देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अव्यक्त विचार

देशान्तर

“मानिस र व्यक्तिमा फरक छ । सबै व्यक्ति मानिस हुन सक्छ तर सबै मानिस व्यक्ति हुन सक्तैन ।”

मानिस एउटा समाजमा बस्छ तर ऊ सामाजिक नहुन पनि सक्छ । घर–परिवारमा मात्रै रमाएर बस्ने एकथरी मानिसहरू पनि हुन्छन् । त्यो तिनीहरूको प्रवृत्ति हो । हामीले समाजमा भएका मानिसहरूलाई विभिन्न थरीमा वर्गीकरण गर्न सक्छौँ । त्यो समाज अध्ययन र समाजशास्त्रीहरूको विषय हो । उसले आफ्ना मनका कुराहरू सामाजिक र सार्वजनिक रूपमा कुरा गर्न सक्दैन अथवा चाहँदैन । असुरक्षा महसुस गरेको पनि हुन सक्छ ।

तर समाजमा भएका कतिपय व्यक्तिले समाजमा भएका कुरीति र कुसंगतिलाई व्यक्त गर्छन् । यसरी व्यक्तिगत र सामाजिक तथा व्यक्तिगत कुराहरूलाई निर्भयता र निडरतापूर्वक व्यक्त गर्ने सामाजिक मानिसलाई व्यक्ति भनिन्छ । त्यस्ता व्यक्तिहरूले मनको भावना र विचारहरूलाई व्यक्त नगरी सक्दैनन् । स्वभावैले व्यक्त गर्ने प्रवृत्ति भएकाले तिनीहरूलाई व्यक्ति भनिन्छ । साहित्यकार, संगीतकार, पत्रकार र मानव अधिकारवादीहरू यस वर्गमा पर्दछन् ।

धेरै व्यक्तिहरूले धेरै पटक धेरै ठाउँमा मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताको कुरा गर्दा पनि समाज सुध्रिरहेको छैन किनभने हाम्रो व्यवस्था र समाज सुध्रिएन । प्रशासन र संयन्त्र सुध्रिएन । भलै रुकुममा नवराज विम त्यसरी त्यसबेला साथीहरूलाई लिएर फिल्मी स्टाइलमा जानु हुने थिएन तर त्यसबापत उसलाई बर्बरतापूर्ण ढंगले मार्नु न्यायोचित थिएन । रूपन्देहीमा १३ वर्षकी बालिकाको बलात्कार गरियो । नम्रता र अन्य धेरै बालिकाहरूको सामूहिक बलात्कार पछि हत्या भएका धेरै घटनाहरूको छानबिन भएन, हुँदैन ।

हाम्रा समाजमा अद्यपरिमित धेरै कुसंस्कार र कुरीतिहरू छन् जसलाई हामीले निर्मूल गर्नुपर्छ सबैले मिलेर । सबैभन्दा पहिले सरकारका तर्फबाट अगुवाइ हुनुपर्छ जसमा जनताको साथ, सहयोग र समर्थन हुनु जरुरी छ । सरकारले गर्न सकेन अथवा गर्न चाहेन भने व्यक्तिहरूले आवाज उठाउनु पर्छ ।

सरकार हाम्रो जनमुखी छैन । लापरवाह छ, भ्रष्टाचारी छ । जनता पनि प्रायशः सोही किसिमका छन् । अतः समाजका जिम्मेवार व्यक्तिहरूले आफ्ना मनका कुराहरू व्यक्त गरेनन् भने समाज कसरी अघि बढछ, विकसित हुन्छ ।
यो एउटा गम्भीर चिन्ता र चिन्तनको विषय हो ।