देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुवेतबाट उद्धार गरिएका तीन महिलामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । कुवेतबाट उद्धार गरी स्वदेश फर्काइएका थप तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धारपछि आएका झापाको हल्दीबारीमा बिहीबार दुई जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरू गत जेठ २ गते कुवेतबाट आएका हुन् ।

गत जेठ ३१ गते हल्दीबारीको क्वारेन्टिनमा आएका ती महिलामा संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख इश्वरी पौडेलले जानकारी दिएका छन् । असार २ गते उनीहरूको पिसिआर परीक्षणका लागि नमूना लिइएको थियो । बिहीबार आएको रिपोर्टमा उनीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यी दुई महिलासंगै झापामा कोरोना भाइरस सङ्क्रमितको संख्या १८२ पुगेको छ ।

यस्तै कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी अर्की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट फर्केकी २२ वर्षकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी चितवनकी हुन् ।

कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर्ड गरी पठाई दिएको १०२ नेपालीमध्ये उनी पनि एक हुन् । गत आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा छन् ।