देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सपनाका लड्डुहरू

देशान्तर

सबैभन्दा बढी सपनाका लड्डुहरू खाने देश नेपाल हो । यस देशमा कैयौँपटक जनआन्दोलनहरू पनि भए तर ती आन्दोलनका उपलब्धिहरू संस्थागत हुन सकेनन् ।

सबैभन्दा धेरै लड्डुहरू वर्तमान प्रधानमन्त्री केपी ओलीले बाँडेका छन । तर केवल खान नपाइने किसिमका, अमूर्त ।

सम्भवतः नेपाली राजनैतिक इतिहासमा सबैभन्दा कुख्यात प्रधानमन्त्री केपी ओली नै हुनेछन् । कसैलाई नटेर्ने यिनी आफ्नै पार्टीभित्र पनि सबैभन्दा आलोचित र विवादित मानिस हुन् । जिद्दी स्वभावका यिनी कहिल्यै पनि आफ्ना गल्तीहरू स्वीकार्दैनन् ।

सबैभन्दा भ्रष्ट व्यक्ति पनि यिनै हुन पुगे यो पछिल्लो कालखण्डमा । उनकै मन्त्रीहरूले निकै ठूला–ठूला भ्रष्टाचार गरे तर त्यसको छानबिन हुनुको सट्टा त्यसलाई ढाकछोप र रफ्फु गर्नमै तल्लीन भए । फलतः उनको लोकप्रियता क्रमशः घट्दै गयो । कोभिड– १९ को स्वास्थ्य सामग्री खरिद गर्दा पनि ठूलै भ्रष्टाचार गरेको तथ्य बाहिरियो ।
अहिले आएर उनले छिमेकी राष्ट्र भारतसँग पनि सम्बन्ध बिगारे । उतिखेर राष्ट्रघाती महाकाली सन्धि गरेर भारतको प्रिय पात्र बने भने अहिले एकाएक रातारात उग्र राष्ट्रवादी भएर निक्लिए ।

छिमेकी फेर्न सकिन्न जबस्म घर बेचिन्न । देश त बिक्री गर्न सकिने कुरै भएन । अतः कूटनैतिक रूपले सबै समस्याको समाधान गर्नुपर्छ । सानै देश भए पनि आफ्नो सम्प्रभुता, स्वतन्त्रता र राष्ट्रियता जोगाएर राख्नु पर्छ ।
असंलग्न परराष्ट्र नीति, पञ्चशील सिद्धान्त र शान्तिक्षेत्रअन्तर्गत रही नेपालले प्रगति–उन्नति गर्दै विकासका अनेकौँ गतिविधिहरू सञ्चालन गर्ने प्रचुर सम्भावनाहरू थियो हामीसँग तर हाम्रो नेतृत्वले उहिल्यैदेखि विशेषगरी २०४६ पछि अनेकौँ असमान सन्धि र सम्झौता गर्दै गयो र आफूलाई कमजोर बनाउँदै गयो ।

अहिले आएर केपी ओलीको पालामा राष्ट्र सबैभन्दा कमजोर साबित भयो । राष्ट्र क्षतविक्षत भएको स्थिति छ । कृषिप्रधान देशमा प्रायः सबै कृषि उत्पादनहरूमा भारतसँग पूर्णरूपले भर पर्नु परेको छ । देशमा उद्योग–धन्धा छैनन् । जलविद्युत्को धनी देशमा बल्ल कुलमान घिसिङको आगमनले जनतामा ठूलो आशाको बलियो स्तम्भ बनेको थियो तर उहाँको कार्यकाल पनि पूरा भयो । पर्यटनको ठूलो सम्भावना बोकेको देशमा लुम्बिनीलाई समेत सिंगार्न सकेन हाम्रो नेतृत्वले ।

जति लेखे पनि थोरै हुन्छ हाम्रो देशको कहालीलाग्दो परिस्थितिको बारेमा । राष्ट्रिय हित र स्वार्थको बारेमा पार्टीहरूको बीचमा बहुत कम सहमति हुन सकेका छन् । पार्टीहरूकै बीचमा अन्तरकलह हुन्छ यहाँ । स्वस्थ प्रतिस्पर्धा हुन्न ।

नेपालका भोलिका दिनहरू भयावह छन् । नेपाल संसारका दुईवटा विशाल राष्ट्रहरूका बीचमा अवस्थित छ । नेपाल क्रमशः आफ्नै खुट्टामा आत्मनिर्भरशील हुँदै जानु पर्नेमा परनिर्भरशील हुँदै गयो । र, अहिले आएर राजतन्त्र पनि मासिएको अवस्थामा र बहुदलीय व्यवस्था पनि फलिफाप नभएको अवस्था छ ।

आजको अन्तर्राष्ट्रिय राजनैतिक स्थिति अत्यन्त नाजुक छ । भारत र चीनको सम्बन्ध पनि अत्यन्त बिग्रिएको छ । यस अवस्थामा एमसीसीमार्फत अमेरिका पनि नेपाल प्रवेश गर्न खोज्दैछ । यस्तो अवस्थामा नेपाल भोलिका दिनहरूमा भारत–चीन र अमेरिका बीचको युद्धस्थल नहोला भनेर किटान गर्न सकिन्न ।