देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालका कोरोना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका

देशान्तर

काठमाडौं । नेपालमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डे सङ्क्रमितको सङ्ख्या बढिरहे पनि कोभिडको सङ्क्रमण समुदायमा फैलिनसकेको बताए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज कोभिड–१९ बारे जानकारी दिँदै डा पाण्डले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताए ।

उनका अनुसार कूल कोभिडका सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताए ।

उनले भने, ‘अहिलेसम्म कोभिड सङ्क्रमितमध्ये सबैजसो व्यक्ति विदेशबाट आएका र आयातीत व्यक्ति पनि धेरैजसो पुरुष हुनुहुन्छ, उहाँहरु काम विशेषले विदेश गएर फर्किएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ ।’

अहिलेसम्मको मृत्युको अवस्थालाई हेर्दा पनि कोभिड-१९ का कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष छन् । उनीहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचापआदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ ।

अहिले दैनिक बढेको कोभिड सङ्क्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि सङ्क्रमितको सङ्ख्या पनि घट्दै जाने उनले बताए । पछिल्लोपटक छदेखि आठ दिनको अवधिमा झण्डै दोब्बर सङ्क्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले सङ्ख्या धेरै देखिएको डा पाण्डेको भनाइ छ ।

महाशाखाले सम्भावित सङ्क्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेका जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको सङ्क्रमण जान नदिन सक्रियरुपमा लागि परेको निर्देशक पाण्डेले बताए ।

थप ४२१ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोभिड-१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज जम्मा ४२१ जनाको पिसिआर पोजेटिभ आएको र त्यसमध्ये ६४ महिला र ३५७ पुरुष रहेको जानकारी दिए । योसँगै हालसम्म नौ हजार २६ जनाको पिसिआर पोजेटिभ आएको छ । तीमध्ये ८२० जना महिला र आठ हजार २०६ जना पुरुष हुनुहुन्छ । हालसम्म देशका ७५ जिल्लामा कोभिड-१९ सङ्क्रमित भेटिएका छन् ।

एक हजार ७७२ डिस्चार्ज
पछिल्लो २४ घण्टामा आठ महिला र १८६ पुरुष गरी कूल १९४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४९ महिला र एक हजार ६२३ पुरुष गरी कूल एक हजार ७७२ पुगेको छ ।

२३ सङ्क्रमितको मृत्यु
आज थप एक व्यक्तिको कोभिड-१९ सङ्क्रमितका कारण मृत्यु भएको छ । योसँगै कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेमा गुल्मी क्षत्रकोट गाउँपालिका-५ मैनडाडाँका ६९ वर्षीया पुरुषको मृत्यु भएको छ । उहाँ प्यारालाइसिस उपचारका लागि भारत गएर फर्किएको र घरमै क्वारेन्टिनमा बसेका थिए ।

पछिल्लो २४ घण्टामा विभिन्न २२ वटा प्रयोगशालामा छ हजार आठ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नौ हजार ८७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार हालसम्म पिसिआर विधिबाट एक लाख ७५ हजार १७३ र आरडिटी विधिबाट दुई लाख ६२ हजार १७४ नमूनाको परीक्षण गरिएको छ । मुलुकभरका क्वारेन्टिनमा ९४ हजार ९२८ जना रहेका छन् । आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार २३१ रहेको छ ।