सत्तारुढ नेकपामा गत वैशाखमध्यमा भएको युद्धविराम ठ्याक्कै दुई महिनामा भंग भएको छ । १७ वैशाखदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागे पनि ओलीले आत्मालोचना गरेसँगै युद्धविराम भएको थियो । नेकपाको स्थायी कमिटीको जारी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय मुख्य एजेन्डा बनेको छ ।
स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका छन् भने प्रधानमन्त्रीले सबै निर्णायक संघर्ष गर्ने रणनीति बनाएका छन् । बुधबार नै सचिवालयमार्फत ठोस प्रस्ताव बनाएर निर्णय लिने बहुमत सदस्यहरूको तयारी छ । तर, ओली पनि विकल्पको खोजीमा छन् । उनले स्थायी कमिटी बैठकअघि र पछि राष्ट्रपतिलाई भेटेका छन् । त्यस्तै, बुधबार बिहान ७ बजे उनले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बिहान ११ बजेका लागि सचिवालय बैठक तय भए पनि प्रधानमन्त्री ओली राष्ट्रपतिसँग भेटका लागि शीतलनिवास गएकाले समयमै बैठक सुरु हुन सकेको थिएन । तर, प्रधानमन्त्री आउन ढिला गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए । सुरुमै उनले बैठकको कार्यसूची बदलिएको जानकारी गराएका थिए । आइतबार प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति तथा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको विषय मंगलबारको बैठकको कार्यसूची रहेको प्रचण्डले सुनाएका थिए । त्यसपछि उनले यी दुई विषयमा पहिला आफ्नो धारणा राखेर सचिवालयका अन्य नेतालाई बोल्न समय दिएका थिए । नयाँ पत्रिकामा खबर छ।
प्रतिक्रिया