बाजुरा । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन ।
कम्पनीले सार्वजनिक सूचनामार्फत डिपोमा चामल सकिएको भन्दै यही जेठ २१ गतेबाट अर्को सूचना जारी नहुँदासम्म चामल बिक्रीमा रोक लगाएको छ । आर्थिक वर्ष २०७६–७७ मा ढुवानी अनुदानको चामल सात हजार क्विन्टल बिक्री वितरण भइसकेको र कम्पनीको गोदाममा न्यूनतम मौज्दात भएकाले वितरण रोकेको डिपो प्रमुख नवीनप्रसाद आचार्यले बताए ।
विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला खाद्य कम्पनीमा चामल सकिनु बाजुरामा खाद्य सङ्कट शुरुवातको सङ्केत भएको नागरिक समाज बाजुराका संयोजक जनेश भण्डारीको भनाइ छ ।
हातमा पैसा भए पनि डिपोमा चामल नरहेकाले बजारमा महँगो मूल्यमा किनेर खाने गरेको बूढीनन्दाका स्थानीय प्रयागराज उपाध्यायले बताए । लामो समयदेखि जारी लकडाउन केहि खुकुलो भए पनि आर्थिक रुपमा टाट पल्टिएका नागरिकले सहुलियतको चामल किन्न नपाएको उपाध्याय बताउँछन् । जिल्लाका व्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । व्यापारीले एक बोरा चामलमा २ सयदेखि ३ सयसम्म मूल्य बढाएको स्थानीयवासीको भनाइ छ ।
लकडाउन र बर्खा लागेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाए पनि अहिलेसम्म बजार अनुगमन भएको छैन । लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र पारिश्रमिक पनि समयमा नपाएका बेला अझ महङ्गो चामल किनेर खानुपरेको स्थानीयवासीको गुनासो छ ।
लकडाउनको सयमा खाद्यले आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महङ्गो मूल्यको चामल खान बाध्य छन् । एकातिर यो महामारीको समयमा खाद्य सङ्कट, अर्कोतिर कोल्टी क्षेत्रका स्थानीय हाटबजारमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य सामानमा कालोबजारी भएको भए पनि अनुगमनमा कुनै वास्ता नभएको त्यहाँका स्थानीयवासीको गुनासो छ ।
कोल्टीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको डिपो बूढीनन्दा नगरपालिका, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाको सेवा क्षेत्रभित्र पर्ने गरेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको बाजुरा शाखाका प्रमुख मेखराज ओझाले चामल सकिएको र अब बाँकी ६०० क्विन्टल मौज्दात रहेको छ, त्यो पनि केही दिनबाट बिक्री गर्ने योजना रहेको बताए ।
‘चामलको मौज्दात सकिएको बारे जानकारी सुदूरपश्चिम प्रदेश तथा सङ्घीय सरकारलाई जानकारी गराएका छौँ, दुई हजार क्विन्टल थप चामल माग पनि गरेका छौँ, अहिलेसम्म माथिबाट कुनै जानकारी आएको छैन’, ओझाले भने । ‘हामी डिपोमा चामल किन्न जाने गरेका छौँ, त्यहाँ चामल बिक्री नगर्ने बताएपछि फिर्ता हुनु परिरहेको छ’, स्थानीयवासी मालती रोकायाले भनिन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले आफूलाई त्यसबारे कुनै पनि जानकारी नभएको बताए । ‘त्यस्तो नहुनुपर्ने हो, बुझेर समस्या समाधान गर्ने पहल गर्नेछु’, उनले भने । यता मार्तडीमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखामा भने अझै ९०० क्विन्टल चामल मौज्दात रहेको र केही चामल आउँदै गरेको मार्तडी शाखा प्रमुख मेघराज ओझाले बताए ।
प्रतिक्रिया