देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘भड्काउवाला’ कूटनीतिले राष्ट्र नरहन पनि सक्छ

देशान्तर

नेपालको अहिलेको वर्तमान राजनीतिक अवस्थामा बीपीलाई सम्झँदा कसरी विश्लेषण गर्नुहुन्छ ?

मलाई कालीदासको कविताको याद आउँछ । अँध्यारो भएको बेला नै बत्तीको महत्व थाहा हुन्छ भनेजस्तै अहिले देशको राजनीतिमा अर्थतन्त्रमा, कूटनीतिमा र यो कोरोना भाइरसको महामारीका कारण चारैतिर अँंध्यारो भइरहेका बेलामा बीपी कोइरालालाई सम्झनु भनेको ‘अँंध्यारोमा बत्ती सम्झनुजस्तै’ हो । जसले अहिले राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा देखिएका अँंध्याराहरूलाई हटाउँदै निकास दिनुहुन्थ्यो । त्यही रूपमा मैले बीपी कोइरालालाई विश्लेषण गर्छु ।

तपाईँ र बीपी कोइरालाको सम्बन्ध कसरी जोडियो ?

मेरो जीवनमा बौद्धिक दृष्टिले प्रभावित पार्ने दुई जना सबैभन्दा ठूला व्यक्ति हुनुहन्छ । उहाँहरू भनेको बीपी कोइराला र यदुनाथ खनाल । बीपी कोइराला राजनीतिका शिखर पुरुष हुनुभयो । यसैगरी यदुनाथ कूटनीति र समालोचनाको शिखर पुरुष हुनुभयो । उहाँहरूलाई मैले मेरो जीवनका आदर्श पुरुष मानेको छु । पढ्न त अंग्रेजी, संस्कृत दुवै साहित्य पढियो, पीएचडी पनि गरियो तर, वास्तवमा भन्ने हो भने ज्ञान उहाँहरूबाट मैले प्राप्त गरेको हुँ । मेरो प्रेरणाको स्रोत भनेको उहाँहरू दुई जना मात्रै हो । मेरो कोठामा अहिले पनि उहाँहरू दुई जनाको मात्रै तस्बिर छ ।

तपाईं र बीपीको भेट सम्झँदा अहिले कस्तो लाग्छ ?

पहिलो पटक मैले भेट्दा बीपी कोइराला सुन्दरीजल जेलबाट छुट्नु भएको थियो । कृष्णप्रसाद भट्टराई (किशुनजी) ले मलाई लगेर बीपी कोइरालासँग चिनाउनुभयो । चाबहिलमा पहिलो पटक बीपीलाई भेट्दा किशुनजीले ‘बीपी उहाँ जयराजजी, हाम्रो मान्छे, इङ्लिस एमए, गोल्डमेडलिस्ट’ भनेपछि बीपीले सोफामा बस्न भन्नुभयो । बीचमा बीपी कोइराला बस्नुभयो, म र किशुनजी दायाँबायाँ बस्यौं । तीन जना अटाउने सोफामा सँगै बस्न पाउनु मेरा लागि योभन्दा ठूलो अविस्मरणीय के हुन सक्छ ? पहिलो भेटमा त्यत्रो ऐतिहासिक पुरुष सँगसँगै बस्न पाउनु नै मेरा लागि ठूलो भाग्य हो । त्यसपछि सौभाग्यले मैले निरन्तर चार वर्ष संगत गर्न पनि पाएँ । उहाँसँग मेरो हप्तामा दुई पटक भेट हुन्थ्यो । कहिलेकाहीँ एक्लै पनि भेट हुन्थ्यो ।

बीपी कोइरालाको चासो र चिन्ता के पाउनुहुन्थ्यो तपाईँले ?

देशको भविष्य प्रजातन्त्रमै निर्भर छ भन्नुहुन्थ्यो । उहाँले भनेको जस्तै भयो पनि । २०३६ सालमा जनमत संग्रहको घोषणा हुँदा एउटा पोस्टर सहरमा टाँसिएको थियो । त्यसमा उहाँले भन्नुभएको थियो ‘प्रजातन्त्र नरहे देश रहँदैन । राज संस्था रहँदैन र हाम्रो अस्तित्व रहँदैन भनेर ।’ नभन्दै देशबाट राजसंस्था बिदाइ भयो । किनभने राजसंस्था प्रजातन्त्र सँगसँगै बस्न सकेन । बीपीको चाहना बेलायत र जापानमा जस्तै नेपालमा पनि राजसंस्थासहितको प्रजातन्त्र थियो । त्यस्तो प्रजातन्त्र राष्ट्रिय एकताको आधार होस् भन्ने उहाँको इच्छा थियो ।

कम्युनिष्टसँगको सहकार्यबाट प्राप्त हुने प्रजातन्त्र दिगो र सुदृढ हुँदैन भन्ने बीपीको मान्यता थियो । यो सही ठहरियो कि ठहरिएन त ?

त्यो सोभियत युनियनको परिस्थति देखेर भन्नु भएको हो । सन् १९८२ मा उहाँ बित्नु भयो । सन् १९९० अर्थात् ८ वर्षपछि सोभियत युनियन ढल्यो । सोभियत युनियनको इतिहास र राजनीतिलाई समेत उहाँले नजिकबाट हेर्नु भएको थियो । सन् १९६० मा संयुक्त राष्ट्रसंघको १५औं साधारणसभालाई सम्बोधन गर्न जाँदा ख्रुस्चेपसँग उहाँको कुरा भएको छ । ख्रुस्चेपले संयुक्त राष्ट्रसंघमा जुत्ता टेबलमा पड्काएको विरोधमा बोल्ने एक मात्र देश नेपाल थियो । त्यो बोल्ने प्रतिनिधि विश्वबन्धु थापा ९३ वर्षको जीवितै हुनुहुन्छ । खु्रस्चेपले साँझमा बीपीसँग कुरा हुँदा उनले नेपालले मेरो विरोध गर्‍यो भन्दै आपत्ति जनाएका थिए । विरोध गर्ने नेपालका प्रतिनिधि (राजदूत) पश्चिमा परस्त छन् भनेर बीपीसँग भनेका थिए । जवाफमा बीपीले ख्रुस्चेपलाई जवाफ यसरी दिएका थिए ,‘हाम्रो प्रतिनिधिले संयुक्त राष्ट्रसंघमा जे गर्छन् नेपाल सरकारको नीतिबमोजिम गर्ने हुन् । जे गरेका छन् त्यो ठीक गरेका छन् ।’

बीपीले देखिसक्नु भएको थियो । बीपी अत्यन्त अध्ययनशील पनि हुनुहुन्थ्यो । कम्युनिस्टले देश बर्बाद पार्छन् भन्ने उहाँको बुझाइ हो । अहिलेको परिस्थति हेर्दा पनि त्यस्तै देखिन्छ । अहिले नेपालकै कुरा गर्ने हो भने राजनीति र कूटनीति विथोलिएको अवस्था छ ।

बीपीको देहान्तपछि नेपालमा प्रजातन्त्र वा लोकतन्त्रका लागि भएका सबै आन्दोलनमा कांग्रेसले कम्युनिष्टसँगै सहकार्य गर्‍यो । तर जस भने कांग्रेसले लिन सकेको देखिएन नि हैन ?

आन्दोलनका लागि त्यतिबेला कांग्रेस कम्युनिस्ट सँगै हिँड्नुपर्ने अवस्था थियो । तर जस लिनका लागि कांग्रेसको नेतृत्व चुकेकै हो । कांग्रेसले बीपीको चिन्तन र नैतिक धरातल गुमाउँदै गयो । त्यसैले कांग्रेस अहिले संसद्मा खुम्चिएर २३ सिटमा सीमित छ । यो परिस्थिति आउनुमा २०४६ सालमा भएको कम्युनिस्टसँगको सहकार्य मात्रै होइन । त्यो त्यतिबेलाका लागि उपयुक्त थियो । गणेशमानले जे गर्नुभयो त्यो एकदम ठीक थियो । त्यसपछि कांग्रेसले क्रमशः बाटो बिराउँदै गयो । त्यसमा कांग्रेसले बीपीको सिद्धान्त, नैतिकता उचाइलाई बिर्सन पुग्यो ।

कांग्रेसले बीपीलाई बिर्सिएको हो त अब ?

मलाई लाग्छ कांग्रेसले बीपीलाई बिर्सिएको छ । अहिले जुन किसिमले कांग्रेसको राजनीति भइरहेको छ, त्यो हेर्दा बीपीलाई बिर्सिएकै देखिन्छ । बीपीले यस्तो कहिल्यै गर्नु भएन । २००७ सालको क्रान्तिअघि बीपीले गठन गरेको नेपाली राष्ट्रिय कांग्रेस, सुवर्ण शमशेरले गठन गरेको नेपाली प्रजातान्त्रिक कांग्रेस एकीकरण हुँदा बीपीले निकै उदार भएर काम गर्नु भएको थियो । त्यो अध्ययन गर्नुपर्छ, इतिहासका पाना पल्टाएर हेर्नुपर्छ । तर त्यो काम कांंग्रेसले अहिले गरेकै छैन ।

बीपीले राष्ट्रियतालाई भूगोल वा अन्य विषयभन्दा बढी जहिल्यै पनि जनतासँग जोडेर हेर्नुहुन्थ्यो । तर अहिलेका शासकहरूले देखाउने गरेको राष्ट्रियता जनतासँग जोडिएर नआएको भन्ने तपाईंलाई लाग्दैन ?

हो, बीपीले जहिल्यै पनि राष्ट्रियताको कुरा गर्दा जनतालाई नै केन्द्रमा राख्नुभयो । उहाँको मूलमन्त्र भनेकै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हुन् । यो कांग्रेसको मूलमन्त्र नै हो । यसैगरी कम्युनिस्टले राष्ट्रियता, प्रजातन्त्र र जनजीवीका भन्छन् भने राप्रपाले राष्ट्रियता, प्रजातन्त्र र उदारवादको कुरा गर्छन् । आखिर यी तीनवटा शब्द बीपीका हुन् र त्यसलाई अघि पछि पारेर प्रयोग गर्ने गरेका छन् । यथार्थमा नेपाली कांग्रेस र बीपीको मात्र नभई नेपाल राष्ट्रकै नीति त्यही हुनुपर्छ । तर यी तीनवटै कुरामा सबै राजनीतिक पार्टीहरू चुकिरहेका छन् ।

प्रधानमन्त्री ओलीले सत्ताको ढालका रूपमा अवलम्बन गरेको ‘राष्ट्रवाद’लाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

यो एकदमै प्रत्युत्पादक हुन सक्छ । यसले दुर्घटना निम्त्याउन सक्छ । भारत सरकार ईपीजीको प्रतिवेदन बुझ्नै चाहँदैन । दुई वर्षअघिको असारमा तयार भएको प्रतिवेदन बुझ्न नमान्नु त्यो कस्तो कूटनीति, कस्तो राजनीति र कस्तो सम्बन्ध हो । त्यो एउटा सूचक मात्रै हो । अहिलेको कूटनीति भनेको भड्काउवाला छ । त्यो नै नेपाल र नेपालीका लागि दुर्भाग्य पूर्ण छ । हाम्रोजस्तो सानो देशले यस्तो खालको कूटनीति गर्नु आफैंमा प्रत्युपादक हुन सक्छ । यस्तो अवस्थामा राष्ट्र नरहने अवस्था आउन सक्छ ।

चीनसँग सगरमाथाको विवाद र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतको सीमाका बारेमा दिएको अभिव्यक्तिका सन्दर्भमा निकै ठूलो विवाद भएर बीपीले त्यसको प्रतिवाद गरेर समाधान गराउनु भएको थियो । त्यतिबेला र अहिलेको परिस्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

बीपीले ‘कम्प्रमाइज’ गर्नुभयो । सगरमाथाको विषयमा हाम्रो नक्सामा सगरमाथा हाम्रै थियो । चीनको नक्सामा सगरमाथाको दक्षिण मोहडासमेत चीनको थियो । यो विषयमा बीपीले माओत्सेतुङसँग कुराकानी गर्नुभयो । उक्त कुराकानी ‘माओ अन डिप्लोमेसी’ किताबमा प्रकाशित छ । बीपीले कम्प्रमाइज नगरी नहुने परिस्थिति आयो । बीपीले लेख्नु भएको थियो ‘चीन र नेपाललाई सन्तुष्ट हुने गरी हामीले सगरमाथा चिर्‍यौं । सगरमाथा चिर्नु भनेको आफ्नो मुटु चिरेको जस्तो भयो ।’ बीपीले कम्प्रोमाइज गरेर विवाद सल्टाउनु भएको थियो । झगडाको बीउको रूपमा सधैंभरि त राखिएन । अहिले नयाँ नक्सा जारी गरिएको छ । यस विषयमा पहिला भारतसँग कुराकानी गरेर सहमति गरेर जुन परिस्थितिको नक्सा बन्थ्यो त्यो निकाल्नु पथ्र्यो । पहिला नक्सा निकालेर झगडा गर्नुको अर्थ हुँदैन ।

पहिला नक्सा त भारतले निकालेको हो नि, त्यसले नेपाललाई बाध्य पारेको होइन र ?

निश्चय पनि । भारतले नक्सा निकालेपछि हामीले वार्ता गरेर समस्या समाधान गर्न सकिन्थ्यो । तर, तिमीले त्यो कार्ड हान्यौं भने मैले यो कार्ड हान्छु भनेर जुध्ने एक खालको जुवा खेल्न थाल्यौं । बलियासँग जुध्दा कमजोरको के हुन्छ ? त्यो त भविष्यले देखाउँछ । एक जना नेपालका लागि भारतका पूर्वराजदूतले नेपालले विश्वास दिलाउन सक्यो भने भारतले प्रमाणहरू खाजी रहँदैन भन्नुभएको छ ।

नेपाली कूटनीति किन यसरी गिजोलियो ?

हामीले विज्ञको सल्लाह नै लिँदैनौं । कूटनीतिज्ञका हिसाबले सबैभन्दा राम्रो पात्र नेपालको यदुनाथ खनाल हुनुहुन्छ । उहाँले टंकप्रसाद आचार्यलाई पनि सल्लाह दिनुभयो । बीपी कोइरालालाई पनि सल्लाह दिनुभयो । राजा महेन्द्रलाई पनि सल्लाह दिनुभयो । वीरेन्द्रलाई पनि सल्लाह दिनुभयो । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको पनि सल्लाहकार बन्नुभयो । उहाँ कस्को मान्छे भन्दा पनि उहाँ देशको सबैको साझा मान्छे हो । उहाँको कूटनीति एकदमै राम्रो थियो । उहाँका कुराहरू सून्नु पथ्र्यो ।

बीपीले देखाउनु भएको प्रजातान्त्रिक समाजवादको सिद्धान्त अहिलेको नेपालमा कतिको सान्दर्भिक छ ? कि आउट डेटेड भयो ?

प्रजातान्त्रिक समाजवादको सिद्धान्त नेपालबाट आउट डेटेड भएको छैन । युरोपमा समेत लागू छ । अब अमेरिकामा पनि त्यही हुनुपर्छ । अहिले कोरोनाका कारण ५०–६० लाख अमेरिकनहरू बेरोजगार बनेका छन् । जबकि अमेरिकाले हतियारमा ८ सय अर्ब डलर खर्च गर्छ । त्यो के काम ? हो, त्यहीनेर बीपी सम्झनुपर्छ अमेरिकाले पनि । बिली ब्रान्टको कितावमा बीपीलाई दुई पटक कोट गरिएको छ । बिली ब्रान्ट भनेको जर्मनी चान्सलर मात्रै होइनन् उनी पश्चिम संसारको ठूलो राजनेता पनि हुन् । उनले कितावमा बीपीलाई कोट गरेर हातहतियारमा गर्ने खर्च जनताको जीवनस्तर माथि उठाउनका लागि खर्च गर्नुपर्छ भनेर लेखेका छन् । अमेरिकामा समेत प्रजातान्त्रिक समाजवादको आवश्यकता छ भने नेपालमा त झन् यसको ठूलो आवश्यकता नहुने कुरै भएन, ठूलो आवश्यकता छ । बीपीले आफ्नो काम आफैं गरेको देखेको छु । कतिपटक त उहाँले ट्वाइलेट आफै सफा गरेको देख्दा म पनि अचम्ममा पर्थें ।

कतिपयले बीपीको समाजवादको सन्दर्भ अहिलेको ‘ग्लोवलाइजेसन’ को युगमा पुनव्र्याख्या हुन जरुरी छ भनेका छन् । पुरानै ढर्राबाट सम्भव छ त ?

पुरानै ढर्रा भन्ने छँदै छैन । रामायण, महाभारत पुरानो हुन्छ र ? अहिले पनि सबैभन्दा बढी बिक्री हुने र पढिने किताव त्यही छ नि । जुन स्प्रिटमा उहाँले बोल्नु भएको छ । त्यो स्प्रिट जस्ताको तस्तै छ । परिवर्तन भएकै छैन । यदि म अहिले संयुक्त राष्ट्रसंघमा प्रतिनिधि भएको भए बीपीलाई कोट गरेर भाषण गर्ने थिए । ‘हे विश्वका ठूलाठूला शक्तिसाली राष्ट्रहरू हो, तिमीहरूले सुरक्षाका नाममा खर्च गर्ने १७ सय खर्ब डलरले केही काम गर्‍यो ? कोरोनाले सबैलाई डल्याइदियो । त्यसैले बीपी कोइरालाको समाजवादी दृष्टिकोणअनुसार अघि बढ्न जरुरी छ ।’ गरिबी निवारण गरेपछि अशान्ति स्वतः हटेर जान्छ । गरिबीमा हो अशान्ति र आतंकवाद मच्चिने । गरिबी हटायौं भने यत्रो खर्च गरेर हातहतियार भण्डारण नै गर्नु पर्दैन ।

कांग्रेसले बीपीको समाजवाद भनेर जपिरहे पनि स्वयं त्यस पार्टीका समकालीन नेताहरूले नै बीपीको समाजवादको खास अर्थ बुझेका छैनन् भन्दा गलत हुन्छ कि सही ?

बुझेका छन् भन्ने मलाई लाग्दैन । उनीहरूले गायत्री मन्त्रजस्तै यसलाई लिएका छन् जस्तो लाग्छ । जस्तो कतिले गायत्री मन्त्र नबुझे पनि जानेका हुन्छन् । जसको कुनै काम छैन । अर्थ बुझेर जप्नु धेरै राम्रो कुरा हो । यदि कांग्रेसले बीपी बुझेको भए कार्यकर्ताहरू गाउँगाउँमा गएर विद्यालयमा स्वयमसेवकको रूपमा म्याथ, साइन्स, इङ्लिस, नेपाली विषयहरू पढाउने काम गर्थे । गाउँलेले दिएको बिहान बेलुकाको खानाकै भरमा कम्तीमा २ देखि ३ वर्ष स्वयमसेवा गरेर आउने थिए । त्यस्ता कार्यकर्ता नै पैदा भएनन् । कांग्रेसका कार्यकर्ता जम्मै सहर केन्द्रित भएका छन् । सबै नाफामुखी र नेतामुखी छन् ।

बीपीले गरिब किसानको एउटा टिनको छानो भएको घर, एक हल गोरु, दुहुनो गाईजस्ता भनाइ समाजवादी सिद्धान्तसँग जोडिएर व्याख्या भएको जस्तो लाग्छ । पछिल्लो समय लामो समय सत्तामा बसेका उहाँका उत्तराधिकारीहरूले यसलाई कति पछ्याए भन्ने तपाईंलाई के लाग्छ ?

मुख्य कुरा नैतिक धरातल गुम्यो । त्यसपछि अहिलेका उत्तराधिकारीहरू इमानदार भएनन् । राजनीतिलाई शक्ति, सत्ता र सम्पत्तिको माध्यमका रूपमा प्रयोग गर्न थालेपछि बिग्रिएको हो । सिन्धुली हुँदै पूर्वजाने बाटो बीपी राजमार्ग छ । त्यहाँको एउटा तस्बिर देखेको छु । चार वटा बाँसको लिंगामा माथि एउटा, दुइटा जस्ता राखेर एउटी महिलाले १५–१६ जना केटाकेटीलाई ढुंगामा पढाइ रहेको देखेको थिएँं । त्यहाँ पुग्न काठमाडौंंबाट ७० किलोमिटर जति होला । त्यो अवस्था नेपालमा अझै छ । ग्रामीण समाज समृद्ध भइसक्यो, सहरउन्मुख भयो भनेर कल्पना गर्ने बेला भएको छैन । समृद्ध भएको भए नेपाली युवाहरू वेरोजगार भएर विदेशमा किन जानु पथ्र्याे । तिनीहरूले आफ्नै देशमा पसिना बगाउने थिए ।

किन यस्तो भइरहेको छ त ?

हाम्रो नेतृत्व नै खराब हुँदा अहिलेको परिस्थति आएको हो । एक जना तिब्बतीयन महिलाले लाजिम्पाटमा होटेल चलाएर बसेकी छिन् । लामो समय नेपाल बसेकाले नेपाली राम्रोसँग बोल्ने ती महिलाले एक दिन भनेकी थिइन्– ‘हाम्रो देशमा सबै कुरा ठीक छ, राजनीतिक नेतृत्व ठीक भएन ।’

बीपी अहिले जीवित भएको भए गणतन्त्र आउँथ्यो कि आउँदैनथ्यो ?

बीपी भएको भए नेपालमा गणतन्त्र आउने थिएन । उहाँले अन्तिम समयसम्म पनि राजालाई अवसर दिनुहुन्थ्यो र कन्भिन्स गर्नुहुन्थ्यो । मलाई लाग्छ गणतन्त्र आएको बीपीका कारणले होइन, राजाकै कारणले गणतन्त्र आएको हो । राजाले बीपीको स्पिरिट र भावनाबमोजिम नचल्दा राजसंस्था उखाडिएर गयो । गणतन्त्र आउनुमा राजसंस्थाको नै दोष हो ।

बीपीलाई सैद्धान्तिक प्रणेता मानेर हि“डेका कांग्रेस नेताहरूलाई बीपीलाई स्मरण गर्दै तपाईं यतिबेला के सुझाव दिन चाहनुहुन्छ ?

नेपाली कांग्रेस अब नयाँ पुस्तालाई जिम्मा लगाउनुस् । ५० नाघेकाले अब राजनीति नगरे पनि हुन्छ । नयाँ पुस्ता भन्नेबित्तिकै फेरि उही भ्रष्टाचार गर्ने उही अनैतिक क्रियाकलाप गर्ने, उही कमाउ धन्दामा लाग्ने भयो भने त नयाँ पुस्ताको पनि कुनै अर्थै भएन । नयाँ पुस्ता भनेको नयाँ नैतिक धरातलमा उभिने बचनबद्धता भएको हुनुपर्छ ।

पुष्पलाललाई तपाईँ कसरी सम्झनुहुन्छ ?

उहाँको शब जव दिल्लीबाट काठमाडौंं ल्याइयो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि शतगत गर्ने ठाउँ शोभाभगवतीमा लैजाने जुलुसमा म पनि थिएँं । पुष्पलालको त्याग, तपस्या र बलिदानलाई कम्युनिस्टहरूले पनि सम्झनु पर्‍यो । पुष्पलाल राजनीतिकै लडाइँमा बित्नु भयो । देश निकाला भएका बेला भारतमा बित्नु भयो । उहाँको श्रीमती सहाना प्रधानलाई म नजिकबाट चिन्थें । म राजदूत हुँदा सहाना प्रधान डेलिगेट्सको रूपमा आउनु भएको थियो । त्यतिबेलाको कुराहरू अहिले पनि सम्झन्छु । उहाँलाई मैले भनेको थिएँ, तपाईंहरूको तपस्याका कारण जनताको छोरो अहिले यहाँ राजदूत भएर आएको छु भन्दा उहाँले खुसीले आँसु बगाउनु भएको थियो ।

नेपाली राजनीतिमा बीपी कोइराला र पुष्पलालको सम्बन्ध कस्तो थियो ?

त्यो विषयमा मलाई त्यति धेरै थाहा भएन । मैले बीपीलाई बनारसमा भेटेको होइन । काठमाडौंमै भेटेको हुँ । तर, उहाँहरूको सम्बन्ध राम्रो थियो भनेर बुझ्न सकिन्छ । बीपी र मेरो सम्बन्ध भनेको उहाँका जीवनका अन्तिम चार वर्ष हुन् । मैले के सुनेको थिएँ भने पुष्पलालले बीपीलाई सँगसँगै सहकार्य गरेर जाउँभन्दा बीपीले के भन्नुभएको थियोे भने ‘आर्थिक पक्षको घोषणा पत्रको भाग तपाईं लेख्नुस् र राजनीतिक क्रान्ति पक्षको भाग म लेख्छु ।’ समाजवादलाई बीपीले कसरी परिभाषित गर्नुहुन्थ्यो भने समाजवादबाट प्रजातन्त्र झिकिदियो भने त्यो कम्युनिज्म हुन्छ । प्रजातन्त्रमा कम्युनिज्म ल्याइदियो भने त्यो समाजवाद हुन्छ । तर, पुष्पलालले बीपीले लेखेको राजनीतिक दस्तावेजमा सहमत हुने साहस गर्नु भएन भन्ने मैले सुुनेको हुँ ।
प्रस्तुति : मुक्तिबाबु रेग्मी