देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूमिका लेखक गोपीकृष्ण शर्मा

देशान्तर

“भूमिका कृतिको आधारभूमि हो । रचनाको परिवेश र लेखकीय जीवनदृष्टिको प्रक्षेपणका आलोकमा कृतिको मूल्य प्रस्तुत गर्ने चासोसमेत भूमिकामा रहन्छ । कृतिकार र कृतिको सहसम्बन्धलाई पनि भूमिकाले स्पष्ट्याएको हुन्छ”

प्रस्तुत भूमिकाको परिभाषा भूमिका लेखक गोपीकृष्ण शर्माले ज्ञाननिष्ट ज्ञवालीद्वारा लेखिएको “भूमिका सिद्धान्त र ज्ञवालीका भूमिका” (वि.सं. २०६३) कृतिका लागि दिनुभएको थियो, जुन पृष्ठ २ बाट साभार गरिएको हो । त्यसो त गोपीकृष्ण शर्माका बहुआयामिक व्यक्तित्व छन् । यहाँ भूमिका लेखक शर्माका बारेमा मात्र अध्ययन अनुसन्धान गर्नुपर्ने सीमा छ । एक प्रकारको जिम्मेवारी, कर्तव्य र श्रद्धाभाव पनि छ ।

गोपीकृष्ण गुरुको ‘संस्कृत साहित्यको रूपरेखा’ कृति मेरा निम्ति पहिलो गुरु बनेको थियो एम.ए. नेपालीको दोस्रो वर्षमा । पछि पुस्तकका लेखक गुरुसँग भेट्ने सौभाग्य प्रधान सम्पादक भई प्रकाशित सिसार (उपहार) पत्रिकाको सल्लाहकारसमेत हुनुभयो गोपी गुरु । हाल यो पत्रिका १७ अंकसम्म प्रकाशन भइसकेको छ । यसरी गुरुसँगको संगत र सानिध्यले ऊर्जा प्राप्त भयो भइरह्यो । यति भएर पनि उहाँद्वारा भूमिका लेखिएका सम्पूर्ण कृतिहरू फेला पार्न सकिएन, यहाँ जति प्राप्त भए त्यतिभित्रै रहेर संक्षिप्त चर्चा गर्ने जमर्को गरियो ।

भूमिका लेखक गोपीकृष्णलाई अझै पनि साहित्यकार हुनुहुन्छ । उहाँले साहित्यका विविध विधामा योगदान दिनुभएको पाइन्छ । ‘मेरो अमेरिका यात्रा’ (२०६३) शर्माको यात्रा संस्मरणात्मक कृति हो । यसमा उहाँको आफ्नै भूमिका आफ्नै कृतिमा छ । ‘स्वागतद्वारामा उभिएर’ शीर्षकको तीन पृष्ठको भूमिका परिचयात्मक खालको छ । यसमा आफू र आफ्नी श्रीमती अमेरिका यात्रा के कति कारणले गरेको र त्यहाँ कसरी गएको ? आफ्नो कविता संग्रहसमेत तयार भएको, संस्मरणात्मक कृति पहिलो भएको र मूलतः छोरी–ज्वाईं भेट्न गएको जस्ता सन्दर्भहरू राखी भूमिका प्रस्तुत गरिएको छ । अन्य भूमिका लेखकका भूमिका यसमा छैनन् । लेखक स्वागतद्वारामा उभिएर आफ्नो यात्रामा सामेल हुन पाठकलाई अनुरोध गर्नुभएको छ ।

पर्यवेक्षक (२०७५) गोपीकृष्ण शर्माको समालोचना संग्रह हो । यसमा शर्माको दुई पृष्ठको संक्षिप्त भूमिका छ । ‘प्राक्कथन’ शीर्षकको भूमिका व्यक्ति परिचयात्मक र कृति परिचयात्मक छ तर निकै संक्षेपमा राखिएको पाइन्छ’ लेखकको शैक्षिक योग्यता, लेखनको पृष्ठभूमि, समालोचनाका के कस्ता रूप छन् भन्नेबारे आफ्ना कृतिमा आफ्नै दृष्टि रहेका छन् । साथै सबैलाई यथायोग्य कृतज्ञता र धन्यवाद दिइएको छ ।

महिमा (२०७६) गोपीकृष्ण शर्माको खण्डकाव्य कृति हो । यस कृतिमा ‘प्राक्कथन’ शीर्षकको तीन पृष्ठ लामो भूमिका छ । यस भूमिकामा कविताका मान्यता र आचार्य मम्मटले प्रस्तुत गरेको कविताको स्वरूपबारे संस्कृत पद्यसमेत प्रस्तुत गरिएको छ । “कलाको सृष्टि नियमभन्दा भिन्नता, आत्मनिष्ठ स्वतन्त्रता, आक्तादमयता र नव रसात्मक रुचिरता कविताका विशेषता हुन्” भनिएको छ । यसका साथै कृति रचनाका बारे संक्षिप्त संकेत गरिएको छ । यस प्रकार आफ्ना कृतिमा आफंै भूमिका लेख्ने शर्माका अन्य कृतिहरूमा पनि आफैंले आफैं भूमिका लेखेको पाइन्छ । ती कृतिहरूको खोज कार्य गरी आगामी समयमा अध्ययन गर्नुपर्ने र व्यापक निष्कर्ष र सुक्ष्म दृष्टि लगाउनुपर्ने नै छ ।

गोपीकृष्ण शर्माद्वारा भूमिका लेखिएका अन्य स्रष्टाका केही प्राप्त कृतिहरू यस प्रकार छन् :

१. युवराज शर्मा गौतमको ‘तीर्थपर्यटन’ (२०६१) तीर्थ परिचय
२. लुमडी आचार्यको ‘केही स्रष्टा केही सृष्टि (२०६४) समीक्षासंग्रह
३. विष्णुप्रसाद पन्तको ‘अनुभूतिका तरंगहरू (२०६३) सृक्तिसंग्रह
४. ठाकुर शर्मा भण्डारीका कृतिहरू आदि

यी उल्लेखित कृतिका भूमिकाहरू हेर्दा गोपीकृष्ण शर्माको भूमिका लेखक व्यक्तित्वलाई यसरी बुँदागत रूपमा प्रस्तुत गर्न सकिन्छ :

१. शुभकामनात्मक भूमिका लेखक
२. समीक्षात्मक र व्यक्ति परिचयात्मक भूमिकाको समन्वय रूप दिने भूमिका लेखक
३. गद्यपद्य दुबै माध्यमबाट भूमिका लेख्ने भूमिका लेखक
४. साहित्यका अनेक विधामा भूमिका लेख्ने भूमिका लेखक
५. विद्यागत विशिष्टताका आधारमा भाष, भाव र प्रस्तुतिको समन्वय गरी भूमिका लेख्ने भूमिका लेखक

नेपाली साहित्यमा पुस्तकको सरूपमा छापिएको पहिलो भूमिका ‘भानुभक्तकृत भाषा रामायण’ (१९४४ पौष शुक्ल १५ शुक्रबार) मा मोतिराम भट्टद्वारा लेखिएको गद्यपद्य मिश्रित भूमिकालाई मानिएको छ । यस लहरमा त्यहाँदेखि यहाँसम्म आइपुग्दा अनेक प्रकारबाट भूमिका लेख्ने अने प्रकारका भूमिका लेखकहरू देखा परेका छन् । यस लहरमा उल्लेख्य प्रतिभाका रूपमा गोपीकृष्ण शर्माको नाम पनि आउँछ । शर्माको कृतिलाई राम्ररी अध्ययन गरी त्यसको मर्मभित्र पसेर भूमिका लेख्ने प्रवृत्ति पाइन्छ । उहाँका केही भूमिकाहरू समालोचनात्मक बान्कीका पनि पाइन्छन् ।

गोपीकृष्ण शर्माको भूमिका लेखक व्यक्तित्वलाई गहन अध्ययन गर्नका लागि उहाँद्वारा आफ्नै कृतिमा लेखिएका भूमिकाहरू र अन्य लेखकका कृतिमाथि लेखिएका भूमिका गरी दुई भागमा बाँडेर एउटा भूमिका संग्रह नै तयार पारेर प्रकाशन गर्नुपर्ने देखिन्छ । उहाँका समग्र भूमिकाहरू विभिन्न कोणबाट अध्ययन विश्लेषण गरी निष्कर्ष प्रदान गर्न सकिन्छ । यो काम उहाँका प्रिय शिष्य, उत्तराधिकारी, तथा अन्य शुभचिन्तकहरूले गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा गुरुप्रति यी चार पंक्ति समपर्ण गर्दछु ।

यात्रा हो जिन्दगी, हाम्रो यात्रा कहाँ सकिन्छ र ।
यात्रा नै नगरी मान्छे कसरी पूर्ण हुन्छ र ।।
यात्रा जीवनको गर्दा खहरे पनि आउँछ ।
पु¥याएर समुद्रैमा यात्रा पूर्ण गराउँछ ।।