देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युतीय गाडी आयात ठप्प

देशान्तर

सरकारले भन्सार महसुल बढाएसँगै विद्युतीय सवारीको आयात ठप्प भएको छ । महसुल वृद्धिले व्यवसायीले जेठ १५ पछि विद्युतीय सवारी ल्याउन नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
गत वर्षसम्म विद्युतीय सवारीमा १० प्रतिशत मात्रै भन्सार महसुल लाग्थ्यो ।

०७७/७८ को बजेटमार्फत ८० प्रतिशतसम्म महसुल पुर्‍याइएको छ । ५० देखि सय किलोवाटसम्मका सवारीमा ४०, सयदेखि १५० किलोवाटसम्म ५० र १५० देखि २ सय किलोवाट क्षमताका विद्युतीय सवारीमा ६० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ । साथै २ सयदेखि ३ सय किलोवाटसम्म ७० प्रतिशत र त्यसभन्दा माथिको ८० प्रतिशत महसुल लाग्छ । ‘विद्युतीय सवारीसाधनको भन्सार दर वृद्धिले आयातमा प्रतिबन्ध लगाएजस्तै भएको छ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘भन्सार दर बढाइएकाले गाडी आउनेवाला छैन ।’
कोभिड–१९ का कारण आयआर्जनमा कमी र आर्थिक गतिविधि न्यून भएसँगै अन्य सवारीसाधनको आयात र खरिदबिक्री घटेको छ । ‘विद्युतीय सवारीको व्यापार छैन, अरू साधनको पनि बिक्री राम्रो छैन,’ दुलालले भने, ‘बजारमा विद्युतीय सवारी मौज्दात पनि छैन ।’

भन्सार विभागको तथ्यांकअनुसार बजेट सार्वजनिक भएपछि हालसम्म एउटा मात्रै विद्युतीय सवारी आयात भएको छ । पेट्रोलियम गाडी भने ३ सय ३३ वटा भित्रिएका छन् । पछिल्लो समय व्यापारीले विद्युतीय सवारीसाधन अर्डर नै गर्न छाडेका छन् । विभागका अनुसार गएको आर्थिक वर्षमा ५ सय ७५ वटा विद्युतीय सवारी आयात भएका छन् । साउनमा ९१, भदौमा ४०, असोजमा ४६ र कात्तिकमा २६ वटा विद्युतीय सवारी आयात भएका थिए । सबैभन्दा बढी मंसिरमा १ सय १२ वटा साधन आयात भएको तथ्यांकले देखाउँछ । त्यस्तै पुसमा ९५, माघमा १२, फागुनमा ६, चैतमा ८, वैशाखमा ४५ र जेठमा १५ गतेसम्म ९३ वटा विद्युतीय गाडी भित्रिएका छन् ।
भन्सार दर बढेकै कारण विद्युतीय गाडी ल्याउन सक्ने अवस्था नरहेको हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले बताए । कान्तिपुर दैनिकमा खबर छ।