मेलम्ची । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए ।
आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ । उनले भने, “आयोजनाका लागि तीन वटा टर्बाइन रनर, जीआइएस र जिटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ”
बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताए । “ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ”, उनले भने । मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उहाँले जानकारी दिए ।
सभामुमख प्रभावित क्षेत्रमा
सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसेको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । यसैगरी वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि घटनास्थल पुग्नुभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
प्रतिक्रिया