँट्न छल्न हुँदैन । भित्र जे हो त्यही भन्नुपर्छ । नढाँटी भन्नुपर्दा मैले त सुरूमा कविता लेख्दा आफ्नो दुःखेको मन, मुटु र मस्तिष्कलाई आनन्द पार्न, भुलाउन कविता लेखेको हुँ । पछि बुद्धिको बिर्को खुल्दै गयो, ज्ञानको घैंटो अलिअलि भरिँदै जान थाल्यो अनि मैले आफ्नो स्वार्थभन्दा माथि उठेर कविता लेख्नुपर्छ भन्ने चेतना पाएँ । त्यसैअनुसार प्रयास गरेको छु । यो कुरा मेरा कविता पढेपछि बल्ल थाहा होला । बुद्धिको पाइला चाल्नुहोस् त ।

मलाई एउटा कुराले जहिले पनि पिरोल्छ । साहित्यकारहरू लेख्छन्, उपदेशकहरू उपदेश दिन्छन् तर आफूले लेखेको र उपदेश दिएको उनीहरू आफैंले व्यवहारमा कति उतार्छन् ? वा उतार्ने प्रयास गर्छन् ? यो सोच्दा–सम्झँदा म आफूलाई कसरी आफैं मूल्याङ्कन गरूँ ? मैले त उतार्ने प्रयास गरें तर सकिनँ है तर पनि प्रयासमा छु ।

लेखक ज्ञवालीलाई व्यावहारिक ज्ञवालीले जिस्क्याउँछ, औंला ठड्याउँछ, कैले त झापडै हान्न पनि कसिन्छ । लौ अब हामी साहित्यकारहरूले सामाजिक व्यवहारलाई कसरी सरल बनाउने ? कसरी परिवर्तन गर्ने ? उपाय गरौं न । नत्र चिन्तन र चरित्रको द्वन्द्व कसरी समाप्त होला ? कि जस्तो छ त्यस्तै चल्न दिने त ? अब बुद्धिको पाइला कसरी चाल्ने ?

आफ्ना बारेमा आफैंले भन्दा सबै ठाउँमा ठीक नहुन पनि सक्छ । त्यसैले व्यक्तिहरू अरूबाट आफ्ना बारे भनाउन लेखाउन खोज्छन् । यसमा पनि प्रशंसा नै धेरै खोज्छन् भनेको सुनिन्छ र कतै अनुभव पनि गरिएकै छ किनकि व्यक्तिभित्र आफू पनि परिन्छ ।

जे होस्, यसभन्दा अगाडि मैले लेखेका विभिन्न विधाका दर्जनौं कृतिमा कतै भूमिका लेखाइयो कतै लेखाइएन । अनेकौंं प्रकारका अनुभव बटुलियो । आफूले पनि अरू लेखकहरूका विभिन्न विधाका दर्जनौं कृतिमा भूमिका लेखियो । प्रशंसा पनि गरियो । सल्लाह पनि दिइयो । सम्पादन पनि गरियो । केही अनुभव ‘भूमिकाको भूमिका’ लेखमार्फत सबैतिर पुर्‍याइयो ।

यसपटक आफ्नो कृतिबारे अरूलाई लेखाइएन । लेखाउने साइत पनि परेन । लेखाउँला भनेर ठिक्क पारेको त विश्वव्यापी रूपमा सन्त्रास फैलाएको कोरोना भाइरसका कारण २०७६ चैत ११ गते मङ्गलबारदेखि देश लकडाउन (लकडाउन) को स्थितिमा पुग्यो । यतिबेला घरमा बसेर काम त गरियो तर मन प्रफुल्ल हुन सकेन ।

यस्तै स्थितिमा आफ्ना कविताबारे केही लेख्नु छ । पाठकलाई कविताद्वारमा स्वागत गरेर कविता–कोठाकोठामा पु¥याउनु छ । दायित्व ठूलै छ नि ! म सङ्क्षेपमा थोरै लेख्छु कविताका बारेमा । व्यापक बुझ्ने जिम्मा त पाठकलाई नै छ किनकि “कवि करोति काव्यानी रसं जानन्ति पण्डिताः” अर्थात् “कविले काव्य रचना गर्छ, त्यसको रस त पाठक (रसिक) ले जान्दछन् ।”

साहित्यका विविध विधामा मेरा दर्जनौं कृति प्रकाशित भए पनि कवितासङ्ग्रहका रूपमा भने यो पहिलो पाइला हो । त्यसैले यसभित्र जीवनको –कविताको पहिलो पाइला छ । त्यसैले फेरि भन्छु सङ्ग्रहको नाम बुद्धिको पाइला (२०७७) राखियो । साहित्यिक यात्राको वि.सं. २०५६ देखिको यात्रामा ऐले कवितायात्रामा लागेको छु । पहिले छापिएका कविताहरू केही परिष्कृत र परिमार्जित छन् । यस क्रममा यात्रा सफल हुने विश्वास लिएको छु ।

मलाई देश हराउन लागेको जस्तो भएर चिन्ता लाग्यो । सपना बाँडेर झुक्याउन खोजियो । त्यसै बेला मैले “नेपाल बज्ने मुरली म भेटूं” कविताको रचना गरेँ । यसका चार हरफ यस प्रकार छन् :

खपेर मैले सब भोक तिर्खा
मैलो मनैका निचरेर गिर्खा
झुक्याउने ती सपना म रेटूँ
नेपाल बज्ने मुरली म भेटूँ
(पृ. २६, श्लोक ६)

आफू जन्मेको ठाउँ र आफूलाई जन्मदिने आमाको सम्झनाले पिरोल्न थालेपछि “जन्मभूमिको सम्झना” कविताको जन्म भयो । एक श्लोक यहाँ राख्छु :

छैनन् चोट कुनै यहाँ हृदयमा सोचेर पो हुन्छ के ?
पूजा गर्छु म ता धरा धमनिको जो दिन्छ प्राणत्व हे !
यस्तै ज्ञान लिएँ बुझें सब कुरा राखौं म के बन्धकी ?
मैले अन्तिम लक्ष्य भेट्नु कसरी काली–रिडी–गण्डकी !
(पृ. २८, श्लोक ७)

आफूलाई जन्मदिने आमाबाबु साक्षात् ईश्वर हुन् । त्यसैले “अभिभावक” कवितामा मैले यस्तो लेखेको छु :

अभिभावक ती हाम्रा साँच्चै हुन् परमेश्वर

श्रद्धा अर्पणका निम्ति छाती नै चिर्नुपर्छ र !
( पृ. २९, श्लोक १)

देशमा लोकतन्त्र–गणतन्त्र आयो । सबै एकजुट भए तर पनि शान्ति भएन । एकआपसमा फेरि स्वार्थको खेल खेल्ने खेलाडी देखिए । त्यसपछि “खै एकताको बल ?” कविता लेखियो । एक श्लोक पढौं है त :

राम्रा मानिस साथमा सब मिली खेलौँ कि त्यो खेल क्यै
हामी बान्धव बन्धु हौं अब सबै शिक्षा छ यो मेल त्यै
रोकौं भष्म गराउने बिरसिलो बेस्वादिलो त्यो भल
नेपालीपनको मुहार हँसिलो खै एकताको बल ?
(पृ. ३२, श्लोक ५)

“काँधमा काँध मिलाई हिँड” कवितामा मेलमिलाप गर्नुपर्ने सन्देश छ । “शुभकामना” कवितामा नयाँ वर्षले उत्साह ल्याओस् भन्ने कामना छ । “वसन्तको आगमन” कवितामा मायाप्रेम, दुःखसुख, संघर्ष–पीडाजस्ता विषय प्रस्तुतिका साथ वसन्त ऋतुको प्रतीक्षा गरिएको छ । पौरख गरेर सबै प्राप्ति हुने विचार “पौरख गर” कवितामा छ । “नयाँ जमाना” कवितामा राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक क्षेत्रका विकृति विसङ्गतिमाथि प्रहार गरिएको छ ।

“काठमाडौं हराभरा” कवितामा सत्य, न्याय, नैतिकता हराउन लागेकोमा चिन्ता छ । सहिदप्रति श्रद्धाभाव व्यक्त गर्दै “सहिदको सम्झना” कविता रचिएको छ । देशलाई सुन्दर बनाउन नसकेको पीडा “बनाऊँ देश सुन्दर” कवितामा छ । नेपाल र नेपालीको सुमधुर चित्रण “हाम्रो देश” कवितामा छ । प्रेमको बाँसुरी प्रेमले बज्दछ भन्दै “प्रेम” कवितामा प्रेमको महत्व प्रकाश पारिएको छ । युवाहरू जुटेर देशसेवा गर्नुपर्ने दायित्वको चर्चा “देश हेर्ने मान्छे”कवितामा गरिएको छ ।

वि.सं. २०७२ वैशाख १२ गतेको महाभूकम्पको अनुभूति “भूकम्प” कवितामा यसरी प्रस्तुत गरिएको छ :

मिलेर बस्छौं अब जो जहाँ जता
बनाउने भै घर एक छाँटका
वसन्त शोभा अब ल्याउने म नै
दरो बनाई मनभित्रको घरै
(पृ. ५५, श्लोक ४)

समाजका मूर्खहरूलाई देखेर “मूर्ख महिमा” कवितामा उनीहरूको महिमा यसरी गाइएको छ :

मेरो छ चाला रसरङ्ग बेग्लै
उमङ्ग बेग्लै सब कार्य बेग्लै
म भन्छु मेरै महिमा अपार
म हेर राम्रो सबको छु क्यार !
(पृ. ५६, श्लोक २)

“मन” कवितामा मनको चञ्चलता र त्यसको एकाग्रताको चर्चा गरिएको छ । मनको कमाललाई यसरी देखाइएको छ :

सुलसुल अब गर्दै भन्दछस् लौ मलाई
चुलबुल किन गर्छस् ताल यस्तो छ हाई !
सब वरपर तानी हाल के यो गराइस्
छल छल छल छल्दै जाल के यो चलाइस्
(पृ. ५८, श्लोक २)

नेपालमा लोकतन्त्र–गणतन्त्र आयो । सबै खुसी भए । मुख्य कुरा संविधान निर्माण थियो । लामो समय दलहरूबीचको द्वन्द्वले बनेन । त्यसपछि जनताको पीडा कवितामार्फत यरी पोखियो “नेता र संविधान” शीर्षकमा असल नेताका पक्षमा रहँदै :

भाँडियो नीति नै खेलमा हारियो
काम क्यै छैन लौ दुर्दशा पारियो
संविधानै त खै शून्य पो पाइयो
भोट माग्ने बनी गाउँमै आइयो
(पृ. ६१, श्लोक ५)

यस सङ्ग्रहमा नयाँ वर्षसँग सम्बन्धित दुई कविता परेका छन्, एउटा “शुभकामना” र अर्को “नयाँ वर्ष” । यी कविताका संरचना र शैली फरक छन् । राष्ट्रिय एकताको सन्देश बोकेको एक श्लोक उदाहरणका रूपमा यस्तो छ :

सबै बन्धु हाम्रा सबै दाजुभाइ
सबै साथमा छौं जुटौं साथ आई
गलामा गला त्यो हिँडौं है मिलाई
हिमाली पहाडी मधेसी तराई
(पृ. ६३, श्लोक ५)

जीवनलाई नबुझ्दै जीवनलाई नभोग्दै, जीवनमा सुखका निम्ति भौतारिँदा भौंतारिँदै कसरी मानिसको जीवन सकिन्छ भन्ने सन्दर्भलाई “बुद्धिको पाइला” कवितामा यसरी प्रस्तुत गरिएको छ :

जिन्दगी फूल हो वा कुनै शूल हो
जिन्दगी वा कुनै सृष्टिको भूल हो
जिन्दगीको जरो खोजमा मानिस
जिन्दगी सक्दछन् सुख्खका खातिर
(पृ. ६५, श्लोक ४)

त्यस्तै “बुद्धिको पाइला चाल हे मानिस” भनेर बुद्धिको पाइला चाल्न अनुरोध पनि गरिएको छ ।
हाम्रो जीवन यात्रा हो । यस क्रममा अनेक मोडहरू आउँछन् । विभिन्न क्षेत्रसँग सम्बन्धित यात्रा आउँछन् । यात्रा गर्नुपर्छ तर सुकर्म गर्दै । यही भाव “जीवनयात्रा” कवितामा यसरी समेटिएको छ :

यात्रा हो जिन्दगी हाम्रो यात्रा कहाँ सकिन्छ र
यात्रा नै नगरी मान्छे कसरी पूर्ण हुन्छ र
(पृ. ६६, श्लोक १)

सुकर्म बिउ रोप्नाले फल फल्छ सुकर्मकै
जिन्दगीभरको यात्रा फक्रिरहन्छ फूल झैं
(पृ. ६७, श्लोक १०)

मलाई आगामी दिनमा पनि यसरी नै साहित्यतर्फ लाग्ने प्रेरणा मिलोस् र यात्रा सफल होस् भन्दै मेरा केही कुरा यही अन्त्य गर्दछु । तपाईंहरूको जीवनयात्रा सफल रहोस् । बुद्धिको पाइला अगाडि बढोस् । शुभकामना !

(ज्ञवाली, पद्मकन्या बहुमुखी क्याम्पसका उपप्रध्यापक हुन् ।)