देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि लगाए मास्क !

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाएका छन् । कुनै हालतमा मास्क नलगाउने जिद्दीमा रहेका राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड सैनिक अस्पतालमा भेट्रानहरुलाई भेट्न  जाने क्रममा ट्रम्पले मास्क लगाएकाे तस्वीर प्रकासित भएका छन् ।

कोरोना भाइरसको महामारी शुरु भएदेखि नै मास्कको विपक्षमा रहेका ट्रम्पले एक पटक फोर्ड गाडीको शो रुममा जाँदा पत्रकारले नदेख्ने गरी भने मास्क लगाएका थिए ।

मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मलाई लाग्छ मास्क लगाउनु उत्कृष्ट कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास छ ।’

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले सबैलाई बाहिर निस्कँदा मास्क वा रुमालले मुख छोप्न निर्देशन नै जारी गरेको छ । तर ट्रम्पले सो निर्देशन नमान्ने बताएका थिए ।

मास्कको विपक्षमा रहेका ट्रम्पले यतिसम्म भनेका थिए, ‘मलाई लाग्दैन कि मैले मास्क लगाउँछु । मास्क लगाएर अरु देशका राष्ट्रपति, प्रधानमन्त्री, शासक, राजा, रानीसँग भेट गर्नु, म यो सम्भव देख्दिनँ ।’

यस पटक मास्क लगाउनुका पछाडी राजनीतिक कारण रहेको मानिएको छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि मतदाता तान्न एकपटक सार्वजनिक स्थानमा मास्क लगाउन ट्रम्पलाई उनका सहयोगीहरुले भनेपछि लगाएको बताइएको छ ।