August 11, 2020, Tuesday
२०७७ श्रावण २७
ताजा अपडेट

बहुआयामिक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला

साहित्यकार विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । यिनको जन्म वि.सं. १९७१ भाद्र २३ गते वाराणसीमा भएको थियो । पिता खरदार कृष्णप्रसाद कोइराला र माता दिव्यादेवी कोइरालाका गर्भबाट जन्मेका कोइरालाको न्वारनको नाम चूडामणि कोइराला राखिएको थियो । पछि यिनलाई विश्वनाथको प्रसाद मानेर विश्वेश्वरप्रसाद नाम राखिएको हो । यिनको जन्म काशीमा भए पनि पुख्र्यौली थलो दुम्जा रहेको थियो । नन्दिकेशरका छोरा कृष्णप्रसादका तीन श्रीमतीहरूमध्ये कान्छीपट्टिका जेठा छोरा विश्वेश्वरप्रसाद हुन् । कोइरालाकी धर्मपत्नी श्रीमती सुशीला कोइराला हुन् भने यिनका तीन छोरा प्रकाश, श्री हर्ष र शशाङ्क छन् । त्यस्तै चेतना नामकी एक छोरी पनि छन् । विश्वेश्वरका पुर्खा पश्चिम नेपालको लमजुङ दुराडा“डाको दक्षिणतर्फ कोइरालाका रूखहरू प्रशस्त भएको ‘कोइराला फा“ट’ बाट बसाइ सरेर पूर्व २ नं. को दुम्जामा गएका हुन् । (विश्वेश्वरप्रसाद कोइराला  समालोचना र विचारमा : पृ.१४५)। यिनका पितामा सुधारवादी चेतना भएका कारण उनी देशमा गरिबी, अशिक्षा, अन्याय, अत्याचार हटाउन चाहन्थे । राणाशासनका विरुद्धमा लागेका कारण यिनका पिताले सर्वस्वहरणसहित ११ वर्षको प्रवास भोग्नुपर्‍यो । यसैबेला ३ वर्षका विश्वेश्वरप्रसादले पनि प्रवासको दुःख बेहोर्नुपर्‍यो ।

कोइरालाले घरमै बसेर आफ्ना पिताबाट अनौपचारिक शिक्षा प्राप्त गरेका थिए । यिनले वि.सं. १९८७ मा बनारसबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्यस्तै यिनी वि.सं. १९९१ मा बनारस हिन्दू विश्वविद्यालयबाट बी.ए. र वि.सं. १९९४ मा कलकत्ता विश्वविद्यालयबाट बी.एल्. को औपचारिक शिक्षा पूरा गरी अर्थशास्त्रमा एम्.ए. को अध्ययन गर्दागर्दै नेपाली राजनीतितर्फ अग्रसर भएका थिए । नेपाली, अङ्ग्रेजी, संस्कृत, हिन्दी, ऊर्दू, नेवारी, मैथिली आदि अनेक भाषाका ज्ञाता कोइरालाको औपचारिक शिक्षा बी.ए., बी.एल्. सम्ममात्र सीमित हुन पुगे तापनि यिनको प्रखर व्यक्तित्वले सबैमाथि प्रभाव पारेको छ । यिनको बाल्यकालको पीडा कोइरालाकै ‘मैले स्कुलमा गरिब विद्यार्थीका लागि प्राप्त हुने साढे तीन रुपिया“को छात्रवृत्तिले फिस तिर्नुपर्दथ्यो’ भन्ने आत्मकथनबाट पनि स्पष्ट हुन्छ ।

यिनले वि.सं. १९८५ मा बनारसको हरिश्चन्द्र स्कुलमा कक्षा आठको प्रारम्भिक शिक्षाका लागि सानी आमाले दिएको मुन्द्री र बुलाकी बेचेको (कोइरालाका कथाको समग्र अध्ययन पृ.१५) प्रसङ्गले पनि यिनले शिक्षा प्राप्त गर्नका लागि सङ्घर्ष गर्नुपरेको तथ्य स्पष्ट हुन्छ ।

साहित्यकार कोइरालाले बाल्यकालदेखि नै साहित्यिक यात्रा सुरु गरेका थिए । सुरुमा यिनको साहित्यिक प्रतिभा कवितातर्फ आकृष्ट भए तापनि प्रकाशनका दृष्टिले भने पहिलो साहित्यिक विधा कथा हो । शान्तिप्रिय द्विवेदीको सम्पादकत्वमा प्रकाशित हंस (वि.सं.१९८६) नामक हिन्दी मासिक पत्रिकामा कोइरालाका सुरुसुरुका हिन्दी कथा र कविता प्रकाशित भएका पाइन्छन् । शान्तिप्रिय द्विवेदीबाट कोइरालाले साहित्यिक प्रेरणा पाएका थिए । काशीमा बस्दा कोइरालालाई शान्तिप्रियको सङ्गत मिलेको थियो । यसबारे कोइरालाले लेखेका छन्— “मेरो परिचय जो पछि गएर प्रगाढ मैत्रीमा परिणत हुन पुग्यो, हिन्दी साहित्यमा उदीयमान भइरहेका अत्यन्त भावुक ह्दयका व्यक्तिसँग, जसले मेरो आँखा मानौँ साहित्यको सौन्दर्यपट्टि उघारिदिए । साहित्यको उद्यानमा तिनताक म केवल भट्किरहेको थिएँ, “शान्तिप्रिय द्विवेदीले मेरो हात समातेर साहित्यको उद्यानमा घुमाए, आफ्नाे कलात्मक विलक्षणताद्वारा तिनको कलात्मक गुणदोष निरीक्षण गर्दै, त्यहाँका फूलहरूका क्यारीहरूस“ग मेरो परिचय गराएँ (आफ्नो कथा  पृ.१४८–१४९)।

साहित्यकार कोइराला बाल्यकालदेखि नै साहित्यिक क्रियाकलापप्रति जिज्ञासा एवं अभिरुचि राख्थे । यिनले पूर्वीय, पाश्चात्य तथा नेपाली साहित्यको पनि गहन अध्ययन गरेका थिए । दन्त्यकथा एवं रामायण र महाभारतका कथाहरू पनि यिनले पढेका थिए । पश्चिमी चिन्तन र साहित्यको अध्ययनमनन गरेर पर्याप्त प्रभाव ग्रहण गरेका कोइरालाले मूलतः फ्रायडका विचारहरूको खोज र अध्ययनमा अभिरुचि लिएको देखिन्छ । यसका साथै रविन्द्रनाथ टैगोर, शरद्चन्द्र चटर्जीका कथा र उपन्यासहरूको अध्ययन गरेका कोइराला डार्विन र माक्र्सका विचारबाट पनि प्रभावित देखिन्छन् । यिनी एक सशक्त कलाकार भएकाले मानवीय मनोलोकको यथार्थ अनुभूतिलाई कलामूल्य प्रदान गर्न सक्षम देखिन्छन् ।

यिनले नेपाली कथाका क्षेत्रमा नया“ मूल्य र मान्यताहरूको खोजी गरेका छन् । यिनी बाह्य घटनालाईभन्दा पात्रका आन्तरिक तथ्यलाई अभिव्यक्त गर्नेतर्फ प्रवृत्त भएका छन् । यसैले पात्रका अन्तर्पीडालाई अध्ययन गर्नुपर्दा कोइरालाले सहजरूपमा मनोविश्लेषणको आधार लिएका छन् । मूलतः फ्रायड, एडलर तथा युङ्गका सिद्धान्तहरूको अध्ययन गरेका कोइराला टल्सटाय, तुर्गनेभ, गोर्की, डी.एच्. लरेन्स, मोपा“सा र चेखवका सिद्धान्तबाट पनि प्रेरितप्रभावित छन् । (विश्वेश्वरप्रसाद कोइरालाका कथाका पुरुषपात्रहरुको अध्ययन : पृ.१०)। स्वप्न विश्लेषणबाट रोगीको भित्री मनोलोकसम्म पुग्न सकिन्छ भन्ने फ्रायडका विचारबाट प्रभावित कोइरालालाई कलाकार आºनो रुग्ण मनको लक्षणलाई कलाकृतिमा अभिव्यक्त गर्छ भन्ने अङ्ग्रेजी कथाउपन्यासकार लरेन्सका धारणाले अभिप्रेरित गरेको छ (कथाकार विश्वेश्वरप्रसाद कोइराला : विश्लेषण र मूल्याङ्कन : पृ.४७–४८)। कोइराला चेखवको कथाकार व्यक्तित्वबाट प्रभावित छन् । सानो घटनाले व्यक्तिका मनमा पार्ने ठूलो असरलाई अध्ययनविश्लेषण गर्ने चेखवजस्तै कोइराला पनि त्यसतर्फ प्रवृत्त भएका छन् । चेखवको कारिन्दाको मृत्यु कथा र कोइरालाको दोषी चश्मा कथा यस दृष्टिले तुलनीय छन् तथापि नेपालीपन कोइरालेली कथालेखनको मौलिकता हो । यसरी युगान्तकारी कथाकार, सफल वैचारिक उपन्यासकार, कवि, निबन्धकार, जीवनीकार र साहित्यचिन्तक बहुमुखी प्रतिभाका धनी कोइराला विभिन्न साहित्यकारसमीक्षकबाट प्रभावित छन् र आºनै प्रतिभा, व्युत्पत्ति र अभ्यासबाट पनि निकै प्रतिष्ठित मानिन्छन् ।

कोइरालाले बाल्यकालदेखि साहित्यसिर्जना गर्न थालेका हुन् तथापि वि.सं. १९८६ बाट यिनका रचनाहरू प्रकाशित हुन थालेको पाइन्छ । सिर्जनाका क्रममा कथा, उपन्यास, कविताजस्ता अनेक विधामा कलम चलाउने यिनी बहुमुखी प्रतिभा हुन् । वि.सं. १९९५ मा सूर्यविक्रम ज्ञवालीको सम्पादकत्वमा सम्पादित ‘कथा कुसुम’ मा कोइरालाका तीन कथाहरू प्रकाशित भए तापनि पुस्तकाकार कृतिका रूपमा २००६ सालदेखि यिनका रचनाहरू देखा पर्न थालेका हुन् । कोइरालाका प्रकाशित पुस्तकाकार रचनाहरू क्रमशः यसप्रकार रहेका छन् :
क्र.सं.    प्रकाशित कृति विधा     / विषय प्रकाशन वर्ष
१.      दोषी चश्मा कथासङ्ग्रह     (२००६)
२.   तीन घुम्ती उपन्यास              (२०२५)
३.     नरेन्द्र दाइ उपन्यास          (२०२६)
४.   सुम्निमा उपन्यास                (२०२७)
५.  मोदि आइन उपन्यास        (२०३६)
६. श्वेतभैरवी कथासङ्ग्रह      (२०३९)
७.  हिटलर र यहुदी उपन्यास   (२०४०)
८.  आफ्नो कथा आत्मजीवनी  (२०४०)
९.  बाबु, आमा र छोरा उपन्यास (२०४५)
१०. जेलजर्नल आत्मजीवनी (२०५४)
११. आत्मवृत्तान्त आत्मजीवनी (२०५५)

यीबाहेक यिनका थुप्रै फुटकर रचनाहरू विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरूमा सङ्कलित–सम्पादित र प्रकाशित रहेका छन् । विश्वेश्वरप्रसाद कोइरालाका कथा नामक पुस्तकमा यिनका सम्पूर्ण कथाहरू सङ्कलन गरिएका छन् भने एक दर्जनजति कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।

मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव र उसले समाजलाई दिएका योगदानका आधारमा उसको व्यक्तित्वको निर्माण भएको हुन्छ जसलाई मुख्यतया आन्तरिक व्यक्तित्व र बाह्य व्यक्तित्वमा वर्गीकरण गर्न सकिन्छ (आख्यानकार पारिजात : पृ.५) । व्यक्तिको शारीरिकभन्दा सामाजिक व्यक्तित्वले नै समाजमा सधैँ अमर बन्ने दरिलो स्तम्भ खडा गर्न सक्छ । कोइरालाको सामाजिक व्यक्तित्वले गर्दा नै उनी आज स्मरणीय प्रतिभाका रूपमा सम्मानित छन् ।

विश्वेश्वरप्रसाद कोइराला सानैदेखि गम्भीर स्वभावका थिए । उनी अग्लो कद, तीव्र स्मरणशक्ति र ओजस्वी चमक भएका व्यक्ति थिए । सभासमारोहमा भाग लिनु र नारा–जुलुसमा सम्मिलित हुनु उनको रुचिको
कुरा थियो । भ्याएसम्म पत्रपत्रिका पढ्ने, तर्क गर्ने र साथीभाइसँग हाँसेर रमाई कुरा गर्ने स्वभाव यिनको थियो । सानैदेखि विभिन्न जीवनसङ्घर्षमा उत्रेका कोइरालाको शरीर खारिएको फलामजस्तो भइसकेको थियो । धेरैपटक जेल पर्दा र घाँटीको क्यान्सरले ग्रस्त हुँदा पनि उनको अनुहारमा देखिएको चमक अनौठो खालको थियो । रोगसित र तानाशाहीको शासनसितको संयुक्त लडाइ, विरोधी पार्टीका व्यक्तिहरूसँगको टक्कर, कार्यकर्तासँगको आन्तरिक मनमुटाव इत्यादिले ग्रस्त हुँदा पनि कोइरालाको अनुहारको मृदुता र ओजस्विताको चमकमा कमी नआएको (विश्वेश्वरप्रसाद कोइराला : समालोचना र विचारमा : पृ.३७) चर्चाबाट साँच्चै कोइराला असाधारण व्यक्तित्वका धनी थिए भन्ने कुरा स्पष्ट हुन्छ ।

साहित्यकार कोइरालाले साहित्यका विविध विधामा कलम चलाएर आफ्नो बहुमुखी प्रतिभाको परिचय दिएका छन् । यिनले आफ्ना रचनामा मूलतः मनोवैज्ञानिक यथार्थलाई बढी जोड दिएका छन् । खासगरी कथा र उपन्यासमा यिनको यो प्रवृत्ति देखिन्छ । नेपाली साहित्यमा कथाकार र त्यसपछि उपन्यासकारका रूपमा देखिएका कोइरालाका साहित्यिक व्यक्तित्वका विभिन्न पक्षहरूलाई यहा“ सङ्क्षिप्त अध्ययनविश्लेषण गरिएको छ ।
कथाकार कोइराला नेपाली कथाको मनोवैज्ञानिक कथाधाराका प्रथम कथाकार हुन् । सर्वप्रथम हिन्दी भाषामा कथालेखन सुरु गर्ने यिनी नेपालीमा वि.सं. १९९२ को शारदा पत्रिकामा प्रथम प्रकाशित चन्द्रवदन कथाबाट मनोवैज्ञानिक कथाकारका रूपमा परिचित हुन पुगेका छन् । यिनको ‘चन्द्रवदन’ कथाबाट नै आधुनिक नेपाली कथामा देखा परेको यथार्थवादी धाराअन्तर्गत मनोवैज्ञानिक यथार्थवादी उपधाराको प्रवर्तन भएको हो । यिनले सर्वप्रथम हिन्दी भाषामा ‘त्यहाँ’ (१९८७) कथा लेखेका थिए । त्यसपछि ‘पथिक’ (१९८७), ‘आफैले झैं’ (१९८८) र ‘भैया दाइ’ (१९८८) जस्ता लघुकथाहरू पनि हिन्दी भाषामै लेखेपछि मात्र नेपाली भाषामा कथा लेख्न थालेका हुन् । गुरूप्रसाद मैनालीको ‘नासो’ (१९९२) ले नेपाली कथामा आधुनिकताको सूत्रपात गरेको भए तापनि पहिलो फ्रायडवादी कथा ‘चन्द्रवदन’(१९९२) देखि नेपाली कथामा आधुनिकताको पूर्ण वरण भएको (पच्चीस वर्षका नेपाली कथा :पृ.९) हो भन्ने धारणा पाइन्छ । यसैगरी मैनाली, कोइराला, सम र पुष्करशमशेर गरी चार कथाकारहरूलाई नेपाली कथासाहित्यको मरूभूमिमा इन्द्रवरुण मानिएको अनि कोइरालाको कथाकारितालाई नवीन र महत्वपूर्ण पक्षस“ग तुलना गरिएकाले(विचरण : पृ.३५) कोइरालालाई नेपाली कथाका युगप्रवर्तक मान्न सकिन्छ ।

कोइरालाका नेपाली भाषाका कथाहरूमा ‘चन्द्रवदन’ (१९९२), ‘बिहा’ (१९९५), ‘शत्रु’ (१९९५, ‘सिपाही’ (१९९५) जस्ता कथा यिनको कथायात्राको प्रथम चरण (१९८७–१९९५) का कथाहरू हुन् । यिनको दोस्रो चरण (१९९६–२००६) का ‘प्रेम’ पहिलो (१९९६), ‘दुलही’ (१९९६), ‘द्वन्द्वप्रेम’ (१९९७) र ‘महाराजको सवारी’ (२००५), पत्रपत्रिकामा प्रकाशित फुटकर कथाहरू हुन् भने ‘दोषी चश्मा’ कथासङ्ग्रहमा सङ्गृहीत ‘मधेसतिर’ (१९९८), ‘होड’ (२००३), ‘दोषी चश्मा’ (२००५), ‘हरिदत्त’ (२००५), ‘प्रेम’ दोस्रो (२००६), ‘कर्नेलको घोडा’ (२००६), ‘पवित्रा’ (२००६), ‘कथा’ (२००६), ‘पुस्तक’ (२००६), स्कुलमास्टर’ (२००६), ‘सखी’ (२००६), ‘स्वेटर’ (२००६), ‘बौलाहा’ (२००६) र ‘रिक्सा तान्ने’ (२००६) गरी यस अवधिमा जम्मा चौधओटा कथाहरू लेखिएका देखिन्छन् । यसैगरी तेस्रो चरण (२००७–२०३९) सम्मका ‘सान्नानी’, ‘राइटर बाजे‘, ‘ एक रात’ र ‘श्वेत भैरवी’ जस्ता चार कथाहरू ‘श्वेत भैरवी’ (२०३९) कथासङ्ग्रहमा सङ्कलित रहेका छन् । ‘श्वेत भैरवी’ कथा सर्वप्रथम २०२८ सालमा ‘मुकुट’ पत्रिकामा छापिएको पाइन्छ (विश्वेश्वरप्रसाद कोइरालाका कथाका पुरुषपात्रहरुको अध्ययन ः पृ.९–१५)। कोइरालाका प्रकाशित कथासङ्ग्रहहरू हुन् ः
(क) दोषी चश्मा (२००६)
(ख) श्वेतभैरवी (२०३९)
कोइरालाका यी कथासङ्ग्रह र अन्य पत्रपत्रिकाहरूमा प्रकाशित कथाहरूमा मनोवैज्ञानिक यथार्थ, सटीक र सार्थक शब्दसंयोजन तथा सरल र प्रभावकारी वाक्यगठन रहेका छन् । त्यस्तै चरित्रोद्घाटनको केन्द्रीयता, संवादअनुकूलको पात्रयोजना, यौनकामवृत्तिको केन्द्रीयतामा मानसिक द्वन्द्वको चिरफार आदि यिनका कथाका विशेषताहरू हुन् । कोइरालाका उपर्युक्त कथाका आधारमा यिनले साहित्यका विविध विधामा कलम चलाए तापनि कथाकारका रूपमा यिनी आधुनिक नेपाली कथामा विशिष्ट स्थान ओगट्न सफल भएका छन् ।

कोइरालाको उपन्यासकार व्यक्तित्व साहित्यिक योगदानका क्रममा दोस्रो महत्वको देखा पर्दछ । यिनका उपन्यासहरू वैचारिक दृष्टिले निकै महŒवपूर्ण रहेका छन् । उपन्यासकारका रूपमा यिनको व्यक्तित्व विशाल बटवृक्षको जस्तो रहेको छ । उनी एक लोकप्रिय र लब्धप्रतिष्ठित उपन्यासकारका रूपमा परिचित छन् (नेपाली साहित्य: विभिन्न आयाम : पृ.११९)। यिनका ६ ओटै उपन्यासहरूमा मानवीय समस्या, नियति, चिन्तन र अस्तित्वलाई महत्वपूर्ण स्थान दिइएको छ । यसका साथै कलामा हुनुपर्ने नित्यनवीनता र विशेष मार्गदर्शन पनि यिनका उपन्यासहरूमा पाइन्छन् । कोइराला लघु र मध्यम आकारका उपन्यास लेख्ने उपन्यासकार हुन् । कोइरालाले आºना उपन्यासहरूमा निजी अनुभूतिहरूलाई पनि समावेश गरेर त्यसलाई वर्तमान समयसन्दर्भसँग जोडेका छन् ।

मनोविश्लेषणवादी–अस्तित्ववादी उपन्यासकार भएकाले यिनले साहित्यमा अस्तित्वलाई सिद्धान्तका रूपमा प्रयोग गरेका छन् । कोइरालाको अस्तित्ववाद मूल रूपमा व्यक्तिकेन्द्री भएकाले व्यक्तिलाई महत्व दिने, व्यक्तिमन, स्वतन्त्रता र अभिरुचि आदि नितान्त व्यक्तिवादी धारणामा आधारित रहेको छ । कोइराला नारीविषयप्रधान उपन्यासकार भएकाले यिनका उपन्यासमा नारीमाथिका शोषण, उत्पीडन, तिरस्कार, यातनाजस्ता पीडाजन्य अवस्थामै रहेका भन्दा पनि नारीअस्मिताका पक्षमा आवाज उठाउने स्वतन्त्र नारीपात्रहरू रहेका छन् । यिनका नारीपात्रहरूले आत्मविश्वासी, स्वतन्त्र र स्वावलम्बी भएर बा“च्न मन पराएको देखिन्छ । कोइरालाले २०१७ सालदेखि २०२५ सालसम्मको जेलजीवनमा रचना गरेका ६ ओटा उपन्यासहरू रहेका छन् । प्रकाशनका दृष्टिले यिनका उपन्यासहरू यसप्रकार उल्लेख रहेका छन् :
(क) तीन घुम्ती (२०२५)
(ख) नरेन्द्र दाइ (२०२६)
(ग) सुम्निमा (२०२७)
(घ) मोदिआइन (२०३६)
(ङ) हिटलर र यहुदी (२०४०)
(च) बाबु, आमा र छोरा (२०४५)

कोइरालाका ६ ओटै उपन्यासहरूमा गम्भीर रूपमा रहेको मूल आवाज नै मानवअस्तित्वको प्रश्न हो । यिनी आºना उपन्यासहरूमा इमानदारीपूर्वक नैतिकता र नियतिवादको धरातलमा उभिएका छन् र नेपाली उपन्यासविधालाई जीवनसापेक्ष बनाउन साधनारत देखिन्छन् (विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरुमा विचारपक्ष : पृ.३४४)।

कोइरालाको पहिलो उपन्यास तीन घुम्ती (२०२५) नारीका तीन निर्णयमा आधारित रहेको छ । ज्यादै विद्रोही देखिएकी यस उपन्यासकी प्रमुख नारीपात्र इन्द्रमायाले प्रेमिका, पत्नी र आमाका तीन मोड पार गर्दाका कुनै पनि अवस्थामा सहारा पाएकी छैन । आफ्ना आमाबाबुको इच्छाविपरीत प्रेमविवाह गरेकी इन्द्रमाया पति नभएका बेला अर्को पुरुषस“ग यौनसम्पर्क राखी सन्तानकी आमा बनेकी छ र आºनो पतिबाट उक्त सन्तान अस्वीकृत भएकाले एक्लै बस्ने निर्णय गरेबाट इन्द्रमायाले तीन घुम्ती पार गरेको देखिन्छ । नारीअस्तित्वको चित्रण यस उपन्यासमा गरिएको छ । नरेन्द्र दाइ (२०२६) प्रकाशनका दृष्टिले कोइरालाको दोस्रो उपन्यास हो । मानवनियतिको सफल अभिव्यक्ति भएको यस उपन्यासमा पुरुषपात्र नरेन्द्र, उसकी पत्नी गौरी र प्रेमिका मुनरियाका बीचका अन्तर्सम्बन्धलाई व्यक्त गरिएको छ । यसमा नरेन्द्रकी पत्नी गौरीले पतिको प्रेम नपाए पनि आदर्श पत्नीका रूपमा आफ्नो भूमिका निर्वाह गरेकी छ । उपन्यासका यी सबै पात्रहरू नियतिवश आफ्नो अप्ठ्यारो जीवन भोग्न बाध्य छन् । कसैले पनि सुख पाएका छैनन् । नियतिनिर्दिष्ट जीवन भोग्न मान्छे कसरी बाध्य हुन्छ भन्ने तथ्य यस उपन्यासमा देखाइएको छ ।

उपन्यासकार कोइरालाको सुम्निमा (२०२७) पौराणिक उपकथालाई जोडेर नेपालको वर्तमान सामाजिक–सांस्कृतिक घटनाको चित्रण गरिएको उपन्यास हो । यसमा हिन्दू र किरा“त दुई भिन्न संस्कृतिको समन्वयको गाथा गाइएकाले यो समन्वयवादी उपन्यास हो । आर्यसंस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा यस उपन्यासका एकथरी चरित्र हुन् भने किराँतपुत्री सुम्निमा स्वच्छन्द विचरण गर्ने अर्कोथरी चरित्रका रूपमा उपन्यासमा देखा परेकी छ । यी फरक–फरक प्रकृति र विचारका पात्रहरूबीच समन्वयको प्रयास यस उपन्यासमा भएको छ । मोदिआइन (२०३६) गीतादर्शनमा आधारित लघु आकारको उपन्यास हो । यसमा महाभारतको युद्धकथा रहेको छ । महाभारतको युद्धमा विधवा भएका अनेकौँ विधवा नारीको प्रतिनिधित्व उपन्यासकी प्रमुख नारीपात्र मोदिआइनले गरेकी छ ।

अतिमानवीय शक्तिद्वारा अभिप्रेरित नरसंहार, मानवताको अपमान र क्रूरता यस उपन्यासमा देखाइएका छन् । मानव मानवीय गुणले परिपूर्ण बनी असल हुनुपर्छ र युद्धलाई परित्याग गरी शान्तिको स्थापना गर्नुपर्छ भन्ने सन्देश यस उपन्यासमा रहेको छ । हिटलर र यहुदी (२०४०) कोइरालाको मानवमूलक विचारप्रधान उपन्यास हो । यसमा दोस्रो विश्वयुद्ध र त्यसको बर्बरता अनि हिटलर र कृष्णका सन्दर्भहरू आएका छन् । हिटलरको क्रूरता र यहुदीप्रतिको सहानुभूति यसमा रहेका विषयवस्तु हुन् । मोदिआइन उपन्यासमा जस्तै सम्पूर्ण मान्छेलाई असल बन्न र आफ्नो हैसियत नभुली राम्रो काम गर्न यस उपन्यासले सन्देश दिएको छ ।

यसमा भारतीय संस्कृति र युरोपेली स्वच्छन्दतावादबीचको गम्भीर छलफललाई पनि महत्वपूर्ण स्थान दिइएको छ । नियतिको दास मानिस जुनसुकै निर्णय लिन बाध्य हुन्छ र महाभारतको युद्ध अनि यसमा हिटलरको क्रूरता पनि मानवनियतिका परिणाम भएको धारणा रहेको पाइन्छ । बाबु, आमा र छोरा (२०४५) प्रकाशनका दृष्टिले कोइरालाको अन्तिम उपन्यास हो । यसमा नारीपात्र उमा नियतिवश बनारसमा शिवप्रसादसँग प्रेम विवाहपछि गर्भधारण गर्छे । पछि फेरि शिवप्रसादको बाबुसँग विवाह हुन्छ अनि छोरा जन्मिन्छ । यसरी ऊ प्रेमिका, पत्नी र आमा बन्छे । यस्तो खालको घटनामा आधारित यस उपन्यासमा तीन पात्रका मानसिक अवस्थाका साथै प्रेमको त्रिकोणात्मकता प्रस्तुत भएको छ । जटिल खालको कथानक बुनिएको यो उपन्यास नारीका तीन मनोदशाको अध्ययनविश्लेषणमा आधारित छ । त्यस्तै कोइरालाको नियतिवादी जीवनदृष्टिको सर्वोच्च प्राप्ति पनि यसमा रहेको छ ।
कोइरालाका उपन्यासहरूमा नियतिको सर्वोपरिता, मानवतावादी विचार, मनोविश्लेषणात्मक प्रस्तुति, अस्तित्ववादी चिन्तन, स्वच्छन्दताको चाहना, समन्वयात्मकता, नारीसमस्या, सांस्कृतिक बिम्ब, मिथकीय प्रयोग, मानवीय संवेदनाजस्ता कुराहरू रहेका छन् ।

आºनो साहित्यिक सिर्जनाका क्रममा सर्वप्रथम कवितासिर्जना गर्ने कवि विश्वेश्वरप्रसाद कोइरालाका एक दर्जन गद्य कविता प्रकाशित भएका छन् । यिनको वि.सं. १९८८ मा लेखिएको ‘बम्बई के प्रति’ गद्य कविता हंस पत्रिकामा प्रकाशित भएपछि सार्वजनिक रूपमा उनको कवितायात्रा सुरु भएको मानिन्छ । कोइरालाले जति कथा र उपन्यासमा श्रेष्ठता प्राप्त गर्न सकेका छन् त्यति कवितामा उचाइ प्राप्त गर्न सकेका छैनन् । कविको— “मैले कविता लेखिन“ र मेरो त्यो उद्देश्य पनि रहन सकेन । यद्यपि मलाई कविता अति मन पर्छ । ममा ध्वनिगत असर नपरेकाले लयको प्रतीक कविता देख्न सक्ने क्षमता हुन सकेन । १५÷२० ओटा जति कविता मैले लेखे“ हु“ला, ती खास कविता उपलब्धि होइनन् । मेरा रचनाहरू तस्वीर कोरिएजस्ता हुनुले पनि म कविता लेख्न सक्तिन“ भन्ने कुरा प्रमाणित गर्छु ।  “कवितासङ्ग्रह मैले छपाइन” । यदि छपाएको भए पनि मलाई त्यो गौरवको विषय हुने थिएन” (विश्वेश्वरप्रसाद कोइराला : समालोचना र विचारमा : पृ.४२५) भन्ने आत्मस्वीकृतिबाटै पनि कवि कोइराला कविताका क्षेत्रमा सशक्त हुन नसकेको बुझिन्छ । जीवनको अनन्त ज्वालाबाट टिपेको शब्दमा बा“धिएको भावको फिलिङ्गोलाई कविता मान्ने कोइरालाका एक दर्जन कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । ती हुन् :
१. बम्बई के प्रति (१९३१ फरवरी, हंस वर्ष १, अङ्क : ८)
२. एउटा सन्धि एक सम्झौता (१९६४ मई)
३. वर्षाले पोतेको दृश्य (१९६४ अगस्त)
४. पोखरा (वि.सं.२०२५, पूजा)
५. बगरको घोचो (वि.सं.२०२६, छहरा)
६. बारीको कुरो (वि.सं.२०२६, सिउँडी)
७. विष्टा–पुष्प (वि.सं.२०२६, सिउँडी)
८. नखिचिएको तस्वीर सुन्दर (वि.सं. २०३६, बिहान)
९. बादल गोल गोल कोमल कोमल (वि.सं.२०३९, एकता)
१०. छोरी र छा“या (कल्पना त्रैमासिक धरान)
११. कोशी कौशिकी (वि.सं.२०४७, नेपाल पुकार)
१२. टाढाको कल्पना (वि.सं.२०५२, मधुपर्क)

कोइरालाका उपयुक्त कविताका अध्ययनका आधारमा चाहना, प्रेम र रतिरागमूलक विषय, प्राकृतिक, पौराणिक, लोककथात्मक र यौनमनोवैज्ञानिक दृश्यबिम्बको प्रयोग, सरल अर्थपूर्ण शीर्षकचयन, प्रकृतिचित्रण आदि यिनका कविताका प्रवृत्तिहरू हुन् भन्न सकिन्छ ।
विश्वेश्वरप्रसाद कोइराला चिन्तनप्रधान बौद्धिक निबन्ध लेख्ने निबन्धकार हुन् । यिनी भारतबाट निस्कने वीणा पत्रिकाको वर्ष १८, अङ्क ८ मा २००२ सालमा ‘जीवन शक्ति’ हिन्दी भाषामा लेखिएको निबन्ध प्रकाशित भएपछि यस क्षेत्रमा देखा परेका हुन् । यिनको ‘जीवन शक्ति’ निबन्ध नै प्रथम प्रकाशित निबन्ध हो (विश्वेश्वरप्रसाद कोइराला : समालोचना र विचारमा ः पृ.४३७)। कोइरालाका निबन्धहरू पाश्चात्य निबन्धकार बेकनका विषयकेन्द्री निबन्धपरम्परास“ग बढी नजिक देखिन्छन् । उनका निबन्धहरूमा निजात्मक अनुभूति र भावनाको तरलता पनि पाइन्छ ।

कोइरालाका निबन्धहरूमा कलात्मकता र युगीन भावनाको अपूर्व सङ्गम पाइन्छ । यिनका ‘प्रेमको व्यवहार’, ‘साहित्यमा प्रगतिशीलता’ (२०११), ‘कला, कलाको दायित्व र मानवजीवन’ (२०३६) उल्लेख्य निबन्धहरू मानिन्छन् । ‘साहित्यमा प्रगतिशीलता’ निबन्धमा साहित्यमा संवेदनशीलता सौन्दर्य र मानवअनुभूतिको अपरिहार्यतालाई स्विकार्दै आग्रहपूर्ण प्रगतिशीलतालाई अस्वीकार गर्नुपर्ने धारणा प्रस्तुत गरिएको छ । त्यस्तै ‘कला, कलाको दायित्व र मानवजीवन’ निबन्धमा कलाको परिभाषा, त्यसको मानवजीवनमा उपयोगिता र देवकोटाको ‘कला र जीवन’ निबन्धमा जस्तै कला र मानवजीवनबीचको सम्बन्धलाई दर्साइएको छ । कोइराला कला जीवनका लागि हो भन्ने देवकोटाको भनाइस“ग सहमत भएको देखिन्छ । चर्चित निबन्धहरूबाहेक कोइरालाका निबन्धसाहित्यस“ग नजिक मानिने चिठी, भाषण र आलोचनात्मक टिप्पणीहरू पनि उल्लेखनीय रहेका छन् ।

कोइराला आत्मजीवनीलेखनमा पनि नेपाली साहित्यमा अग्रस्थानमा देखा पर्छन् । यिनका आत्मजीवनीमा आºना जीवनका अनेक पक्षहरू समाविष्ट छन् । कोइराला वि.सं. २०२१÷२२ तिर सुन्दरीजल बन्दीगृहमा रहेका बेला लेखिएको ‘आफ्नो कथा’ (२०४०) आत्मजीवनीलेखनको पहिलो कृति मानिन्छ । यसमा कोइरालाका जीवनका महŒवपूर्ण घटनाहरू रहेका छन् । यो जीवनी कोइरालापरिवार मकवानपुरमा आई बसेको र त्यसै वंशमा दामोदर नाउ“का व्यक्ति त्यहा“ राज्यको काजी पदमा रहेर ठूलो ख्याति कमाएको अनि त्यही कोइरालावंश उपत्यकादेखि पूर्वी इलाकामा पर्ने दुम्जा डा“डामा आई बसोबास गर्न थालेको सङ्क्षिप्त पृष्ठभूमि र कोइरालाका हजुरबा नन्दीकेश्वरको उपस्थिति गराएदेखि आरम्भ भएको छ । यसको केही अंश २०११ सालमै ‘प्रगति’ पत्रिकामा प्रकाशित भएको थियो । यसलाई समालोचकहरूले निबन्धात्मक कृति माने तापनि यसभित्रका सम्पूर्ण कुराहरू अध्ययन गर्दा निबन्धात्मक औपन्यासिक शैलीमा लेखिएको जीवनी भन्नु उपयुक्त हुन्छ ।

‘जेलजर्नल’ (२०५४) र ‘आत्मवृत्तान्त’ (२०५५) कोइरालाका राजनीतिक दस्ताबेज भए तापनि साहित्यिक कलामूल्यका दृष्टिले महत्वपूर्ण छन् । ‘जेलजर्नल’मा कोइरालाले जेलजीवन बिताउन बाध्य हु“दाका क्षणहरूको अनुभूतिका साथै राजनीति, साहित्य, कला र संस्कृतिका विभिन्न पक्ष्ँहरूलाई पनि समावेश गरेका छन् । ‘आत्मवृत्तान्त’ मा पनि राजनैतिक, कूटनैतिक तथा प्रशासनिक क्षेत्रका विभिन्न अनुभवहरूलाई समावेश गरेका छन् । कोइरालाका विभिन्न चिन्तन र भावधारामा रचिएका उपर्युक्त कृतिहरू साहित्यिक मूल्य र मान्यताका दृष्टिले महत्वपूर्ण रहेका छन् ।

‘जेलजर्नल’को सुरुमै शिशिर र वसन्त ऋतुमा देखिने प्राकृतिक अवस्था र त्यसको प्रतीकात्मक चित्र प्रस्तुत गरिएको छ । यसमा कोइरालाका औपन्यासिक धारणाहरू पनि व्यक्त भएका छन् । उनले उपन्यासको भाषा, विचार, वाक्यविन्यास, परिवेश, चरित्र आदिका बारेमा आºना धारणा प्रस्तुत गरेका छन् । पूर्वीय र पाश्चान्य जगत्का ग्रन्थहरूको अध्ययन गरेका प्रसङ्गहरू पनि ‘जेलजर्नल’मा आएका छन् । ‘आत्मवृत्तान्त’मा कोइरालाको साहित्यिक जीवनको सुरुवातका सन्दर्भहरू आएका छन् । तत्कालीन राजा महेन्द्रस“ग बिताएका राजनैतिक एवम् साहित्यिक क्षणहरू यस कृतिमा वर्णन गरिएका छन् ।

कोइराला साहित्यिक व्यक्तित्वका दृष्टिले कथाकार, उपन्यासकार, कवि, निबन्धकार, जीवनीकारजस्ता बहुमुखी प्रतिभा हुन् । यसका अतिरिक्त यिनी समालोचक, राजनीतिज्ञ, कानुनविद्, दार्शनिक, विचारक, चिन्तकजस्ता अनेक व्यक्तित्वका रूपमा पनि परिचित छन् । यिनका साहित्यिक कृतिहरूको अध्ययनबाट के कुरा स्पष्ट हुन्छ भने यिनी आफ्ना दर्शन, चिन्तन र विचारहरूलाई सिर्जनाका माध्यमबाट प्रस्तुत गर्छन् । उनका राष्ट्रियता, प्रजातन्त्र र समाजवादसम्बन्धी आºनै किसिमका मूल्य र मान्यताहरू रहेका छन् । कोइरालाको आफ्नै भनाइ छ— “राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर देशको विकास र न्यायपूर्ण आर्थिक अवस्थामा मात्र बलियो हुन सक्छ । तसर्थ हाम्रो दृष्टिकोणमा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एकअर्कोमा आधारित तŒव हुन् ।” राजनैतिक वातावरण र रहनसहनमा हुर्केका कोइरालाले भारतका डा. राजेन्द्रप्रसाद, जयशङ्कर प्रकाश, जगजीवनरामजस्ता प्रौढ राजनीतिज्ञहरूका साथ कारावासको यातना भोगेका थिए ।

यिनी सन् १९४६ मा पटनाबाट नेपाली भाषामा पहिलो राजनीतिक वक्तव्य दिएर नेपाली काँग्रेसको स्थापनापछि नेपाल फर्केका थिए । (विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व परिचय र उनका कथा एवम् कथाकारिताको विश्लेषण र मूल्याङ्कन ः पृ.४) त्यसपछि यिनी २००४ सालको साङ्गठनिक प्रक्रियाका प्रणेता, २००७ सालको प्रजातान्त्रिक प्राप्तिका प्रवर्तक, २०१५ सालको सरकारको गठनका सर्वथा सर्वमान्यताका प्रतीक र २०१७ सालको पीडावाहक व्यक्तिका प्रतिस्थापक समेत बनेका थिए (विश्वेश्वरप्रसाद कोइराला : समालोचना र विचारमा : पृ.१२१)। २०१५ सालदेखि प्रधानमन्त्रीको पद सम्हालेका कोइराला १८ महिनापछि २०१७ देखि २०२५ सालसम्म जेलजीवन बिताउन बाध्य भएका थिए । यसरी विभिन्न पीडा भोग्दै अनेक कथाव्यथास“ग जुध्दै संवैधानिक राजतन्त्रभित्र प्रजातान्त्रिक समाजवादको स्थापना गर्ने लक्ष्यमा समर्पित क्रान्तिपुरुष कोइराला कुशल राजनैतिक व्यक्तित्वका रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित छन् ।

कलकत्ता विश्वविद्यालयबाट वि.सं.१९९४ मा बी.एल्. उत्तीर्ण गरेका कोइराला कानुनविद्का रूपमा पनि चिनिन्छन् । यिनले दार्जिलिङ जिल्ला न्यायालयमा अधिवक्ता हरिप्रसाद प्रधानको मातहतमा रहेर केही समय वकालत गरेबाट पनि यिनी यस क्षेत्रमा अनुभवी देखिन्छन् । यिनलाई राजनैतिक क्षेत्रमा कानुनी व्यक्तित्वले निकै सहयोग पुर्‍याएको छ । “इतिहासका सम्मुख, जनताका सम्मुख, आफ्नाे आदर्शका सम्मुख, यो न्यायालयका सम्मुख र महोदय तपाईं न्यायाधीशका सम्मुख म आफूलाई पूर्ण निर्दोष भएको अनुभव गर्दै छु र निर्दोष छु भन्न चाहन्छु । तर हाम्रो अध्ययन र विचारमा देश एउटा ठूलो राष्ट्रिय सङ्कटमा छ । यस स्थितिमा यो पक्कै महत्वको कुरा छैन कि म कुनै कानुनको सङ्कीर्ण अथ्र्याइबाट दोषीमा निर्दोष प्रमाणित हुँ । मुख्य र महत्वपूर्ण कुरा त राष्ट्रिय एकताको हो, जसको आधार प्रजातन्त्र र समाजवाद हुन्छ । यस्तो जीवनमरणको प्रश्नपट्टि ध्यान दिलाउन र तत्परताका साथ राष्ट्रिय एकताका लागि प्रयत्नशील हुने उद्देश्यले हामी नेपाली आएका हौँ ।” विश्वेश्वरप्रसाद कोइरालाले अदालतमा दिएको बयानको प्रतिलिपि : पृ.१) जस्त आफूलाई लगाइएका विभिन्न मुद्दाको सुनुवाइमा अदालतमा दिइएका अनेक बयानबाट कोइरालाको कानुनी व्यक्तित्व पनि निकै प्रखर रहेको स्पष्ट हुन्छ ।

समालोचकमा ज्ञान र सीपको पर्याप्तता हुनुपर्ने र साहित्य सभ्यताको प्रतीक मान्ने कोइराला समालोचनात्मक गुणले सम्पन्न भएका कुशल द्रष्टाका रूपमा पनि चिनिन्छन् । यिनका निबन्धात्मक रचनाहरूमा समालोचकीय चिन्तन पाइन्छ । उपन्यासकार पारिजातको शिरीषको फूल, भरतजङ्गमको कालो सूर्य र आºनो मोदिआइन जस्ता उपन्यासहरूको विवेचना गरेर कोइरालाले समीक्षकका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । त्यस्तै लक्ष्मीप्रसाद देवकोटा, सडक कविता क्रान्ति र अन्य साहित्यिक मूल्य र मान्यतासम्बन्धी यिनले व्यक्त गरेका विचारहरू हेर्दा कोइराला सा“च्चै समालोचकीय दृष्टिकोण भएका व्यक्तिका रूपमा देखिन्छन् । यिनले चिठीपत्र, भेटवार्ता, जीवनी, निबन्ध आदिका माध्यमबाट पनि समालोचकीय दृष्टि प्रस्तुत गरेका छन् ।

साहित्यकार विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । यिनले कथा, उपन्यास, कविता, निबन्ध, आत्मजीवनी, आलोचना आदि विधामा कलम चलाएका छन् । वि.सं. १९९२ को शारदा पत्रिकामा प्रकाशित चन्द्रवदन कथा प्रथम मनोवैज्ञानिक नेपाली कथा भएकाले कोइराला नेपाली कथाका प्रथम मनोवैज्ञानिक यथार्थवादी कथाकार हुन् । यिनको साहित्यिक व्यक्तित्वमात्र नभएर राजनैतिक व्यक्तित्व पनि चिरपरिचित रहेको छ । विभिन्न साहित्यकारहरूको प्रेरणाप्रभावमा साहित्यको रचना गरेका कोइरालाका मौलिक चिन्तन र प्रखर विचारहरू अत्यन्तै महत्वपूर्ण रहेका छन् । यिनको उच्च व्यक्तित्वले गर्दा यिनी सबैका सामु आदरणीय र चिरस्मरणीय रहेका छन् । यिनको मृत्यु वि.सं. २०३९ साउन ६ गते काठमाडौ“मा भयो । उनको भौतिक शरीर नरहे पनि कुशल साहित्यकार एवम् सफल राजनैतिक चिन्तकका रूपमा उनी हाम्रा सामु बाँचिरहेका छन् ।

(लेखक ज्ञवाली त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ)

ज्ञाननिष्ठ ज्ञवाली
उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय
पद्मकन्या कलेज
बागबजार, काठमाडौँ
फोनः ९८४१६००२१३
ई-मेल : [email protected]