देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुटिनकाे कार्यकाल लम्ब्याउन संविधानमा परिमार्जनको प्रस्ताव अनुमोदन

देशान्तर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने लगायत प्रस्ताव लगभग अनुमाेदन भएकाे जनाइएकाे छ । हालै भएको जनमतसङ्ग्रहको अन्तिम चरणमा पुगेको मतगणनाबाट संविधान परिमार्जनको प्रस्ताव अनुमोदन भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

बिबिसीका अनुसार राष्ट्रपति पुटिनको कार्यकाल लम्ब्याउने बाटो खुला गरिदिने लगायतका बुँदा परिमार्जनमा प्रस्तावित थिए । परिमार्जनको प्रस्तावमा भएको चुनावको मतगणना करिब ९० प्रतिशत भइसकेको र तीमध्ये ७७ प्रतिशतले प्रस्तावको पक्षमा मतदान गरेकाे जनाइएकाे छ ।

जनमतका लागि राखिएको प्रस्तावको एउटा मुख्य बुँदामा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमा रहने बाटो खुला गरिदिने प्रस्ताव गरिएको थियो । संविधानमा गरिने परिमार्जनसँगै सन् २०२४ सम्म कार्यकाल बाँकी रहेका ६७ वर्षीय पुटिन त्यसपछि पनि छ-छ वर्षका दुईवटा कार्यकाल राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । अर्थात् चुनावमा उठे र जितेमा उन‍ले सन् २०३६ सम्म रुसको नेतृत्व गर्न सक्छन् ।

तर विपक्षीहरूले संविधान परिमार्जनलाई आजीवन राष्ट्रपति बन्ने पुटिनको दाउपेच भनेका छन् । पुटिनले भने त्यो आरोप अस्वीकार गरेकाे बताइएकाे छ ।