देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको अस्तित्व र भतुवा मानसिकता

देशान्तर

इतिहासको अत्यन्त लामो, चुनौतीपूर्ण र अविच्छिन्न यात्रा पार गरेर मात्र नेपाल राष्ट्र बनेको हो । यसको निर्माणमा शाहवंशीय शासकहरूको मानसिकता, सैनिक संगठन, सौर्य र निरन्तरको प्रयत्न मुख्य कारकको रूपमा रहेको छ भने नेपाली जनता अर्थात् हाम्रा पुर्खाहरूको अतुलनीय त्याग र बलिदान यसको जगको रूपमा रहेको छ । आफ्नोे शासकको इच्छा र समयको आवश्यकतालाई नैं बुझेर हाम्रा अग्रजहरूले प्राणको बाजी लगाएर देशको रचना गरेका हुन् । कसैको बक्सिस या दानमा प्राप्त देश होइन नेपाल । त्यसैले यो कसैको बिर्ता पनि होइन र निजी प्रभाव क्षेत्र पनि होइन । आज हामी नेपालकोे वर्तमान परिस्थिति, हाम्रा चुनौती र प्रवृत्तिको बारेमा संक्षेपमा चर्चा गरौं ।

यतिबेला हामी दोहोरो संकट झेलिरहेका छौं । एकातिर कोरोनाको विश्वव्यापी महामारी र अर्कातिर छिमेकी देश भारतको सीमा अतिक्रमण । साँच्चै भन्ने हो भने यी संकटहरू हाम्रा लागि इतिहासकै सर्वाधिक ठूला संकटहरू हुन् । कोरोनाको त्रासदीपूर्ण महामारीको हामीलाई पूर्वानुमान थिएन । आकस्मिक रूपमा यसको संकट आइलाग्यो र अहिले हामी त्यसैको चपेटामा छौं । राज्यको लथालिंग अवस्थाका कारण जनता पीडामा छन् र देशमा कहालीलाग्दो परिस्थिति विद्यमान छ । मुलुकका प्रमुख कार्यकारी निजी निवासमा बाँसुरी वादनमा मग्न छन् भने राज्य संयन्त्र देशको ढुकुटी दोहन गर्नमा व्यस्त छ । जनताको स्वास्थ्यमा खुलेआम खेलवाड छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य उच्च जोखिममा छ । यसका लक्षणहरू देखिँदैछन् । विदेशबाट नेपाल फर्कने नेपालीहरूको ताँती बढेको छ भने सरकार सबैको चौतर्फी दबाबका कारण नेपालीहरूलाई स्वदेश फर्कन दिन बाध्य भएको छ । यसबाट हाम्रो जिम्मेवारी बढेको छ र आन्तरिक चुनौतीहरू थपिदिएको छ । नागरिक व्यवस्थापनको यस पेचिलो चुनौतीलाई कुशलतापूर्वक बेहोर्ने तयारी र सामथ्र्य राष्ट्रसँग बिल्कुल देखिँदैन । सरकार देश र जनताप्रति असाध्यै चिन्तित रहेको डिङ हाँकेर थाक्ने लक्षण पटक्कै छैन । यस्तो गैरजिम्मेवार परिस्थितिको कल्पना सायदै कसैले गरेको हुनुपर्छ ।

आखिर यस्तो किन हुन्छ ? यसको रहस्य केहो त ? यस्ता प्रवृत्तिहरू किन देखा पर्दछन् । नेपालकोे भौगोलिक एकीकरणको लामो समयसम्म पनि देशले खास राजनीतिक पद्धति अँगाल्न सकेन । ईश्वरीय अवतारको रूपमा रहेको राजतन्त्र जनताप्रति उत्तरदायी हुन सकेन । तिनै जनताको कर अर्थात् रगत पसिनामा बाँचेको राजतन्त्रको कठोर, स्वार्थी र जनविरोधी चरित्रले नेपाली समाजमा भयावह अवस्था सिर्जना गरेको हो । जनताको शासित हुने नियति र उनीहरूले अनिवार्य रूपमा झेल्नुपर्ने सत्ताको कहरले नेपाली समाजलाई टिठलाग्दो अवस्थामा पु¥याएको हो । राजतन्त्र र त्यसको वरिपरि झुम्मिएका सत्ताका हाँगाबिँगाले आफूलाई अवतार ठानेपछि र जनतालाई याचक वा पूजक बनाएपछि समाजले खुट्टा टेकेर हिँड्ने कसरी ? शक्तिशाली शासकको भक्तिगान उनीहरूको जीवन पद्धति बनाइएपछि आत्मसम्मान र प्रतिष्ठाको रक्षा हुने कसरी ? यस प्रवृत्तिले नेपाली समाजलाई लामो समयसम्म गाँज्यो र जनताको मानसिकता नैं लाचार एवं विकलांग तुल्याइदियो । जनताले आफ्नोपन बिर्सियो । र यस्तो विकृतिपूर्ण अपराध संस्कृति बन्न पुग्यो ।

शाह राजाहरूलाई सत्ताको खोरमा थुनेर शासनमा उदाएका राणाहरूमा त झन् अभाव र गरिबीको पुख्र्यौली विरासत छँदै थियो । दरबारमा सामान्य सिपाहीको रूपमा प्रवेश गरेका कुँवरहरूले सत्ता हत्याएपछि ज्यादतीमा शाहहरूलाई पनि उछिनेर जनतालाई कीरा फट्यांग्रा सरह व्यवहार गरे । दक्षिण एसियामा शासन गरिरहेको इष्ट इन्डिया कम्पनीको आदेशपालकको रूपमा जंगबहादुरले नयाँ अवतार धारण गरे । राज्यलाई आफू र आफ्नो परिवारको स्वार्थ र खुसीमा भरपुर दोहन गरेर जनतालाई नारकीय जीवन जिउन विवश तुल्याए । राणाहरू अंग्रेजलाई आफ्नो आराध्य मान्थे र उनीहरूलाई रिझाउनु परम कर्तव्य ठान्थे । यो नेपाली सामन्तवादको नयाँ संस्करण थियो । घोषित रूपमा औपनिवेशिक शासनको अनुभव नभए पनि राणातन्त्रको उदयपछि नेपाल अंग्रेजहरूको कठपुतली बन्न पुग्यो । र यसले उनीहरूलाई एउटा बलियो संरक्षण प्राप्त भयो ।

बलियोलाई रिझाएर आफ्नो मानो जोगाउने परम्परा त्यसैबेला देखि सुरु भएको हो । यसैगरी याचकलाई शासकले छुट्ट्याइदिएको भाग खाने परिपाटीको पनि त्यसै बेलादेखि सुरुआत भयो । एक प्रकारले समाजमा भतुवा संस्कृतिको विकास भयो । जहाँ खान पाइन्छ, त्यहीँ ढुक्ने अर्थात् जसले खानदिन र पाल्न सक्छ, उसैको गुलामी गर्ने । त्यसयता नेपाली समाजमा भतुवाहरूको बिगबिगी बढ्यो । २००७ सालको परिवर्तनलाई संस्थागत हुन नदिन समेत यस्तै भतुवाहरू कारक थिए । सज्जन र इमानदारभन्दा यिनीहरू शक्तिशाली देखिन थाले । आफ्ना मालिकको शक्ति र त्यसको आडमा जनताको छातीमा ढलिमलि गर्ने यो प्रवृत्ति नैं समकालीन नेपालको लागि भयानक दीर्घ रोगको रूपमा रहेको छ ।

अहिले नेपालको सीमा मिचिएको छ । भारतीय शासकहरू नेपाललाई बलपूर्वक हडप्ने आफ्नो योजना असफल भएपछि तिनै तर्फबाट निचोर्ने कसरतमा लागेकै हुन् । विश्व मानचित्रमा स्वतन्त्र पहिचान बनाएर आफ्नोे टाउको उठाउन लागेको बेलामा बीपी कोइराला जस्तो राष्ट्रवादी नेतालाई थिचेर सिध्याउने प्रपञ्च गरेकै हुन् । यसका लागि नेपाली भतुवाहरू उपयोग भएकै हुन् । के नेपाल स्वतन्त्र देशको रूपमा बाँच्न नपाउने ? के नेपालकोे अस्तित्वलाई नामेट नपार्दासम्म भारतलाई चैनको निद्रा नलाग्ने हो ? आज हाम्रो अगाडि गम्भीर प्रश्न खडा भएको छ । यस्तो विपद्को बेलामा राष्ट्रिय चिन्तन बोक्ने र नेपाललाई माया गर्ने नेपाली जनतालाई यही भतुवाले सताइरहेको छ ।
यस्ता भतुवाहरू सबै राजनीतिक दलमा छन् र आ–आफ्नो मानो पकाइरहेका छन् । यिनीहरूलाई देशको होइन, आफ्नोको मात्र चिन्ता छ । र साँच्चै भन्ने हो भने आफ्नो जागिरको चिन्ता छ । यो प्रवृत्ति राजनीतिक दलहरूमा मात्र होइन, राज्यका सबै अंगमा व्याप्त छ । यसको एउटा दृष्टान्त कर्मचारीतन्त्र हो । यो कतिसम्म उदांगो छ भने परराष्ट्रको विज्ञप्तिमा हस्ताक्षर गर्दैन र बेनामे पर्चा निकालेर राष्ट्रको बेइज्जत गर्छ । योभन्दा निर्वस्त्र हुने अरू कुनै ठाउँ छैन । यस्तै प्रवृत्तिका देश आज थिलथिलो भएर ढलेको छ । जनता निरीह छन् र तमासे हुनु परेको छ ।

गत निर्वाचनमा राष्ट्रवादको डंका पिटेर सत्तारूढ भएको वर्तमान नेकपाको सरकारबाट मुलुकको रक्षा होला भन्ने विश्वास कमैलाई होला । यसलाई पुष्टि गर्ने आधारहरू प्रशस्त छन् । मोदी र ओली एकआपसमा राम्रो मित्रता भएको ब्यक्तिमा पर्दछन् । उनीहरूका बीच बेलाबेलामा टेलिफोन वार्ता भएको सुनिन्छ पनि । तर सीमाजस्तो गम्भीर विषयमा किन हुँदैन वार्ता ? भारतीय मोदीले कुरा गर्न नचाहेका हुन् या प्रम ओलीलाई जाँगर नचलेको हो ? नेपाली जनमानस आश्चर्यचकित छ । कि सरकार तिनै भतुवाहरूको पञ्जामा छ । आज नेपाली जनताले जवाफ खोजिरहेका छन् ।