देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुटको जोखिममा नेकपा

देशान्तर

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ ।

विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो ।

दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।

‘आम कार्यकर्ता र समर्थक पार्टी एकताको पक्षमा छन्, यसका लागि जोडबल गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीसँगको बैठकपछि बालुवाटारबाट बाहिर निस्केका मन्त्री घनश्याम भुसालले भने, ‘सकेसम्म मिलाउने प्रयास हो तर पार्टी फुटाउने प्रयत्न भइरहेको छ र यो काम हामीभित्रैबाट भइरहेको छ, जुन दु:खद छ ।’

विगतमा कम्युनिस्ट पार्टीहरू फुट्दा एकले अर्कालाई लगाउने गरेजस्तै ‘देशी–विदेशी षड्यन्त्र’ को आरोप यस पटक पनि लागिसकेको छ । प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रूपमै आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेल गर्ने आफ्नै पार्टीका नेताहरूसमेत रहेको सार्वजनिक रूपमा भनिसकेका छन् । त्यही पृष्ठभूमिमा नेताहरूबीच चुलिएको तिक्तता विभाजनको दिशातर्फ उन्मुख छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी र आफूलाई हटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै यो काममा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको संकेत गरिसकेका छन् । जुनसुकै स्टेप सामना गर्न आफू तयार रहेको जनाउँदै उनले मन्त्रीहरूलाई अबको आफ्नो बाटो पनि स्पष्ट पार्न सुझाएका छन् । कान्तिपुरमा खबर छ।