देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले अझै दुःख पाउनु पर्छ

देशान्तर

मेरो लेखको शीर्षक देखेर धेरैलाई अप्रिय लाग्ला तर कुरो अप्रिय सत्य हो । दुःख पाएकै छोराछोरीले अन्ततोगत्वा गरी खान्छन् । संसारको इतिहास र सफल व्यक्तित्वहरूको जीवनीले यही यथार्थलाई पुष्टि गर्छ ।

यद्यपि नेपाल सरकारले अहिले आएर दुईवटा राम्रा निर्णयहरू गर्‍यो । त्यसको हामीले मुक्त कण्ठले स्वागत गर्नै पर्छ । भूमि (राजनैतिक नक्सा) र नागरिकतासम्बन्धी निर्णयहरू अनुकरणीय छन् । तर विदेशी पुरुषको सम्बन्धमा भुसुक्कै बर्सिएछ अथवा त्यति खतरा नभएर होला ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै भूभागहरू हुन् भन्ने कुरामा विवाद छैन । उपलब्ध प्रमाणपत्रहरू, दस्तावेज र ऐतिहासिक तथ्यहरूले पुष्टि गरिसकेको छ । केवल कूटनैतिक तहबाट यसको टुंगो लगाउनु पर्छ । जग्गाको लालपुर्जा भएर मात्र हुन्न परन्तु त्यहाँ हाम्रो शारीरिक उपस्थिति पनि हुनु जरुरी छ । भारतीय टुकडीलाई त्यहाँबाट हटाएर हाम्रो सैन्यबल राख्नुपर्छ । यी क्षेत्रहरू विवादित हैनन परन्तु भारतद्वारा अतिक्रमित हुन् । भारतले मौका छोपी बाटो बनायो र कोभिड— १९ को महामारीका बखत रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपाल भूमिमा निर्मित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरायो । यो सरासरी हेपाहा र दादागिरी प्रवृत्ति हो भारतको । यसको जति निन्दा गरे पनि हुन्छ ।

नागरिकताको सवालमा पनि नेपालको निर्णय ठीक छ । नेपालीहरूले भारतमा गएर सात वर्ष पर्खिनुपर्ने र भारतीय नारीले चैँ भोलिपल्टै नेपाली नागरिक हुन पाउने नियम अनुचितपूर्ण थियो । नेपालले सुरक्षाको दृष्टिकोणले पनि गरमनीति अपनाउनुपर्ने थियो । अतः परिचयपत्रमार्फत सात वर्षको समयसीमा पश्चात नागरिकता– प्राप्तिको परीक्षा लिएर नागरिकता दिनु पर्छ तर राजनैतिक पदमा जानबाट रोक्नु पर्छ । केवल मतदानको राजनैतिक अधिकार मात्रै दिए हुन्छ । नत्र भने सरिता गिरीजस्ता भारतीय एजेन्टहरू सबै पार्टीमा छन् र तिनीहरूले राष्ट्रविरोधी क्रियाकलापहरू गरिनै रहन्छन् ।

आजको यो दुरावस्था र दुर्गतिका लागि हाम्रा राजनैतिक नेताहरू दोषी छन् । सबै पार्टीका नेताहरू प्रतिशतका आधारमा धेरथोर नालायक छन, भ्रष्ट छन्, देशद्रोही छन् । म कसैको नाम उल्लेख गर्न चाहन्न व्यक्तिगत रूपमा तर बदमास छन् । सीमित लोभ–लालच र व्यक्तिगत स्वार्थमा देशको गरिमा र अस्मितालाई बेच्न पछि पर्दैनन् ।

नेपालले आफैं पौरख गर्नुपर्छ । नयाँ पुस्ताले अबको नेपाल हाँक्नुपर्छ । नयाँ सोच, नयाँ चिन्तन, नयाँ दर्शन र आधुनिक प्रविधिबाट देश अघि बढ्नुपर्छ । रोगी र बूढ़ा निकम्मा नेताहरूले शासनसत्ता त्याग्नु पर्छ ।

नेपालले अझै दुःख पाउनुपर्छ । यसोभन्दा धेरैलाई अप्रिय लाग्ला तर कुरो सत्य हो । भारतले फेरि पनि नाकाबन्दी गरेर हामीलाई दुःख दिन सक्छ किनभने उसले हामीलाई परनिर्भर बनाउँदै लगेको छ । हामी भारतप्रति दिनप्रतिदिन बढी निर्भर हुँदै गएका छौँ । हाम्रो उत्पादन हरेक वर्ष घट्दै गएको छ । हाम्रो देशको आर्थिक, सामाजिक र राजनैतिक अस्थिरतामा ऊ रमाउँछ, भारतीय घुसपैठ बढ्दै गएको छ ।

अब नेपालमा पुनर्जागरणको युग सुरु हुनु आवश्यक छ कृषि, उद्योग, पर्यटन, जलविद्युत् र विविध क्षेत्रहरूमा । झोले नेता र जंगलबाट अथवा मान्छेका टाउका काट्ने हिंसावादी नेताहरूबाट हैन तर आधुनिक प्रविधिबाट शिक्षित युवाहरूले देशको नेतृत्व सम्हाल्नु पर्छ । शिक्षा र स्वास्थ्यमा सरकारको राम्रोसँग ध्यान जानु पर्छ ।

केही दिन, केही वर्ष, एउटा पुस्ताले दुःख पाएर भए पनि नेपाललाई स्वतन्त्र बनाउनु पर्छ । नयाँ नेपाल हेरियोस् केवल नारामा सीमित भयो ।
अब हामीलाई परिवर्तित नेपाल चाहिएको छ । सुन्दर, शान्तिपूर्ण र स्वतन्त्र नेपाल चाहिएको छ जहाँ पृथ्वीनारायण शाहको इज्जत होस् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशंसा होस् । साहित्यकार तथा राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्तको परिपालना होस् । कामरेड मदन भण्डारी र जीवराज आश्रितका हत्याराहरू फेला परून् ।

हाम्रा अहिलेका नेताहरू मानसिक रूपमा पनि दरिद्र छन् । यिनीहरू सत्यकुरा बोल्दैनन् पनि । देश हाँक्ने क्षमता र लियाकÞत छैन यिनीहरूमा । केवल झोलेहरूका भरमा, अरूबाट भीख र दान–दातव्यमा देश चलाउन खोज्छन् र त्यो दानको पनि दुरुपयोग गर्छन व्यक्तिगत र पार्टीगत स्वार्थका लागि ।

अतः अब नयाँ युगको सुरुआत हुनु आवश्यक छ । नयाँ नेतृत्व आओस् । भ्रष्ट नेताहरू फालिऊन् । मतदाताहरूले राम्रा जनप्रतिनिधिहरू छानुन् र नेपाली जनताले राहत पाऊन । यही शुभकामना छ ।

(क्यालिफोर्निया निवासी प्रा.डा.दुर्गा दाहाल एक राजनैतिक विश्लेषक र चिन्तक हुन् । सं.)