देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३८औं बीपी स्मृति-दिवस कांग्रेसको जीवनमा बीपी कोइराला

देशान्तर

आधुनिक नेपाली राजनीतिमा नेपाली नागरिक स्तरबाट उठेर आम जनतामा सर्वाधिक लोकप्रिय बनेका महान् राजनेता बीपी कोइरालाले देश र जनताको लागि केही गर्छु भन्दाभन्दै निरंकुश पञ्चायती व्यवस्थाको दमनको कारणले प्रजातन्त्रको सपना र जनताको समृद्धि देख्न नपाई यो धर्ती सदाका लागि छोडेर गएको आज साउन ६ गते ३८ वर्ष पूरा हुँदैछ ।

बितेको यो ३८ वर्षमा नेपाली राजनीतिमा धेरै परिवर्तन भए । उहाँको निधनको सातै वर्षमा बीपीकै राजनीतिक उत्तराधिकारी गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा उहाँकै कांग्रेसले देशमा प्रजातन्त्र पुनस्र्थापना ग¥यो । कांग्रेसकै नेतृत्वमा २०६२÷०६३ मा प्रजातन्त्रको बदलामा अझ उन्नत भनिएको लोकतन्त्र बहाली भएको छ, त्यससँगै देश गणतन्त्रमा गएको छ । बीपीले नै निकै आशा गरेको त्यस बेलाको युवा अहिले कांग्रेसको सिंगो बागडोर सम्हालेर बसेको छ तर बीपीले स्थापना गरेको इतिहासको त्यो गौरवशाली कांग्रेस भने कताकता हराइरहेको छ । आज कांग्रेसको संगठनमा कांग्रेस खोज्नुपर्ने भएको छ, कांग्रेसको जीवनमा बीपी, गणेशमान र किसुनजी खोज्नुपर्ने भएको छ ।

नेपालको झन्डै विगत आठ दशकको आधुनिक नेपाली राजनीतिमा आम जनताले सर्वाधिक सम्झने नेता बीपी नै हुन् । उनको निधनको ३८ वर्षपछि पनि अझ उनलाई जनजनले सम्झिरहेका छन् । देशको राजनीतिक दुर्दशासँगै उनलाई सम्झने क्रम अझ बढिरहेको छ । उनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा भएर, प्रथम जननिर्वाचित प्रधानमन्त्री भएर वा नेपाली साहित्यलाई उत्कृष्ट कृतिहरू दिएर मात्र आम मानिसले यति बिघ्न सम्झेका होइनन् । बीपी कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता, प्रजातन्त्र र देशको आर्थिक विकास गर्ने विषयमा एउटा स्पष्ट बाटो देखाएको कारणले नै उनलाई नेपाली जनताले सर्वाधिक सम्झने र सम्मान गर्ने गरेका हुन् । देशको राजनीतिको विषम परिस्थितिमा आम नेपाली जनता बीपीले देखाएको बाटोमा देश हिँडेको देख्न खोजिरहेछन् तर बीपीको कांग्रेस भने बीपी र बीपीको त्यो विचार चिन्तनलाई पूरै छोडेर भड्किएर कताकता टाढा पुगिसकेको छ ।

२०६३ पछि हेर्दा निकै ठूला क्रान्तिकारी परिवर्तन भए भनिए पनि आज देशको राजनीति इतिहासकै सर्वाधिक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेपछि र भीमसेन थापाले अंग्रेजसँग युद्ध लड्दा बखत पछि देशको राष्ट्रियता इतिहासमै यति धेरै निम्सरो सम्भवतः कहिल्यै भएको थिएन । १४ वर्ष अगाडि भारतको राजधानी नयाँदिल्लीमा गएर नेपालका राजनीतिक दलहरूले उनीहरूकै रोहवरमा बाह्रबुँदे समझदारीपत्रमा सम्झौता गरेपछि नेपाली राष्ट्रियता अझ कमजोर बन्न पुगेको विगत १४ वर्षको नेपालको राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको छ ।

देशलाई कसरी जनताको भावनाविपरीत धर्मनिरपेक्षता, संघीयता अनि गणतन्त्रमा लगियो, हामीले गौरवका साथ कथित क्रान्तिकारी छलाङ मारेको भन्ने गरेको यी कथित परिवर्तनमा नेपाली जनता कति निर्णायक थिए र विदेशी एवं छिमेकी शक्ति कति निर्णायक थिए भन्ने कुरामा पनि यस बीचमा छर्लंग भइसक्यो । विदेशी खुफिया एजेन्सीको प्रमुख र अफिसरहरू, सेनाका अवकाश प्राप्त जनरलहरू खुलेर नै नेपालबाट राजतन्त्र समाप्त गर्न, नेपाललाई धर्म–निरपेक्ष घोषणा गर्न आफूले खेलेको भूमिकालाई लिएर लेखे–बोलेको र त्यसप्रति नेपालका कथित क्रान्तिकारी र त्यसका हिमयती भन्ने नेताहरूको मौनताले पनि यसलाई पुष्टि गरेको छ ।

नेपाली कांग्रेसले आफ्ना स्थापनाकालीन नीति र सिद्धान्त अनि बीपीका विचारलाई छोडेर केवल सत्तास्वार्थमा परेर क्रान्तिकारी वन्ने नाममा अरूका मुद्दा काँधमा बोकेर हिँडेको परिणाम कांग्रेस राष्ट्रिय राजनीतिको केन्द्रबाट टाढा भएको छ भने बीपीले भन्नु भए जस्तै प्रजातन्त्र विरोधी र अराष्ट्रवादी कम्युनिस्टहरू प्रजातन्त्र र राष्ट्रवादकै खोल ओडेर सत्तामा पुग्न सफल भएका छन् । आज प्रजातन्त्र र राष्ट्रियता दुवै खतरामा पर्दैछ । यी सबै कांग्रेसकै गलत नीति र खराब नेतृत्वको परिणाम हो, बीपी विचारविपरीत हिँड्नुको परिणाम हो भन्ने कुरा घाम जत्तिकै छर्लंग भएको छ । तर दुःखको कुरो कांग्रेस र यसको नेतृत्व यो भुललाई महसुस गर्न अझै तयार छैन । सच्चिएर अगाडि बढ्न अझै सहज हुन खोजिरहेको छैन ।

आज नेकपाको ओली नेतृत्वमा रहेको सरकार नक्कली राष्ट्रवादकै खोल ओढेर सत्तामा पुग्या र आज राष्ट्रवादकै टेकोमा सत्तामा टिक्ने प्रयास गरिरहेको छ । भारतको क्रियाको प्रतिक्रियामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गर्ने र सिंगो देश एक भएर संविधान जारी भइसकेपछि कुशल कूटनीतिक क्षमता प्रदर्शन गर्दै भूमि फिर्ता ल्याउन प्रयास गर्न छोडेर प्रधानमन्त्री पदको गरिमाको समेत ख्यालै नगरी भारतलाई थप भड्काउने र आफ्नो सत्ता र पार्टीको अन्तर संघर्षमा चीनलाई बोलाएर विगतमा नेपालको राजनीतिमा भारतले माइक्रो–म्यानेजमेन्ट गरेर जस्तै नेपालको आन्तरिक राजनीतिमा चीनलाई संलग्न गराएको घटना देशका लागि घातक हुनेमा कुनै सन्देश छैन तर यी सबै घटनामा देशको इतिहासको त्यो महान् प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्ति कांग्रेस तमासे मात्र बन्नु देशका लागि नै दुःखद् परिस्थिति हो ।

नेपालको राष्ट्रियता, भू–राजनीतिक र देशको संवेदनशीलतालाई बोध गर्दै बीपी कोइरालाले नेपाली राजनीति माथि राख्नुभएको राष्ट्रिय एकता र मेलमिलापको प्रस्तावलाई राजसंस्थाले अस्वीकार गरेकै परिणाम अन्तत्वोगत्वा दुग्र्याग्यपूर्वक देशबाट राजसंस्थाको पतन भयो भने कांग्रेसले बीपीको विचार र सिद्धान्तलाई छोडेर कम्युनिस्टका मुद्दा काँधमा बोकेर कुद्दा कांग्रेस आफंै भयानक राजनीतिक संकटसम्मुख आइपुगेको छ, इतिहासको सबैभन्दा कमजोर परिस्थितिमा पुगेको छ ।

बीपीले आफ्नो जीवनमा धेरै प्रसंगमा आफ्नो समस्या कम्युनिस्ट वा राजाले नभएर आफ्नै पार्टीका साथीहरू नबुझिदिएको, आफ्ना साथीहरूलाई कुरा बुझाउनै नसकिएको भनेर गुनासो गर्नु भएको थियो भने बीपीको निधनको ३८ वर्षपछि केवल नेतृत्वको सत्तास्वार्थ र आफ्ना मौलिक विचार छोडेर वामपन्थी भाषमा फसेको वर्तमान कांग्रेसले बीपीलाई कति बुझ्या छ वा कति अनुसरण ग¥या छ ? हामी सहजै अनुमान गर्न सक्दछौं ।

निश्चय नै बीपीले राख्नुभएको राष्ट्रिय एकता र मेलमिलापअनुसार राजसंस्था बेलायत वा जापानको जस्तो संवैधानिक मर्यादाभित्र बस्न अस्वीकार गरेको कारण राजा वा राजसंस्थासंग कांगे्रसको मेलमिलाप हुन सकेन । माक्र्सवादी सिद्धान्तअनुसार कम्युनिस्टहरू राष्ट्रवादी पनि नहुने प्रजातन्त्रवादी पनि नहुने भएको कारणबाट बीपी नेपालका कम्युनिस्टहरूसँग मिलेर प्रजातन्त्रको आन्दोलन गर्ने पक्षमा हुनुहुन्नथ्यो । बीपीको निधनपछि कांग्रेसले यो राजनीतिक अडानलाई छोडेर कम्युनिस्टहरूसंग गला मिलाउँदा पञ्चायती व्यवस्था र राजसंस्थाको पतन गर्न त सक्यौं तर त्यसको हविगत अहिले कांग्रेस भोग्दैछ ।

राजनीतिमा असम्भव केही छैन । राजनीति भनेकै सम्भावना र असम्भावना बीचको खेल हो । राजनीतिमा नाजायज पनि केही हुँदो रहेनछ, सत्ताको नसामा सिद्धान्त, नीति, मूल्य, नैतिकता र निष्ठा भन्ने चिज सब गौण भए । आज राष्ट्र प्रेम, राष्ट्रियता अनि मूल्य सिद्धान्त र विचार शून्य राजनीतिको मार्गमा अराजकता, अनैतिकता र भ्रष्टाचारको दलदलमा देश फसेको छ । ओली सरकार त्यसमा चुलुम्म डुबेको छ तर त्यसको विरुद्धमा संसद् र सडक दुवै मोर्चामा डटेर लाग्नुपर्ने प्रमुख प्रतिपक्षी दलको नेताको लबेदा सुरुवालमा समेत त्यसको छिटा देखिनु आम निष्ठावान कांग्रेसीजनका लागि मात्र होइन सिंगो देशका लागि निकै चिन्ताका विषय भएको छ ।

आउँदो असोज ३ गते संविधानसभाले संविधान निर्माण गरेको पाँच वर्ष पूरा हुँदैछ । संविधान सभाले संविधान निर्माण गरेपछि देश कायापलट हुन्छ भनेर जनतालाई खुवै सपना बाँड्यौ । समस्या संविधानको थिएन, समस्या हाम्रो नियतमा छ, हाम्रो सोच चरित्र र संस्कारमा छ, त्यसमा हाम्रो कुनै सुधार भएको छैन अनि आफ्नो भ्रष्ट चरित्र र नालायकीलाई छोप्न संविधानको सहारा लिन्छौ र संविधानलाई दोष दिन्छौ, २०४७ को संविधानलाई त्यसरी नै राजनीतिक दल र नेताको असफलता र दोष छोप्नलाई समाप्त ग¥यौं । अबको असफलताको दोष कसलाई दिएर नेतृत्व उम्कने, सहज छैन ? संविधानसभामार्फत आफैले बनाएको भनिएको संविधानलाई दोष दिएर उम्कने ! देशको यस्तो विषम राजनीतिक परिस्थितिमा देशको राष्ट्रियता माथिको खतरा अझ बढेर गएको छ, प्रजातन्त्र कमजोर हुँदैछ । झन्डै दुई तिहाइ शक्तिको बलियो सरकार भ्रष्टाचारको आहालमा पूरै डुवेको छ, राष्ट्रवादको त्यान्द्रो समाएर ओली सरकारलाई पार लगाउने असफल प्रयास गरिरहेका छन्, तर सिंगो राष्ट्र भने असफलतातर्फ उन्मुख छ । देशको यस्तो विषम राजनीतिक परिस्थितिमा हामी हाम्रा महान् राजनेता बीपी कोइरालाको स्मृति दिवसमा उहाँलाई स्मरण गरिहेका छौं, देशको लागि सही बाटो खोजिरहेका छौं ।

महान् प्रजातन्त्रवादी क्रान्तिकारी नेता बीपी र कांग्रेसको सिद्धान्त र नीतिविपरीत कम्युनिस्टहरूसँग कांग्रेसले सहकार्य गरेकै कारण २०१५ सालको आम निर्वाचनमा संसद्मा मुस्किलले ४ सिट जितेका कम्युनिस्टहरू २०४६ को आन्दोलन सफल भई प्रजातन्त्र पुनस्र्थापना भएपछि २०४८ को संसदीय निर्वाचनमा सम्मानजनक सिट जितेर प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगे भने लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियाका नाममा सशस्त्र माओवादीलाई समेत काखीमा च्यापेपछि त संविधानसभा निर्वाचनमा कम्युनिस्टहरू झन्डै दुई तिहाइ सिट नै हत्याउन सफल भए र आज कांग्रेस पार्टीसहित मुलुकको सिंगो लोकतान्त्रिक शक्तिहरू निरीह देखिएका छन् ।
नेताको राजनीतिक स्वार्थले वा विदेशीको दबाब थेग्न नसकेर जे कारणले होस् कांग्रेसले बाटो बिराएको परिणाम नै आजको देशको चिन्ताजनक परिस्थिति र कांग्रेसको निरीह अवस्था हो भन्नेमा कुनै सन्देह छैन तर दुर्भाग्य कांग्रेसको नेतृत्व र सिंगो पार्टी पंक्ति अझै पनि पार्टीले निकट इतिहासमा गरेको गल्तीलाई महसुस गर्ने र त्यसबाट पाठ सिक्ने अनि सच्चिने सुरमा अझै छैन । अझै पनि नेतृत्व सच्चिने सुध्रिनेभन्दा सत्तारूढ दल फुटिहाल्यो भने सरकारमा जानुपर्छ भन्ने रुग्ण मानसिकता पालेर बसेको देखिन्छ । पार्टीको नेतृत्व अझै पनि सिद्धान्तहीन सत्तास्वार्थको मनोदशाबाट मुक्त हुन सकेन भने कांग्रेस सकिन बेर लाग्दैन ।

बीपी कोइरालालाई सम्झनु भनेको बीपी स्मृति दिवस वा जन्मजयन्तीका अवसरमा उनको तस्बिरमा दुई थुंगा फूल चढाउनु र उनीप्रति ओठेभक्ति देखाउँदै श्रद्धाञ्जलीका कोरा शब्द खर्च गर्दै भाषण छाँट्नु मात्र होइन । बीपीको विचार र चिन्तन व्यवहारमा उतार्नु मात्र उहाँप्रतिको सम्मान हो ।

नेपाली कांग्रेसमा अहिले नीति, सिद्धान्त र नेतृत्व सबै खराब छ । पार्टी १४ औं महाधिवेशनतर्फ उन्मुख भइरहेको अवस्थामा इतिहासबाट सिकेर सही नीति र सिद्धान्त अवलंम्बन गर्न र त्यसैबमोजिमको नेतृत्व स्थापित गर्न सक्यौं भने मात्र बीपीले स्थापना गरेको पार्टीलाई बचाउन सकिन्छ । त्यसका लागि पार्टीभित्र निष्ठावान् कांग्रेसजनले पार्टीको जीवनमा व्यापक बहस, छलफल र चिन्तन गर्न जरुरी छ, एउटा जोडदार प्रयत्न गर्न जरुरी छ ।
बीपीको विचार र चिन्तनको सान्दर्भिकता समाप्त भएको होइन । अहिलेको चरम निराशा र संकटपूर्ण राजनीतिक परिस्थितिमा बीपी विचार र दर्शनको सान्दर्भिकता अझ बढेको आम जनताले महसुस गरिरहेका छन् । बीपी कोइरालाले राष्ट्रिय राजनीति र पार्टीमा स्थापित गरेको विचार, सिद्धान्त र कार्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्दै त्यसलाई व्यवहारमा अपनाउनु नै उनीप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धाञ्जली बीपी !
– जय नेपाल !