एकातिर कोरोनाले विश्व आक्रान्त बनाएको छ । अर्कोतिर दिनहुँ बलात्कारजस्ता जघन्य अपराधहरू चुलिँदै गएको जटिल अवस्था छ । हरेक दिन सुनिने बलत्कारका दर्दनाक समाचारले समाज भयभित बनेको छ ।
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ भनेर नेपालको मुलुकी अपराध संहिता, २०७४ मा उल्लेख गरिएको छ ।
विश्व परिवेशलाई हेर्दा वल्र्ड पपुलेसन रिभ्युका अनुसार सबैभन्दा बढी बलात्कारका घट्ना घट्ने राष्ट्रहरूको सूचीमध्य पहिलो नम्बरमा साउथ अफ्रिका रहेको छ । जहाँ प्रति एक लाखमा १३२.४ बलात्कार हुने गरेको तथ्य आएको छ । छिमेकी राष्ट्र भारतको अवस्था हेर्दा पनि बलात्कार दिनप्रतिदिन बढ्दो छ । हाल भारतमा प्रत्येक २२ मिनेटमा एउटा बलात्कारसम्बन्धी मुद्दा दर्ता हुने तथ्य त्यहाँका सञ्चारमाध्यमहरूले औंल्याएका छन् । भारतमा सन् २०१२ मा भएको निर्भया बलात्कार काण्डको सात वर्षपछि अपराधीलाई फाँसीको सजाय सुनाइएको छ ।
नेपाल पनि बलात्कार, हत्या हिंसाबाट मुक्त हुन सकेको छैन । कोरोनाको सतर्कता अपनाउन गरेको लकडाउन अवधिमा अझै बढी यस्ता घटनाहरू घटिरहेका छन् । लकडाउन समयमा ७३० महिला तथा बालबालिका माथि विभिन्न प्रकारका घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका छन् । बलात्कार जस्तो जघन्य अपराधका घटना घट्नुमा यो समाज अनि मानसिक रूपमा हिस्रंक बनेका पुरुष सत्तासँगै बलात्कार गासिएको कुरालाई नकार्न सकिँदैन । किनकि आफ्नै बाबु, दाजुभाइ, काका, मामा, प्रेमी साथीलगायत परिचित वा अपरिचित ब्यक्तिबाट नै बलात्कारका घटना घटेका देखिन्छन् । छिमेकी पुरुषबाट ४७ प्रतिशत, परिवारभित्रै बाट १७ प्रतिशत, प्रेमी ठानिएका व्यक्तिबाट ९ प्रतिशत, सेवाप्रदायक पुरुषबाट ३ प्रतिशत, शिक्षकबाट ३ प्रतिशत र ३१ अञ्जान व्यक्तिबाट बलात्कार हुने गरेको तथ्य सार्वजनिक भएका छन् ।
त्यसैगरी वैवाहिक बलात्कारका घटनाहरू पनि आउन थालेका छन् । वैवाहिक बलात्कारमा महिलाहरू खुलेर बोल्न सक्दैनन् । अशक्त भएको बेला, मासिकस्राव हुँदा, सुत्केरी भएको अवस्थामा, गर्भवती भएको बेला समेत जबर्जस्ती श्रीमतीको इच्छाविपरीत यौनइच्छा पूरा गर्नेलाई वैवाहिक बलात्कारको रूपमा हेरिएको छ ।
तर आजकल बलात्कारको नाममा केही विकृतिहरू पनि नभित्रिएका होइनन् । सहमतिमै राखिएको सम्बन्धहरूलाई पछि गएर दुई जनाबीच खटपट भएमा बलात्कारको नाम दिने पनि देखिएको छ भने कोहीले पैसाको लागि सम्बन्ध बनाउने र सहमतिका यस्ता सम्बन्धलाई पछि गएर बलात्कारमा लगेर टुंग्याउने खालका छिटफुट घटनाहरू पनि आउने गरेका छन् । नेपालमा लागू भएको नयाँ मुलुकी अपराध ऐन संशोधित अनुसार १० वर्षभन्दा कम उमेरकी बालिका पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्मकैदको व्यवस्था गरेको छ । जन्मकैदको व्यवस्था भएसँगै अब बलात्कारीले २५ वर्ष जेल बस्नु पर्नेछ ।
बलात्कार पछिको हत्यामा जीवित रहँदासम्म जेल बस्नुपर्ने प्रावधान संहिताले गरेको छ । त्यसैगरी जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको अवस्था हेरी सजायको व्यवस्था गरिएको छ । त्यस्तै हाडनाता करणीमा पनि फरकफरक सजाय रहेको छ । यति हुँदा पनि यौन पिपासुले बलात्कारजस्ता घटना घटाइरहँदा बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने आम जनमानसको माग रहेको छ । कानुनी सजाय हुँदाहुँदै पनि दिनहँु बलात्कारका खबर सुन्न बाध्य नेपाली समाज भय र डर– सन्त्रासको स्थितिमा रहेको छ । राजधानीमै भक्तपुर ठिमीस्थित पुरानो ठिमी बस्ने वर्ष २० की युवती चिनेजानेको साथीको योजनामा सामूहिक बलात्कारमा परिन् ।
कैलालीको लम्की चुहा नगरपालिका १ स्थित क्वारेन्टिनमै ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परिन् । पाल्पामा ५९ वर्षीय आफ्नै बाबुबाट ३१ वर्षीया अविवाहित छोरी डर धम्की देखाई पटकपटक बलात्कारमा परिन् । धरानकी १४ वर्षीय छोरी आफ्नै बुवाबाट बलात्कारमा परिन्, चितवनमा १० वर्षकी बालिकालाई एक युवाबाट बलात्कार गरियो । यस्ता केही सार्वजनिक भएको बलात्कारका घटना प्रतिनिधि मात्र हुन् । जघन्य बलात्कारका घटनाहरू घटिरहेका छन् । कतिपय सार्वजनिक भए भने कतिपय गुपचुपमै मिलापत्र गरी दोषी उन्मुक्ति दिइएका पनि छन् भने कतिपय आफ्नै परिवारभित्रका कुरा बाहिर ल्याउँदा इज्जत जान्छ भन्ने डरले चुपचाप सहेर बस्नेहरू पनि यो समाजमा छन् ।
२०७५ साउन १० मा निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो तर आजसम्म अपराधीले सजाय पाएको छैन भने कसरी बलात्कारबाट देशमुक्त हुन सक्छ ? एकातिर सामाजिक मूल्य मान्यता घट्दै गएको छ भने अर्कोतिर सरकार न्याय दिन उदासीन देखिएको अवस्थाले निर्मलाका हाराहारीका किशोरीहरूलगायत अभिभावकहरू त्रसित छन् ।
बलात्कार हुने कारणहरू यही नै भन्ने नभए पनि केही कारक तत्वहरू छन् जस्ले यस किसिमका अपराध घटाउन सहयोग पु¥याएको देखिन्छ । क्रूर, हिंस्रक प्रवृत्तिका व्यक्तिहरू नै यस्ता अपराधमा संलग्न देखिन्छन् । जसले नारीलाई सिर्फ बस्तु सम्झन्छ र उमाथि शक्ति प्रदर्शन गदर्छ । हाम्रो सामाजिक संरचना पुरुष प्रधान समाज हुनु, अशिक्षा र बेरोजगारीजस्ता कारक तत्वहरू मुख्य छँदैछन् । त्योभन्दा पनि कानुनको कार्यान्वयन हुन नसक्दा दण्डहीनता, न्यायमा उदासीनताले गर्दा त्यस्ता व्यक्तिहरूको आपराधिक मनोबल बढेको पाइन्छ । सामाजिक सञ्जालको दुरुपयोग, अश्लील भिडियो, प्रोनोग्राफी आदिले आपराधिक गतिविधिलाई बढावा दिएको छ । त्यस्ता अश्लील सामग्री हेरी बलात्कार गर्ने भिडिओ बनाउने र पछि भिडियो सार्वजनिक गर्छु भनी उल्टै पैसाको माग गर्ने पनि गरेको पाइएको छ ।
अश्लील सामग्री र बलात्कारसँग कुनै सम्बन्ध नभएको केही जानकारहरूले बताए पनि अधिकांश बलात्कारको घटनाक्रमहरू हेर्दा आपराधिक व्यक्ति उत्तेजित भई आवेशमा आई छोरी, बुहारी दिदी बहिनी, आफन्त, परिचित वा अपरिचित केही नहेरी बलात्कार जस्तो जघन्य अपराध गर्न पुग्छन् । त्यसैगरी आफ्ना छोरीहरूप्रति परिवारको बेवास्ता हुनु, अपराधीले देखाएको विभिन्न प्रलोभनमा बालिका फस्नु, अपरिचित व्यक्तिलाई विश्वास गर्नु, यौन शिक्षाको कमी हुनुले पनि समाजमा बलात्कारका घटना बढ्दै गएको पाइन्छ ।
बलात्कारबाट सुरक्षित हुन अपनाउन सकिने उपायहरू
सर्वप्रथम घरपरिवारबाट नै छोरीहरूलाई विभेद होइन समान व्यवहार गर्दै उनीहरूलाई खुलेर बोल्न सक्ने वातावरण सिर्जना गरी बालिकाको मनोभावना बुझ्ने कोसिस गर्नुपर्छ । मौन संस्कृति तोडी आफूमाथि भएका दुव्र्यवहारविरुद्ध बोल्न सक्ने बनाउन परिवारको ठूलो भूमिका रहन्छ । आफ्ना छोरीहरूलाई बढ्दै गरेका हत्या, हिंसा, बलात्कार, यौनदुव्र्यवहार आदिका बारेमा सचेत गराउनु पर्छ । विद्यालयमा यौन शिक्षा अनिवार्य गर्नुपर्ने, समुदाय, घर परिवार र विद्यालयको समन्वयमा छोरी बचाऊ अभियान गर्नु जरुरी छ । विद्यालयले अपराध एवं जोखिम कुराहरूबाट कसरी बच्ने भन्ने सचेतनामूलक कार्यक्रमहरू, नाटक, चलचित्रको निर्माण गरी प्रदर्शन गर्ने गरेमा पनि केही हदसम्म सचेत बन्न सक्छन् । छोरीहरूलाई सानै उमेरदेखि नै आत्मरक्षाका सीपहरू सिकाउने जस्तै तेक्वान्दो, जुडो, कराँतेमा पोख्त बनाउन अति आवश्यक छ । सरकारले अश्लील वेभसाइडहरू बन्द गर्न पनि उत्तिकै जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो दैनिकी देखिनेजस्तै, म यहाँ छु, यो गर्दै छु भन्ने अवस्था बताउने खालका कुराहरू पोस्ट गर्नु हुँदैन । विशेषगरी रातिमा अनि कुनै एकान्त ठाउँमा एक्लै हिँड्नु हुँदैन । हिँड्नै परे ठूलो आवाज आउने सिठी बोकेर हिँड्न उचित हुन्छ । काम गर्दा समूहमा काम गर्ने गर्नुपर्छ । किशोरीहरू स्वयम् पनि सजक र सचेत हुँदै कस्तो पहिरन लगाउने, के खाने, के नखाने, कहाँ जाने, कहाँ नजाने, कस्ता व्यक्तिको संगत गर्ने, यदि आफूमाथि दुव्र्यवहार भइहाल्यो भने के गर्ने भन्ने कुराको जानकारी भएमा पनि घट्ना घट्ने कम सम्भावना रहन्छ । शंकास्पद अपरिचित मान्छेलाई घरमा बोलाउने वा एक्लै छु भन्ने जानकारी नदिनु नै उत्तम हुनेछ । यी त भए हामी स्वयम के गर्न सक्छौ भन्ने कुरा । तर समुदायस्तरमा यौन दुव्र्यवहार, हत्या हिंसाबाट बाँचौँ र बचाउजस्ता सामाजिक जागरण ल्याउने कार्यक्रमहरू सञ्चालन गर्दा पनि केही हदसम्म जागरण आउन सक्दछ । राज्यले कानुनलाई कार्यान्वयन तहमा ल्याई अपराधीलाई दण्ड सजाय दिई पीडितलाई न्याय दिन सक्नु पर्छ । समाजमा उच्छृं्खल गतिविधि फैलाउने खालका सामग्रीहरू प्रवाह नगर्न इन्टरनेट प्रदायकहरूसँग समन्वय गरी राष्ट्रिय नीति बनाई कार्यान्वयनमा ल्याउन जरुरी छ । सरकार हरपल बलात्कार, हत्या हिंसाजस्ता घटनामा संवेदनशील हुन जरुरी छ । न्याय माग्न जाने पहिलो निकाय प्रहरीले पनि उजुरी प्रक्रियामा पीडितलाई सघाउन आवश्यक छ । तर कतिपय घटनामा प्रहरीले नै पीडितले दिएको बयान माथि विश्वास नगरेको पनि पाइएको छ । अन्त्यमा, बलात्कारविरुद्घको अभियानमा सबैजना आफ्नो क्षेत्र र तह र तप्काबाट लागौँ, त्यसमा पनि पुरुष वर्गले विशेष आवाज उठाउन जरुरी छ, सरकार संवेदनशील भई अपराधीलाई दण्डित गरी पीडितलाई न्याय दिन सक्षम भएमा मात्र बलात्कारजस्ता घटना घट्दै जान्छन् । होइन भने समाज भय र आतंकबाट गुज्रिँदै बलात्कार, हत्या हिंसा अझै बढ्ने सम्भावना देखिन्छ ।
प्रतिक्रिया