August 11, 2020, Tuesday
२०७७ श्रावण २७
ताजा अपडेट

प्रेमबाट मृत्यु चिन्तनतिर

प्रेम हरेक जीवनको अनिवार्य शर्त हो । विनाप्रेम जीवन त के यो सृष्टि पनि सम्भव छैन । तर, प्रेमबारे पनि अनेकौँ बुझाइ छन्, अनेक व्याख्या र परिभाषा छन् ।

तथापि, प्रेम प्रेम हो र प्रेमभन्दा पर यसको कुनै अर्थ र आयाम छैन । अथवा प्रेम प्राणी मात्रको शाश्वत सम्बन्ध र जीवन बाँच्ने आधार हो ।

प्रेम मस्तिष्कसँग नभएर हृदयसँग सम्बन्धित छ । मस्तिष्कले अन्य कार्यव्यवहार गर्छ भने हृदयले प्रेम । हृदय कोमल छ र प्रेम पनि कोमल नै हुन्छ । यसर्थ प्रेमप्रतिको विशेष सम्बन्ध प्राणीमा हुने गर्छ ।

मस्तिष्क बढी कठोर छ । मस्तिष्कले ‘उत्पात’, ‘विद्रोह’, ‘अराजकता’समेत उत्पन्न गराउँछ तर हृदयले प्रेम, सद्भाव र हार्दिकता मात्र ।

सन्दर्भ– ‘मृत्युको अघिल्तिर’को ।

विक्रमको २०५० को दशकबाट नेपाली साहित्यमा उपस्थित मणि लोहनी कविता लेखनबाट कथा हुँदै निबन्धमा पुगेका छन् । तर, मणिलाई धेरैले ‘प्रेम–कवि’ भनेरै चिन्छन् ।

मणिको पछिल्लो साहित्यिक कृति हो– मृत्युको अघिल्तिर । सामाजिक, वैश्विक, व्यक्तिगत जीवनका अनेक सन्दर्भ र घटनालाई विषय बनाइएका ३२ वटा कविता यस संग्रहमा संकलित छन् ।

३ खण्ड ‘देशका नाममा’, ‘प्रेमको लय’ र ‘जीवनको उज्यालो’ यस पुस्तकमा छन् ।

पहिलो खण्डमा कविले समसामयिक विषय–सन्दर्भका ८ वटा कविता राखेका छन् । यी कवितामा देशको दशा, नागरिकका असन्तुष्टि, आग्रह र विद्रोह प्रस्तुत छ ।

हामीले टेक्ने माटो एउटै छ
र, साझा आकाश हो हाम्रो दुःख
कसले कोर्‍यो सपना कोरल्ने आँखामा
विचारको धर्सा ?
कसले उभ्यायो दुई पाउ जमिनमा
भूगोलको पर्खाल ?
मानचित्रमा उभिएर, पृ. १९

कवि लोहनीका बारेमा अर्का उनका समकालीन कवि ठाकुर बेल्बासेको टिप्पणी छ– ‘मणिलाई प्रेमले पीडित बनायो ।’

उनका अनुसार मणि प्रेमबाहेकका सिर्जना पनि सशक्त गर्छन् तर उनको बिम्ब साहित्य बजारमा ‘प्रेम–कवि’को बनिदियो ।

हुन पनि उनका अघिल्ला कविता, कथा वा निबन्धमा प्रेम नै अनेक रूप र सन्दर्भमा बढी आएको छ । तथापि, मणिको प्रेम (साहित्यमा मात्र है, जीवनको प्रेम हाम्रो चासो भएन) शाश्वत प्रेमका रूपमा आएको छ ।

उनी ‘यौनाकर्षक’ प्रेमलाई पछिल्लो समयका ‘चाँडै उदाउने, झट्ट अस्ताउने’ मार्काका स्रष्टाले जसरी प्रस्तुत गर्दैनन् । निकै सचेततापूर्वक, शालीन र भद्र प्रेमको प्रस्तुति पाइन्छ मणिका सिर्जनामा ।

त्यही क्षण मलाई लाग्यो
तिम्रो माया र यात्रा
एकसाथ चुँडिएको छ मबाट
बाँकी छन तिम्रा सम्झना मभित्र ।
तिम्रा उदास आँखा
तिमीलाई छोएर बग्ने यो उत्ताउलो हावा
र, अर्धमुदित सपनाहरू ।
छाडेर जानेलाई, पृ. ४६

मणि आउनेलाई मात्र होइन, आफूलाई छाडेर, त्यागेर, धोका दिएर जानेलाई पनि उत्तिकै सद्भावपूर्ण बिदाइ गर्छन । प्रेमको शाश्वत स्वरूपसँग मणि परिचित छन् भन्ने यसबाट पनि बुझिन्छ ।

उनको प्रेम–कवि विस्तारै जीवनको अन्तिम सत्यबोधतिर धकेलिन्छ । उनका पछिल्ला सिर्जना मृत्युबोध वा मृत्यु चिन्तनतिर केन्द्रित देखिन्छन् । उमेरले साढे ४ दशक मात्र टेकेका मणिमा प्रौढावस्थाको अनुभूतिका साथ आफ्नो चिन्तन र लेखनको विषय पनि परिवर्तन भएको हो कि जस्तो लाग्छ ।

उनको मृत्यु चिन्तन यसरी आएको छ कवितामा :

कुनै हत्याराको आतंकित अनुहार जस्तो
देखिन्छ आफ्नै स्वाभिमान
दिन दहाडै बन्दुक ताकेर उभिन्छ
आफैँले गरेको प्रेम
मध्यरातमा छुरा देखाएर भाग्छ त्यो अटुट विश्वास ।

९६ पृष्ठको लघु आकारको यस कविताकृतिको प्रकाशन शिखा बुक्सले गरेको हो, २०७६ सालमा । यसको मूल्य २ सय रुपैयाँ राखिएको छ ।