अमेरिकामा करिब दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल ‘सीडीसी’ले बास्तविक संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएकाभन्दा दश गुणा बढी हुनसक्ने जनाएको हो ।
सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले लक्षण देखिएकाको मात्रै परीक्षण गरिएकाले बास्तविक संक्रमितको संख्या खुल्न नसकेको बताएका हुन । मार्च, अप्रिल र मे महिनामा महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सकेको उनको भनाइ छ ।
अमेरिकाको कुल जनसंख्याको पाँचदेखि आठ प्रतिशतसम्म जनसंख्या भाइरसको सम्पर्कमा आइसकेको सीडीसीको भनाइ छ । संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला पछिल्लो तथ्यांक सार्वजनिक भएको हो ।
अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ । हालसम्म एक लाख बाइस हजार तीन सय सत्तरी जनाको मृत्यु भइसकेको छ । केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरुमा संक्रमितको संख्या ह्वातै बढेको छ ।
वासिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा एक लाख असी हजारको मृत्यु हुने अनुमान गरेको छ । ९५ प्रतिशत अमेरिकीहरूले सावधानी अपनाए त्यो संख्या एक लाख ४६ हजार मात्र हुने उसको अनुमान छ ।
प्रतिक्रिया