देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘वधूशिक्षा’ले गिजोलेको भानुभक्त

देशान्तर

नेपाली साहित्यका आदिकविका रूपमा परिचित भानुभक्त आचार्यको २०७औँ जन्मदिन हो भोलि अर्थात् २९ असार । नेपाली समाजमा कवितालाई लोकप्रिय बनाउने, जनजिब्रोमा झुन्डिने श्लोकहरू लेखेर छन्दलाई प्रिय बनाउने कवि हुन् आचार्य ।

उनको विशेषगरी वाल्मीकि रामायणको नेपालीमा अनुवाद नै प्रमुख कार्य थियो, जसले रामायणजस्तो लोकप्रिय काव्य नेपालीलाई दियो ।

उनी कुशल अनुवादक तथा कवि थिए । उनका सामाजिक, सांस्कृतिक विषयमा लेखिएका कविता पनि छन् ।

भानुभक्तलाई नेपाली जनमा चिनाएका भने युवाकवि मोतीराम भट्टले हो । भानुभन्दा ५२ वर्षपछि जन्मिएका मोतीरामले भानुभक्तलाई खोज्दै उनका कृतिहरूलाई जब प्रकाशनमा ल्याए अनि मात्र नेपाली समाजले भानुभक्तलाई चिन्यो । यसका लागि मोतीराम नेपाली साहित्यले सदा सम्मान र स्मरण गर्नुपर्ने व्यक्तित्व हुन् ।

उसो त मोतीराम आफैँमा बहुप्रतिभा सम्पन्न व्यक्ति हुन् । उनी आफैँ कुशल कवि, जीवनी लेखक, गजलकार, साहित्य अभियन्ता, पत्रकार, प्रकाशक, सम्पादकसमेत हुन् । यहाँ भानुभक्तलाई सम्झिने सन्दर्भमा मोतीरामको प्रसंग उठेको हो ।

भानुभक्त आचार्य १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कवि हुन्, आचार्य । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । भानुभक्तलाई मोतीराम भट्टले पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षालगायतका मौलिक काव्यकृति छन् ।

नेपाली भाषा र साहित्यका क्षेत्रमा अमूल्य योगदान गरेका भानुभक्तले संस्कृति, धर्म, दर्शन, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेमलगायत विषय आफ्ना काव्यमा प्रस्तुत गरेका छन् ।

उनी नेपालका राष्ट्रिय विभूति पनि हुन् ।

वाल्मीकिले संस्कृत भाषामा लेखेको अध्यात्म रामायणमा विविध छन्दको प्रयोग गरेका भए पनि अनुष्टुप छन्दको बढी प्रयोग भएको छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीय छन्दको प्रयोग गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् ।

यही भानुभक्तको रामायणका कारण नेपाली जनजीवनमा शार्दूलविक्रीडित छन्द अत्यन्त प्रिय बनेको हो ।
भानुभक्तमा ज्योतिषशास्त्रको पनि राम्रो ज्ञान थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा लिएका उनी संस्कृत र नेपाली दुवै भाषाका ज्ञाता पनि थिए ।

भानुभक्तका बारेमा वर्तमानमा विभिन्न कोणबाट चर्चा परिचर्चा हुने गरेको छ । त्यस समय अर्थात् भानुभक्तकालीन समय र सन्दर्भलाई नहेरी, नबुझीकन यस्ता टिप्पणी आइरहेका छन् ।

साहित्य, कला र संगीत भनेका तत्कालीन समय र समाजका प्रतिबिम्ब हुन् । सर्जक वा कलाकारले तत्कालीन समयमा देखेका, भोगेका, सुनेका र अनुभव गरेका कुराहरूलाई साहित्य, संगीत र कलामा प्रस्तुत गर्ने हो ।

भानुभक्तले पनि त्यस समयकै सन्दर्भमा देखे, भोगे, अनुभूत गरेका कुरा आफ्ना रचनामा प्रस्तुत गरेका हुन् । जस्तो कि त्यसबेला समाजमा सतीप्रथा कायम थियो भने महिलामाथिका विभिन्न विभेद र प्रताडना कायम थिए । त्यस समयमा महिलालाई तल्लो दर्जाको मानिस ठानिन्थ्यो । घर परिवारको हेरचाह, बालबच्चा जन्माउने र पालनपोषण गर्ने निरीह प्राणीका रूपमा महिलालाई लिइन्थ्यो ।

तब, भानुभक्तले के लेखून् ? भानुभक्त कसरी आमूल परिवर्तनकारी हुन सक्थे ? कसरी विद्रोही बन्न सक्थे ?

आजका दिनमा आएर जति परिवर्तन भएको छ, अधिकारका जति कुरा भएका छन्, ती त त्यसबेला कुनै गुञ्जायस नै थिएन । तब भानुभक्त कसरी आजका तथाकथित आमूल परिवर्तनकारी जस्ता बन्न सक्थे ?

यस्ता कुत्सित आग्रहहरू पालेर आज नेपाली भाषा र साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यमाथि बारबार भइरहेका प्रहार खेदपूर्ण छन् ।

विशेषगरी भानुभक्तको वधूशिक्षाका बारेमा निकै आलोचना भइरहेका छन् । वधूशिक्षा महिलालाई दिइएको अर्ती हो । उनले वधूशिक्षामा महिलालाई यसरी उपदेश दिएका छन् :

प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।
सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।।
भक्तिले पति ईश्वरै भनि बुझून् पाऊ–तलैमा परून् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।१।।

अहिलेका बडा परिवर्तनकारी भनिनेहरूलाई भानुभक्तको यो उपदेश पचेन । त्यसबेला माथि भनिएझै श्रीमान् स्वर्गे भएसँगै श्रीमती श्रीमान्सँगै सती जानुपर्ने सामाजिक नियम भएको समयमा यतिका अर्ती र उपदेश असामान्य र अस्वाभाविक होइनन् भन्ने कुराको बोध यी आलोचकहरूमा देखिएन । मात्र भानुप्रतिको आग्रह राखेर वर्तमानमा त्यस समय र उक्त समयको सोच अनि धारणा निरपेक्ष मूल्यांकन गरिँदा यस्तो भएको हो ।
अर्को श्लोक छ :

झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।।
सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।
मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।।२।।

यी त आजका मितिसम्म पनि हाम्रो समाजमा यतिका कुराहरू र व्यवहार त कायम नै छन् । विशेषगरी हाम्रा ग्रामीण समाजमा यस्ता कार्यहरू बुहारीले सासूलाई गरेकै छन् । कसैले कसैप्रति श्रद्धाभाव राखेर गर्ने कुनै पनि कार्य थितिविरोधी वा अमानवीय वा कुप्रथा त बन्दैन ।

यस्तैयस्तै उपदेश लेखिएको वधूशिक्षाबारेका अनेक आलोचनाका कारण भानुभक्तलाई आज निकै आलोच्य र विवादित बनाइएको छ । तर, उनको नेपाली भाषा, साहित्यप्रतिको अमूल्य योगदानलाई भने भुलिएको छ ।

नेपाली भाषा, साहित्यका अग्रणी व्यक्तित्व आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धा ।