August 11, 2020, Tuesday
२०७७ श्रावण २७
ताजा अपडेट

भानुभक्तको आदिकवित्व

नेपाली साहित्यको विकासको प्रस्थान वीर धाराबाट सुरु भएको मानिन्छ । पछि कृष्णभक्ति धाराको छहारीमा केही विश्राम, केही उत्थान र विकास प्राप्त गरेर रामभक्ति धाराले चरम उत्कर्ष प्राप्त गरेको पाइन्छ । रामभक्ति धाराका सशक्त, प्रखर एवं प्रतिभा सम्पन्न व्यक्ति आदिकवि भानुभक्त आचार्य हुन् । यिनका महत्वपूर्ण र उल्लेखनीय कृति ‘रामायण’, समाजको आवश्यकतालाई बुझेर लेखिएको देखिन्छ । महाकाव्यात्मक संरचना भएको उक्त काव्य साहित्यिक मूल्यका साथै सामाजिक मूल्यमान्यताका दृष्टिले पनि महान् काव्य प्रमाणित भएको छ । यस काव्यमा भानुभक्तको भक्तिकालको मात्र नभई सम्पूर्ण नेपाली साहित्यको प्रतिनिधित्व गरेको हुँदा उनलाई आदिकविका रूपमा सम्मान दिइएको हो ।

भानुभक्तले वि.सं. १८९८ देखि १९२५ सम्मको २७ वर्षे लामो कालावधिमा रामायणको तयारी गरे । लेखोटको रूपमा धेरै व्यक्तिले सारेर समाजमा गाउन थाले । पछि माध्यमिक कालका केन्द्रीय प्रतिभा मोतीराम भट्टले यसको खोजी गरेर प्रकाशनमा ल्याए । तत्कालीन शासन व्यवस्थामा देखिएका विकृति विसंगतिको निराकरणका लागि रामायणको सन्देश आवश्यक थियो । त्यसैले उनले रामराज्यको कल्पना गरेर उक्त कृतिको रचना गरेको पाइन्छ ।

नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरे । राजनीतिक एकतामात्र सुगठित र सुसंगठित राज्यका निम्ति पर्याप्त नहुने भएकाले सांस्कृतिक एकता पनि महत्वपूर्ण थियो । तसर्थ सास्ंकृतिक एकताका लागि भानुभक्तले योगदान गरे । राम चरित्रमार्फत धेरै नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने प्रयास उनले गरे ।

वि.सं. १८७३ को सुगौली सन्धिका कारण वीर नेपालीहरूको गति रोकिएको थियो । एक किसिमले आहत भएका नेपालीहरूमा भक्तिको मलम लगाउने रामायणले गर्‍यो । तत्कालीन अशान्त राजनैतिक वातावरण, स्वार्थी भारदार, अशान्तिको व्यापकताको निराकरणका लागि रामायणले ठूलो राहत दिएको मान्न सकिन्छ । रावणजस्तो अत्याचारी र भोगविलासमा लिप्त चरित्रलाई त्यागेर रामको जस्तो आदर्श चरित्र स्थापना गर्नु रामायणको उद्देश्य रहेको छ । भानुभक्तीय रामायणको अर्को उद्देश्य भनेको वेदान्त दर्शनको प्रचार गर्नु पनि रहेको देखिन्छ ।
रामायण करुण रस र वियोगान्त घटनामा केन्द्रित छ । कथावस्तु र पात्रलाई नेपालीपन दिन खोजिएको छ ।

नेपाली बिम्ब र प्रकृति चित्रणको आभास पाइन्छ । काव्यमा कवितालाई भावानुकूल छन्दमा प्रयोग गरी कथावस्तुलाई रुचिपूर्ण बनाएको पाइन्छ । रामायणद्वारा भानुभक्तले नेपाली भाषालाई साहित्यिक भाषा बनाउनुका साथै नेपाली भाषा र साहित्यको जग दह्रो बनाएका छन् ।

माध्यमिककालीन नेपाली साहित्यका अग्रणी प्रतिभा मोतीराम भट्टद्वारा लिखित ‘भानुभक्तको जीवन चरित्र’ कृतिबाट पनि हामी भानुभक्तबारे विस्तृत बुझ्न सक्छौँ । यस कृतिमा सुरुमा तनहुँको वर्णन गरिएको छ, जहाँ भानुभक्त जन्मेका थिए । त्यसपछि प्रकृतिको वर्णन छ । श्रीकृष्णका नाति र धनञ्जयका छोराका रूपमा भानुभक्तलाई चिनाइएको छ । यसका साथै भानुभक्तका एकमात्र छोरा रमानाथ भएको, घाँसीबाट भानुभक्तले प्रेरणा पाएको, गजाधर सोतीसँग भेट भएको, अतिथि सत्कार नगर्नेलाई निन्दा तिरस्कार गर्नुपर्ने मान्यता भानुभक्तले राखेको जस्ता प्रसंगहरू उक्त कृतिमा रहेका छन् ।

यसैगरी भानुभक्तको जीवनसँग सम्बन्धित विविध घटनावली र उतारचढावलाई मोतीरामले प्रस्तुत गरेका छन् । भानुभक्तको रामायणका साथै भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र फुटकर रचनाहरू पनि रहेका छन् । यी कृतिहरूमध्ये फुटकर कवितामा उनले भोलिवादी प्रवृत्तिलाई यसरी झटारो हानेको पाइन्छ :

बिन्ती डिट्ठा बिचारीसित म कति गरुँ
चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल्  गर्‍या झैँ अनि पछि
दिनदिन भन्दछन् भोलिभोली ।
की ता सक्दीन भन्नु कि तब छिनिदिनू
क्यान भन्छन् इ भोली
भोली भोली हुँदैमा सब घर बितिगो
बक्सियोस् आज झोली ।।
(रामायण, २०५८, पृ. २४६)

वि.सं. १९७१ असार २९ गते पिता, धनञ्जय आचार्य र माता धर्मावतीदेवी आचार्यका कोखबाट तनहुँ जिल्लाको चँुदीरम्घा गाउँमा जन्मेका आदिकवि भानुभक्त आचार्यको जीवनी उतारचढावयुक्त छ । उनले जग्गाको झगडामा मुद्दा खेपेर काठमाडौँसम्म आउनुपर्दाको पीडा बडो कारुणिक छ । उनी जहाँ जहाँ पुगे, जेजे, भोगे, त्यसका बारेमा पनि कवितामै वर्णन गरे । उनी काठमाडौंँ आउँदा बालाजुको वर्णन गरे । कान्तिपुरको रमणीय वातावरणको वर्णन कवितामै गरे । मुद्दामामिला, व्यावहारिक कठिनाइ, अरूले गरेको अपमान सबै कुराको वर्णन कविताकै माध्यमबाट गर्ने उनको सामथ्र्य अद्भुत प्रकारको रहेको पाइन्छ ।

भानुभक्तका कृतिमा तत्कालीन समाज बुझ्नका लागि विशेष प्रकारको अध्ययन गर्न सकिने प्रशस्त आधारहरू फेला पार्न सकिन्छ । अहिलेका आँखाले उहिलेका उनका कवितालाई हेर्नेहरूले कतै आलोचना गर्नु पनि स्वाभाविकै होला तर तत्कालीन समय परिवेशको अध्ययनका दृष्टिले समेत उनका फुटकर कविताहरू पनि बेजोड रहेका छन् । भानुभक्तका कविताका बारेमा ‘छन्दका १०१ कविता’ पृ. २९ मा पारसमणि प्रधानको यस्तो कविता पाइन्छ :

“भानुभक्त कविका कवितामा
छैन के ? सब कुरा यिनमा छन्,
युक्त छन् सरल भाव र भाषा
धर्म कर्म पनि छन् अति खासा ।”

भानुभक्तको आदिकवित्वको बारेमा पनि विभिन्न विद्वान् समीक्षकहरूमा एकमत छैन । तथापि एक दुई कविले एक दुई श्लोक छन्दमा लेख्दैमा आदिकवि हुन सक्दैन । यसर्थ पनि ‘रामायण’ जस्तो विशाल ग्रन्थ लेख्ने भानुभक्त नै आदिकवि हुन् । ‘रामायण’ महाकाव्यको पहिलो श्लोक सबै नेपालीले पढी सम्झौँ । उनीप्रति श्रद्धा अर्पण गरौँ । जुन श्लोक यसप्रकार छ :

“एक् दिन नारद सत्यलोक् पुगि गया
लोक्को गरुँ हित् भनी ।
ब्रह्मा ताहिँ थिया  पर्‍या चरणमा
खूसी गराया पनि ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी
मर्जी भयेन्थ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले
बिन्ती ग¥या यो तसै ।।”

(लेखक ज्ञवाली, पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)