देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 कविता : ‘बेसारे पानी,काेराेना जानी’ 

देशान्तर

ए नेपाली ! निडर बन है फर्मुला खाेज भा”छ
केपीजीकाे प्रखर मुखले जानियाे भन्नु भा”छ
स्वाट्टै पार्नू सहज घरमै मिल्छ बेसार -पानी
च्वाट्टै हाेला अलिक दिनमा हाच्छ्युँ गर्दा कहानी ।।
*
उच्चा पाखा वनचहुरमा औंषधी नित्य झर्छ
नेपालीले हर पल चिसाे वायुकाे पान गर्छ
हिन्दुस्तानीसित त लडियाे कीट जाबाे कराेना
केपीजीले भनिदिनुभयाे – व्यर्थ राेना र धाेना ।।
*
भाेकै बस्दा अझ गजबले भाग्छ याे व्याधि जान
राेगै लाग्दा पनि नमरिने आप्त वक्तव्य मान-
खाऊ थाेरै टिमुर, धनियाँ, मिर्च,मेथी ,मसाला
केपीजीकाे अनुभव ठुलाे काेरना भागिजाला ।।
*
जङ्गे बाेल्दा पितल पनि त्याे स्वर्णमा हुन्छ गन्ती
ताली ठाेक्छन् तरर तिनकै कार्यकर्ता र मन्त्री
हुक्के-टुक्के-धनपति सबै देश हाँक्ने भएछन्
भाेकानाङ्गा विकल जनता भीख माग्ने भएछन् ।। *
ज्वाला दन्क्याे उदर तलमा राेजगारी हरायाे
भ्रष्टाचारीसित मुलुककाे न्यायकर्ता डरायाे
काेराेनाले अविरल दियाे द्रव्य सन्धान माैका
हानेकै छन् निकटहरुले लाभकाे दाउँ चाैका ।।
*
रित्त्याे क्वारेन्टिन-रसदमा वित्त भण्डार जम्मै
राेगी बढ्ने क्रम छ नतिजा लाजलाग्दाे अचम्मै
सीमा नाघ्याे दस अरबकाे छैन पर्याप्त सेवा
आधा गाेजीतिर त धरियाे खानुपर्ला नि मेवा ।।
*
नाैला आशा मुटुभरि थिए वामसत्ता अगाडि
हाेला सद्दे बहुल मतकाे दम्भ-दुर्भाव छाडी
छाेला उच्चाे गगन, कृतिले सुक्ख अन्माउने याे ।।
हेर्दा-भाेग्दा फगत झुसिलाे ढ्याउ गन्हाउने भाे ।।
*
नारा एकातिर अलपियाे जिन्दगी भाे विलासी
एक्लै खाओे ढलमल गरी राज्यकाे काेष मासी
काेराेनाकाे कहर सजिलै ख्वाक्क थुक्दा गयाे नि
हल्दी -पानी अचुक विधि याे साफ टन्टा भयाे नि ।।