प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।
पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइरस रिमुभिङ कार्ड ।’
पार्टीले यो कार्ड ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ बाट बुधबार खरिद गरेको हो । ‘केटाकेटी हुँदा धामीले जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे । घाममा नदेखाउनू भन्ने नियम रहेछ । अरूले लगाएको देखेपछि मैले मागेँ । यसले भाइरस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया