देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कथा : द्वन्द्वको चर

देशान्तर

महिना बढी भयो होला कमलराजको पढाइमा त्यतिधेर रुचि छैन । घर काम गर्नु त परै जाओस् सरले कक्षामा पढाउँदा पनि एकोहोरो टोलाइरहन्छ । पाठको अन्त्यसँगै देवीरमण सरले ठूलो स्वरमा सबैलाई एकैपटक सोध्नुहुन्छ ? विद्यार्थी भाइबहिनीहरू तिमीहरूले बुझ्यौ यस कथाको सन्देश । बुझ्यौ सर ! कक्षा भित्रको सबै साथीहरूबाट एकैपटक निस्किएको आवाजले कमलराज झसक्क हुन्छ । उसको मन मस्तिष्क कहीँ कतै डुलिरहेको देवीरमणले पत्ता पाइहाले । उसो त उनी अलि कडा मिजास र आफ्नो विषयमा पोख्त भएको घमण्ड देखाइरहन्थे । पालेदाइले बजाएको घण्टीसँगै देवीरमण सर अफिसतर्फ लाग्नुहुन्छ । साथीभाइका बीच खासखुस सुरु हुन्छ । खै, यो पढेर पनि के गर्नु ? धेरै पढेका र बुझेकाहरूले पनि त युद्ध गर्नुपर्छ भन्दै हिँड्दैछन् कमलराजले शिक्षाप्रतिको आफ्नो वितृष्णा र युद्धसँगको मोह साथीहरूलाई राख्दछ । यिनीहरूको संवादलाई सुनिरहेकी शकुन्तलाले उत्तर दिन्छे, खुब असल कुरा गर्दैछौ । पढाइ छोडेर युद्धमा लाग्ने रे ? देखासिकी र हचुवाको भरमा कुरै नबुझी हाम्फाल्दा डुबिएला नि फेरि ? शिक्षाभन्दा ठूलो सहारा जीवनमा केही हुँदैन, पहिले स्कुले जीवन पार गर्नु कमलराज दाइ । ह्या, काली अलि हेपेर र मायालु शब्दमा तिमीले कुरा नै बुझिनौ, त्यसै नबुझी प्रतिवाद गछ्र्यौ, शकुन्तला आफूभन्दा दुईतीन वर्ष कान्छी उमेरको बालसखा र स्कुले कक्षाका साथी थिइन् कमलराजको ।

मैले भनेको होइन नि, आफ्नो युद्धप्रतिको मोहलाई ढाकछोप गर्न र यो संवाद सरहरू र अरू साथीहरू कसैले पनि थाहा नपाओस् भनेर कमलराज अलि हतास भय जस्तोगरी प्रसंगलाई परिवर्तन गर्न खोज्छ । ए साँच्ची, गुणचन्द्र सरको कुरा के हो ? गुणचन्द्र सर केही महिना पहिले मात्र युद्धमा होमिएका थिए । उनी साँझ बिहान पारेर गाउँघरमा लुकिछिपी आफूसँगै केही मानिसहरू समेत लिएर युद्धमा लाग्न सबैलाई करकाप गर्दै हिँड्न थालेका छन् । कमलराजले गुणचन्द्र सरलाई भेट्ने गरेझै आफ्नो कुरालाई तोडमोड गर्‍यो । एकआपसमा मुखामुखको कुराकानी चलिरहेकै बेला कलावती मिस हातमा चक र डस्टर लिएर कक्षामा प्रवेश गर्नुहुन्छ । सबै छात्रछात्राहरू मिसलाई देख्नासाथ सद्भावसहित आफ्नो ठाउँबाट उठेर स्वागत गर्दछन् । गुड मर्निङ मिस । सबै विद्यार्थी भाइबहिनीहरू आआफ्नो सिटमा बस्नुस्, मिसको सुरिलो स्वर झल्कने मिठाससहितको शब्द निस्कन्छ । उमेरले आफूभन्दा त्यही ४/५ वर्ष जेठी हुनुहुन्छ होला । पढाइमा गहिरो लगावले गर्दा यही विद्यालयबाट राम्रो अंकमा माध्यमिक तह पास गरेर र सहरको कलेजबाट स्नातक तह पूरा गरी पुनः आफू पढेको गाउँको स्कुलको सेवामा फर्किनुभयो । म ५/६ कक्षामा पढ्दा कलावती मिस १० कक्षामा हुनुहुन्थ्यो । गाउँ पनि एउटै भएकोले स्कुल आउँजाउँ गर्दा बाटोमा होस् या घरको काम, खेलमैदान अनि खेतीपाती र चरनहरूमा सँगै खेलेको सम्झनाका तरंगहरू कमलराजको मानसपटलमा उर्लिएर आउँछ । खोइ मैले त कहिले होला यो विद्यालय छोड्ने । माध्यमिक तहको शिक्षा नै नसकिने पो हो कि ? आफैंले आफंैलाई प्रश्न गर्छ । अग्लो र पातलो गोरो शरीर अनि उज्यालो परेको लाम्चो अनुहार र मनमोहक आँखाका परेलाहरू साथै तृष्ण र सुरिलो स्वर कलावति मिसका व्यक्तित्व र विशेषता नै थिए । कक्षामा पढाउँदा बुझेनौं भन्यो भने मुसुक्क हाँस्दा देखिएका लामबद्ध ती दन्तहरूले उनको भरिएको वयस्कको बास्नाहरूलाई छरिरहेको अनुभूत गराउँथ्यो । ओहो ! कस्तो सुन्दर अनुहारसँगै ज्ञान र क्षमताले भरिपूर्ण जवानी, भगवान्ले नै कुदेको जस्तो देखिने बनारसे साडीमा सजिएको मोती जस्तै टल्कने र चमक दिने लामो कपालमा लुकिरहेको लजालु शरीर । उमेर छिप्पिएर पनि हाइस्कुल पढ्दै गरेका कमलराजले कलावती मिसको हाउभाउ हेर्दै प्रेमप्रतिको आफ्नो आकर्षण र अभिरुचि मनमनै कथिरहन्छ । ल भन त विद्यार्थी भाइबहिनीहरू हिजो हामीले कहाँसम्म पढ्यौ, वयस्कको पालुवा पलाएर धोद्रिएको स्वर तान्दै शकुन्तला भन्छे । प्रजनन स्वास्थ्य शिक्षाको बारेमा पढ्दै थियौ मिस । कलावती मिस विज्ञान विषयकी शिक्षिका हुनुहुन्थ्यो । प्रजनन स्वास्थ्य प्रणालीका बारेमा निःसंकोच र बिना हिच्किचावट उनी यसरी प्रस्तुत भइन् कि निःसन्देह उनको ज्ञानको ज्योतिलाई कुनै पनि चिजले छेक्नै सक्दैन । उदाहरण र हातको भाऊसँगै बीचबीचमा प्रश्नहरू सोध्ने र विद्यार्थीहरूलाई आफूले अध्यापन गराएको विषयमा पोख्त बनाउने उनको पहिलो लक्ष्य नै हुन्थ्यो ।

४ बजेको स्कुल छुट्टीसँगै कमलराज घरतिर लाग्दछ । अलिपर पसलमा बुवाले दिएको पैसाबाट घरायसी केही सामानहरू किन्छ र ऊ फेरि आफ्नै गन्तव्यलाई पछ्याउँछ । स्कुल र घरको दूरी निकै लामो भएकोले उनीहरूलाई बिहान बेलुका आउँजाउँ भने निकै कठिनपूर्ण थियो । अघि पसलमा सामानहरू किन्न रोकिँदा कलावती मिस र शकुन्तलाले उसलाई छोडेका थिए । अघिअघि दुईजना हिँडिरहेको देखेपछि दाहिने हातको सहारा लिएर मुखबाट सिठ्ठी फुक्दै आवाज निकाल्छ । खै के कुरामा हो, कलावती मिस र शकुन्तला गफिएकाले उसले बजाएको सिठ्ठीमा उनीहरूको ध्यान पुग्दैन । पसिना निकाल्दै एक हातले स्कुले झोला र अर्को हातले पसलबाट किनेको सामान समात्दै छिटोछिटो उनीहरूलाई भेट्टाउन दगुर्छ कमलराज । यता कलावती मिस र शकुन्तलालाई भने उनी पछि आइरहेको पत्तै थिएन, आज कक्षामा भएको संवादलाई कलावती मिस समक्ष सविस्तार गर्दै रहिछिन् शकुन्तला । फाँटको बीचमा वर्षात्को पानीले छिपछिप परेको हिलो बाटोलाई छल्दै सँगै बनाइएको पर्खालबाट डराइडराई विस्तारै पाइलाहरू चाल्दै गर्दा उनीहरूलाई भेट्दछ कमलराज । ए तिमी त पछाडि पो रहेछौ । अघिमात्र शकुन्तलाले कलावती मिसलाई भनेको कुरा कमलराजले सुन्यो कि सुनेन होला भनेर लख काट्दै सोध्छिन् । हो नि पसलमा रोकिएको थिए, यी यही सामानहरू किन्न लाग्दा पछि परे कमलराजले आफ्नो वास्तविकतालाई ओकली हाले । आफूहरूसँग केही रुपैयाँ हुँदा पसलबाट खानेकुराहरू किनेर बाँडीचुँडी खाने पुरानै चलन रहेछ शकुन्तला र कमलराजबीच । खोइ, दुकानबाट हामीलाई पनि केही खानेचिज ल्याउनु भएन ? कस्तो हुनुहुन्छ वाई ! आफूमात्र खाने । हेर न च्याखुरी कलावती मिसकै अगाडि कमलराजको शकुन्तलाप्रतिको प्रेममोह र भाव पोखियो । आफूले थाहा नपाएझंै गरी कलावती मिसले त्यसलाई टार्नु भयो । मनकारी छन् कमलराज ल्याएका होलान् नि, मसँगै भएकाले शरमले तिमीलाई नदिएको होलान् ? उहाँले आशाको प्रश्न गर्नुहुन्छ ।

कमलराजप्रतिको रोजाइ शकुन्तलामा पुरानै भइसकेको थियो । शकुन्तला हाइस्कुलको पढाइ सकेर कमलराजसँगै सहर जाने अनि सहरमै केही गर्नुपर्छ भन्दै विभिन्न योजनाहरू बनाउने गर्दथिन् । बा ! कतै अरू कसैको फन्दामा र अल्लारे सोचमा परेर युद्धमा त होमिन्नन् कमलराज । यस विषयले उनको मनमा बडो चिन्ता हुने गर्दथ्यो । स्कुलको वार्षिकोत्सव कार्यक्रम र दसैंतिहारको गाउँघरमा हुने रमझम तथा सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो कला देखाउने गर्दथे कमलराज । जसरी पनि उनलाई आफ्नै बाटोमा हिँडाइ उज्ज्वल भविष्य बनाउन सधैं तल्लीन थिइन् शकुन्तला । त्यसैले उनले आज कक्षामा भएको कुराकानी कलावती मिसलाई साँटेकी थिइन् ।

बडादसंैको स्वागतका लागि गाउँलेहरूले चम्काएका ठूलो पीपलको रूख, त्यसमा बिस्तरा जस्तै बिछ्याइएका ढुंगाहरू र सिरसिर बतास चलिरहेको गोधूलि साँझ, लु आधाबाटो त काटियो अब यही चौतारीमा केही खाउँ कमलराजले कलावती मिस र शकुन्तलालाई एकैपटक अनुरोध ग¥यो । हामीसँग त केही छैन, के खाने दुवैले एकै स्वर गरे । मैले ल्याएको छु नि हो खानेकुरा त कमलराजले खुसी व्यक्त गर्दै भन्यो । चौतारामा रहेको फराकिलो ढुंगालाई बीच पार्दै तीनैजना बस्दछन् । गलामा पहिरिएको सल निकाल्दै शकुन्तला भन्छिन् ल यसैमा राखौ खानेकुराहरू । कमलराजले पसलबाट खाजाको निम्ति माना डेढ चिउरा र पाँच मुठ्ठी जति दालमोठ अनि तीन थान खाजा बिस्कुटको पोका ल्याएको रहेछ । बिछ्याइएको सलमा शकुन्तलाको मुलाइम हातले चिउरा र दालमोठलाई मोल्दै गर्दा कलावती मिसले निकै गहिरिएर कमलराजतिर हेरिन् । गाउँले भाइ, घरछिमेकी र अहिले मेरो विद्यार्थी साथै हुर्कंदै गरेको देशको भविष्य र नेपाल आमाको सन्तान । अघि शकुन्तलाले भनेझै उनमा युद्धप्रतिको मोहको छनक कत्तिको रहेछ, गम्भीर भएर सोचिन् । पढाइमा कमजोर अनि घरको अवस्था र अहिलेको गाउँ समाजको परिवेश । खोइ, अडिएला जस्तो त देखिँदैनन् तर पनि मैले कोसिस भने गर्नुप¥यो । सहरमा कलेज पढ्न बस्दा बुझेको देश र विदेशका राजनीतिसँगै यसभित्र हुने अदृश्य दृश्यहरूलाई राम्ररी केलाएकी उनलाई कमलराजकै अगाडि मन बुझ्न भने सकस भइरहेको थियो । ल पहिले खाजा खाउँ अनि गफ गरौंला ! शकुन्तलाले कलावती मिस र कमलराजलाई भनिन् । मनमनै कुरा कोट्याउ कि नाइँ खेलाउँदै गर्दा शकुन्तलाको मुखबाट झ्वाट्ट आवाज फुत्किन्छ, ए साँची गुणचन्द्र सर किन युद्धमा होमिएका होलान् ? के नपुग्दो थियो र है ? निम्न माध्यमिक तह स्तरीय शिक्षकको स्थायी जागिर थियो । बेसीको खेतमा पनि उब्जनी राम्रै हुन्थ्यो । बाउबाजेको पालादेखिकै गाउँमा आसामी लगाउँथे, खै कसकसको फन्दामा परे कुन्नि ? गाउँकै शिक्षित कहलिएका र समाज बुझेका मानिसहरूले यसरी गलत बाटो हिँडेको मलाई त पटक्कै मन परेन । कमलराजलाई डर देखाउने गरी एकोहोरो बोलिराख्छे शकुन्तला । किन हुन्थ्यो नि देशले परिवर्तन चाहेको छ । अनि त्यसका लागि देशले बलिदान खोजेको छ, त्यसैले होला ? कमलराजले युद्धप्रतिको आफ्नो मोह र आशक्तिलाई फेरि उजागर ग¥यो । देश र समाज सधैं परिवर्तनशील हुन्छ । एउटै अबस्थामा समाज कहिल्यै अगाडि जान सक्दैन । तर, हत्या र हिंसासहित गरिने युद्धले समाजलाई उल्टो बाटोमा हिँडाउँछ । भाइअंशी लाग्दैन, चोरले पनि चोर्न सक्दैन, न त आगोले नै डढाउन सक्छ । जति बाँड्यो त्यति बढ्छ शिक्षाको ज्ञानको ज्योति, शकुन्तला अघि भएको संवादको छनकै नदिई कलावती मिसले कमलराजलाई सम्झाएसरि भनिन् । गुणचन्द्र सरले आफूलाई भेट्न चाहेको खबर अस्तिमात्र खोजप्रसादमार्फत आएको जानकारी कमलराजले शकुन्तला र कलावती मिसलाई यही चौतारीमा गराए ।

दसैंमा भएको छुट्टीको सदुपयोग गर्दै खहरेघाटमा रहेको पानीको घट्टामा केही पाथी तोरी पिसेर कमलराज बेंसीबाट गाउँतिर उकालो लाग्दै थिए । झम्के साँझ परेको हुँदो हो । चराहरू बासका लागि चिर्बिराइरहेका सुनिन्थ्यो । पारि पाखामा गुञ्जिएको झ्याउँकिरीको आवाज रोधीघरमा बज्ने धुनजस्तै थियो । ठाडो उकाली चढी सकिएपछि त्यहाँ बनाइएको छाप्रोमा इच्छाराम दाइले थाप्नु भएको सानो अस्थायी हिउँदे पसलको अगाडि तोरीको तेल र पिनाको झोला राख्दै पानी मागेर दुई घुँड्को मात्र पिएको थियो । एक हुल युवायुवतीका साथ गुणचन्द्र सर यतै आउँदै गरेको कमलराजले देखे । ल हेर कहाँ गएर आएको यतिबेला ? गुणचन्द्र सरले सोध्नुभो, कमलराजले आफू यहाँ हुनुको कारण बताए । खोजप्रसादजीले तिमीलाई केही खबर दिनुभयो त ? गुणचन्द्र सरले सोध्नुभयो । पाएको छु सर, भेटौला नि, म सधंैजसो गाउँघर र स्कुलतिर नै त रहन्छु । हुन्छ, दसैं राम्रोसँग मनाउ, घरपरिवारलाई मैले सम्झिएको छ भन्नु, दसैंलगत्तै तिमीलाई भेट्छु नि है । कुराकानीको क्रममै गुणचन्द्र सरसँगै आएका युवायुवतीहरूलाई निकै नजिकबाट निहाल्न खोज्दछन् कमलराज । कस्तो समर्पण र त्यागको उम्रिएको होला यिनीहरूमा, जीवनका सबै आफ्ना खुसीलाई एकातिर पन्छाएर ती कलिला ओठहरू र कोमल अनुहारहरू लिएर दिनदुःखी र गरिबहरूको भलोमा हिँडेका रे ? यिनको सपनाहरू एकदिन विपनामा परिणत हुन्छ त ? बिचरा, यिनीहरू त निर्दोष होलान्, के सपना हुन्थ्यो र ? त्यत्ति बुझिसकेका जस्ता पनि देखिँदैनन् । ओठमा जुँगाको रेखी अनि शरीरबाटै झल्कने जवानी नदेखिएका युवायुवतीहरूको भविष्य लुटिएको त होइन ? कसैले आफ्नो चाहना र स्वार्थपूर्णको लागि पो हिँडाएको हो कि ? भो उनीहरू नै जानुन् मेरो यो तर्कले केही गर्दैन । कमलराज युद्धमा होमिएका मानिसहरूप्रति शंकाको घेरा कोर्न पुग्दछ । दसैंको टीकाको पर्सिपल्ट पिँढीको फलैंचामा ८४ काटेका ससुरा र सासूको हातबाट टीका थाप्न आएका जेठीदिदी दालचिनीका श्रीमान् आकाशजंग भिनाजुसँग भलाकुसारी गर्दै मच्चिँदै गर्दा दलबलसहित गुणचन्द्र सरको पुनः कमलराजको घरमा आगमन हुन्छ ।

कमलराज कस्तो भयो तिम्रो दसैं, बा आमा सबै सच्चै हुनुहुन्छ ? गाह्रोपर्‍यो नि उहाँलाई त चिन्न ? नयाँ मानिसका बारे गम्भीर चासोका साथ सोध्दछन् गुणचन्द्र सर । दालचिनीको सानैमा गाउँबाट निकै टाढा बिहे भएकाले उनको श्रीमान्लाई धेरैले चिन्दैनथे । यी भिनाजु उति सारो ससुराल पनि आउँने गर्दैनथिए ! उनको नोकरीको प्रकृति पनि त्यस्तै थियो, (सुरक्षा फौजको अफिसर थिए) गुणचन्द्र सरलाई भिनाजुको बारेमा सबै कुराको जानाकारी पो छ कि ? भनेर कमलराज आफैं हच्किन्छ । सरले चिन्नु भएन दालचिनी दिदीको श्रीमान् आकाशजंग भिनाजु नि, मुग्लान बस्नुहुन्छ । वर्षहरूको फड्को मार्दै चार/पाँच वर्षमा मात्र दसैं मनाउन भनेर पाल्नुहुन्छ, यसपालि पालो परेकाले बा, आमाको हातको टीका थाप्न आउनु भएको नि, कमलराजले गुणचन्द्र सरलाई भिनाजुको बारेमा बेलबिस्तार लगायौं, (कमलराजलाई युद्धमा लैजाने ध्यानले गुणचन्द्रको त्यो कुरालाई त्यति सारो गहिरिएनन्) ए, बल्ल चिने ज्वाईंसाप अभिवादन गरे । एकैछिनको आदर सत्कारपछि गुणचन्द्र सर कमलराजसँग आफ्ना कुरा राख्न कोसिस गर्दछन् । खोजप्रसादजीसँग पठाएको खबर र अस्ति तल इच्छारामको पसलमा भेट्दा भनेको कुरालाई सम्झँदै उनी भन्छन् । तिमीसँग एकछिन कुरा गरौं अनि हामी फेरि बासको लागि निकै टाढा माझगाउँ पुग्नुछ । धन्सार पछाडि रहेको गाईको गोठ छेउमै गुणचन्द्र सरले कमलराजलाई अब तिमी पनि युद्धमा लाग्नुपर्छ, छोडिदेऊ पढाइसडाई, यस्तो बुर्जुवा शिक्षाले केही हुँदैन, जनवादी क्रान्तिपछिको शिक्षा पढ्ने हो । मेरो सर्टिफिकेटले के गर्‍यो खै ? म नबुझेर लागेको हुँ र युद्धमा ? हेर, कमलराज श्रमजीवी, गरिब निमुखा र अन्याय र अत्याचारमा बाँच्न विवश सर्वहारावर्गको उत्थानमा लाग्नुपर्छ ? उनीहरूको आवाजहरूलाई तिमी र मैले बोक्नुपर्छ ? यिनीहरूको निदाउँरो अनुहारमा खुसी र आशाको किरण तिमी हामीजस्तै योद्धाहरूले छर्ने हो । हामीले जितेका दिन यी सारा दुःखहरू समाप्त भएर सुख र आनन्दले भरिएको बिहानीलाई सबैले चुम्ने हो । किन्तु परन्तु अब ढिलो गर्नुहुन्न, युद्धको रथलाई समात्नु पर्दछ तिमीले । युद्धमा लाग्न प्रेरित गर्दै बोलिरहन्छन् गुणचन्द्र सर । मैले तपाईंको आशय बुझे सर, कमसेकम दस पास त गरौं न है ! आउँदो मंसिरमा प्रवेशिका परीक्षा दिएपछि माघमा एसएलसी दिन्छु र सरले भनेझै गरिब र निमुखाको उत्थानको निम्ति मेरो बाँकी जीवन सुम्पन्छु । कमलराजले दस कक्षा पास गर्ने विनम्र अनुरोध गर्छ गुणचन्द्र सरलाई । साथै यही बीचमा शकुन्तलालाई यो कुराको जानकारी गराए भने उनीले पनि केही जुक्ति पो निकाल्छिन् कि ? (कमलराज मनमनै कथ्छ) तत्काल युद्धमा नजानलाई अहिले गुणचन्द्र सरसँग बहानाबाजी गर्दैछन् कमलराज । उनी शकुन्तलासँग झ्यांगिएको आफ्नो प्रेम र स्नेहलाई फुलाउन चाहन्छन् ।

दसैंको छुट्टी सकिएसँगै विद्यालयको नियमित पठनपाठन सुरु हुन्छ । गाउँ माथि डाँडाको चौतारीमा कलावती मिसलाई पर्खिएर बसेकी शकुन्तला मलिन र उदास मानसिकतामा टोलाइरहेकी हुन्छे । यसैपालि दसैंमा किनेको फिक्का गुलाबी रंगको सिफनको बुट्टेसाडी, गाडा रातो देखिने ब्लाउज र आँखा नै लोभ्याउँने जाली चप्पल फड्कार्दै मिस आफैंतिर आउँदै हुनुहुन्छ । अव्यक्त उनको मुहारको सौन्दर्यताले धर्तीलाई नै लाज छोप्न बाध्य पारेको हुँदो हो । स्वर्गकी परी जस्तै सुन्दरता अनि शालीनताले बलेको व्यक्तित्व, शिक्षाको ज्ञान र ज्योतिले सिञ्चित यो यौबन कसका लागि साँचेकी होलिन् । कलावती मिसतिर हेर्दै मनमा यस्तै तरंगहरू गर्छिन् शकुन्तला । (हुर्किएको र पढाइ सकेको एक शिक्षित नारी किन विवाहबन्धनमा नबाँंधिएकी होलिन् आफैंलाई सोध्छिन् शकुन्तला) धेरैबेर मलाई पर्खियौ हो ? स्कुल आउने तयारी त चाँडै नै थालेकी हुँ, यो लाज ढाक्ने कपडा लगाउन निकै समय लाग्यो, नयाँ कपडासँगै सजिएको यौवनका स्वरहरू बाहिर निकाल्दै शकुन्तलालाई भन्नुहुन्छ कलावती मिस । लामो समय त भएको छैन, त्यस्तै ८/१० मिनेट मात्र बिताए होला ? परबाट नै मिस आउँदै गरेको देखिकी शकुन्तलाले कलावती मिसले आफूलाई पर्खिरहेको नदेखेकोमा खुसी हुन्छे । हामी यहाँ कमलराजलाई पनि पर्खने कि जाने ? कलावती मिसले शकुन्तलालाई सोध्छिन् । मिस त्यो दिन अब फर्किएला आउँला र ? मधुर स्वरमा शकुन्तलाले प्रश्न गर्दछिन् । के भनेको ? के भयो र फेरि ? कलावती मिसको मनमा लागेको शंका एकैपटक पोखिन्छ । जे नहुनु थियो त्यही भयो नि मिस । दसैंको छुट्टी बीचमै गुणचन्द्र सर कमलराजको घरमा आएर फकाइफुलाई युद्धमा लगेछन् । मेरो माया र प्रेमको सारथि र बालसखासँगै खेली, पढी हुर्कदै थियौ । खराब मानिस र पराइको आँखा लाग्यो । बेलाबेलामा गुणचन्द्र सरसँग भेट हुने गरेको कुरा त मलाई पनि सुनाउनु हुन्थ्यो । तर तिमीलाई ढाँटेर र छोडेर यिनीहरूको पछि कुनै पनि हालतमा म जाँदै जान्नँ । बरु स्कुल सकिनासाथ सहरतिर जाऊ है भन्ने गर्नुहुन्थ्यो । निराशवाणीमा कलावती मिसलाई आफ्नो वेदना पोख्छिन् शकुन्तला ।

पढाइमा कमजोर र सीधा मिजासको कमलराज युद्धमा मोडिएको आफ्नो यौवनको जीवनको पथलाई बुझ्ने कोसिस गर्छ । जुनेली रातहरूमा शकुन्तलासँगको आफ्नो बाध्यात्मक बिछोडलाई सम्झँदै दयाको सागरमा पौडी खेल्दछ । अनि एकसुरमा कल्पिन्छ । एकदिन त तिमीसँगै हुन्छु शकुन्तला । कमान्डरहरूले दिने तालिम र प्रशिक्षणबाट ऊ आफुलाई केही बुझेको र खारिएको जस्तो अनुभूत गर्दछ । युद्धको मोर्चामा अंग्रपक्तिमा रहेर काम गर्छ । बेलाबखत गुणचन्द्र सरले उनीसँग भेट्दा भन्ने गर्दथे, कमलराज तिम्रो कार्यकुशलता र क्षमताको कमरेडहरूले बडा प्रशंसा गरेका छन् है राम्रो गर्दै गर, तिमी कमान्डर बन्दैछौ । सुन्दा, हौसिए पनि उनी मनमा प्रसन्न हुन्थे । हुन्छ सर तपाईंको आज्ञालाई शिरोधर गर्छु । आफ्नो आधार इलाकाको कमान्डर भएपछि कमलराजले आफ्नो गतिलाई बढावा दिन्छ । फरक विचार राख्नेहरूलाई आफूहरूको प्रगतिको तगारो सम्झिन्छ । गाउँमा बिहान, बेलुका एक छाक दूध र भात खानेहरूलाई सामन्ती देख्छ । गाउँका विद्यालय र शिक्षकहरूलाई बुर्जुबा शिक्षाको प्रतीक मान्छ । सेना र पुलिसमा जागिर खाएका गाउँका दाजुभाइहरूलाई कर्मशत्रु ठान्दछ । गाउँका समाजसेवीहरूलाई विकासको बाधक सोच्दछ । यिनै कुराहरूलाई आधार र आदर्शको बिम्ब स्विकारी सबैका विरुद्ध चेतावनीको धावा बोल्छ । समाजको रीतिथिति, परम्परा, चाडबाड र प्रचलनलाई दलाल, नोकरशाही र पुँजीबादको बिल्ला भिराउँछ । आफूले बुझेको ज्ञान होइन, अरूले बोल्न लगाएको र सिकाएको भाषालाई आफ्नो ठानी ढोंगी कमान्डरको स्वरूप धारण गर्छ । उसमा मानवता हराउँछ । प्रेम र स्नेह के हो ? उसले बुझ्नै सकेन । कमाइ गरेर बसेका मानिसहरूलाई गाउँ छोड्न बाध्य तुल्याउँछ । खेतीपातीमा जमेको सामाजिक सद्भावलाई साहु र जोताहाको नाममा खलल बनाउँदछ । टारी, गैरी र बेसी खेतहरू र टार, पाटा परेका ठूलाठूला गराहरू र बिरौटाहरू जोतिनबाट बच्चित बनाइन्छ । तर्सित वातावरणमा जीवनयापन गर्न नसकेर युवाहरू विस्तारै विदेश पलायन र बुहारीहरू सहरका बस्तीहरूमा सन्तानको उज्ज्वल भविष्यको खोजीमा लाग्दछन् । गाउँका बस्तीहरू शून्यतुल्य हुन्छ । कमलराज सर्वहारावादको नारा घन्काउँदै रमाउदै यही शून्यतुल्य गाउँ बस्तीहरूमा डुल्न थाल्दछ । अनि घमण्ड गर्दछ मैले सबैलाई गाउँघर छोडाउन सफल भए । गैरी खेत र फाँटहरू रोपिँदैनन् र पाटाका गराहरूको बाँझो फुट्दैनन् । तर, कमलराजलाई नै जिस्क्याइरहेको यी बाँझा जमिनहरूमा ऊ क्रान्ति सफल भएको नाममा विजयीको झन्डा गाड्दै मोहित हुन्छ ।

नेपाली जनताको बारम्बारको जनदबाब र आक्रोशको गतिले पर्खिरहेको समय भेट्टायो, युद्ध र द्वन्द्वले थकित नेपाली समाजले आफ्नो भारी बिसाई शान्तिको सास फेर्न खोज्यो । आधार इलाकाबाट तैरिँदै कमलराज पार्टीकै निर्देशनमा खटाइएको ठाउँमा उभिन पुग्यो । के गोटाचार मन्त्री र सांसदका लागि मात्र रचिएको थियो यत्रो ठूलो हत्याको शृंखला, कि आफ्ना पुस्तौंपुस्तासम्मका दरसन्तानलाई अर्बौको मालिक बनाउन लागि मात्र खेलिएको थियो यो खेल ? कमलराज मनमनै प्रतिप्रश्न गर्छ ? समयको चक्रजस्तै घुमेको आफ्नो जीवन र बितेका दिनहरूलाई विश्रामको समयमा एकएक गर्दै फर्किएर हेर्दै ग¥यो । केही कारुणिक बीभत्स घटनाहरूलाई जीवनको शिक्षाको रूपमा ग्रहण ग¥यो । अन्धोभक्त भएर अर्काको निर्देशनमा सामेल भएका घटनाका दृश्यहरूलाई सम्झेर अँगालेर गहिरो पश्चाताप ग¥यो । मनदेखिकै आँसुको भेल निकाल्यो । के मैले हिजो खाएको कसम यसैका लागि थियो । द्वन्द्वमा खर्चिएको दसवर्षे जवानी र त्यसपछि पनि देशमै केही हुन्छ कि भन्ने आशामा बिताएका आफ्नो १२÷१५ वर्षको उमेरलाई कल्पिएर ऊ क्रुद्ध बन्यो । द्वन्द्वको चरले शिथिल आफ्नो बाँकी जीवनलाई सम्हालेर अघि बढ्ने निधो गर्‍यो । उसले आफ्नो ठानेकाहरूबाट गरिएको व्यवहार र स्वार्थमा लिप्त नेतृत्वको भूमिका देखेर विरक्त मान्दै आयो । कलावती मिसले राजनीतिको बारेमा आफूलाई पटकपटक दिएको सुझाव, अर्ती र उपदेशहरूलाई पल्टाउँदै बेलाबेलामा भक्कानिन थाल्यो । वितृष्णाले विक्षिप्त मनहरूलाई आफैं सम्झाउँदै प्रेम र सद्भावको खानी, कोमल हृदय र सुन्दरताले ज्वाजल्यमान आफ्नी प्यारी बालसखा शकुन्तलालाई सहरका गल्लीहरूमा खोज्न थाल्यो । कमलराज युद्धमा होमिएपछि शकुन्तलाले जेनतेन पढ्न त पढिन् तर उति राम्रो गर्न सकिनन् । शकुन्तला सामान्य प्राइभेट अफिसमा काम गर्दै गुजारा चलाइरहेकी थिइन् । कमलराजले लामो प्रयासपछि शकुन्तलालाई भेट्छ र आफैं बर्बराउन थाल्छ, देश र समाजको आमूल परिवर्तनको अभिलाषा बोकेर हिँडेको म आफैंलाई परिवर्तन गर्न र बुझ्न पनि सकिनँ । कच्चा बुद्धि र अल्लारे जवानीमा गरेको कठोर पथको यात्राको निर्णय मेरो जीवनको लागि अभिशाप बनेर आयो । सबैमा समानता, वर्ग संघर्ष र समतामूलक राज्य निर्माणमा दौडिएको थिए । मेरो राजनीतिक चेतनाको ढोका खुल्दासम्म त मैले गाएका गरिब र दीनदुःखीहरूका गीतहरू र बुलन्द पार्दै गाउँ बस्तीहरूमा घन्काएका नाराहरू सबै नगदमा बेचिइसकेको पाएँ । अहिले मसँग न त शिक्षाको कुनै सर्टिफिकेट नै छ, न त कुनै ज्ञान र सीपको तालिम । छ त केवल यही पाखुरामा भरिएको बल र मस्तिष्कमा केही गरौं भन्ने आँट । अब, बाँकी यही बल र आँटलाई जीवन धान्ने सहारा बनाउँछु । कमलराजले यतिभन्दासम्म शकुन्तलाको गहभरि आँसु छचल्किएको थियो ।

देश र जनताको लागि भनी युद्धमा होमिएका कमलराज जस्तै योद्धाहरूलाई व्यक्तिगत र पारिवारिक जीवनका विषयमा ज्ञान र चासो रहने कुरै भएन । युद्धको मैदानमा उनले यी सबै कुरा बिर्सिसकेका हुँदा हुन् । युद्धका मालिकहरूको आदेश मान्नु नै उनीहरूको कर्तव्य हुन्थ्यो । स्कुले जीवनको अन्ततिर लाल चढेको यौवनमा कमलराजसँग जुँधेका नयनहरू र त्यसबाट निस्किएको प्रेमभाव बास्नाबाहेक उनलाई यसबारे कुनै रस र आकर्षण नै रहेन । शकुन्तलामा एक असल नारीमा हुने सर्वगुण सम्पन्न थियो । उनको प्रेम प्रतिज्ञाले अटल र अमिट छाप छोडेको थियो । १० कक्षामा पढ्दा चौतारामा रहेको फराकिलो ढुंगामा शकुन्तलाको आफ्नै सल बिछ्याई कमलराजले किनेर ल्याएको चिउरा, दालमोठ र खाजा बिस्कुट खाएको दिनदेखि नभएको भेट, आजै संयोग जुरेको रहेछ । शकुन्तलाको मन मस्तिस्कमा अतीतका ती दिनहरू भदौरे भेलजस्तै उर्लिएर आएको छ । बरु कतै बसेर खाजाखाउ न ? शकुन्तलाले कमलराजलाई अनुरोध गरिन् । हुन्छ, खाऔं ! मुन्टोले उत्तर दियो । चियाको सुर्पोसँगै शकुन्तलाले कमलराजलाई सोधिन् ? कति निष्ठुरी हगी छोरा मानिसहरू, यतिका वर्षहरूसम्म खोजीनीति पनि नाइँ । आफूले भने कत्ति बिर्सन सकेको होइन । सम्झेको त भइरहन्थे तर, आफ्नो कठिन परिवेशलाई बुझिदिन कमलराज अनुनय गर्छ । फेरि, पार्टीमै काम गर्ने कि ? के सोंच छ तपाईंको ? शकुन्तलाले भित्री आसय बुझ्न खोज्छिन् । अब त बुझे युद्ध कसका र केका लागि गरिएको रहेछ । उनले आफूले युद्धमा दिएको यति धेरै त्याग र बलिदानलाई आफैं फिक्का बनाउँदै भने । यहाँ त केही गर्न सकिएला जस्तो छैन । बरु विदेशमा गएर भविष्यको लागि केही जोहो गर्छु । शकुन्तला एकसुरमा कमलराजलाई हेरी रहन्छिन् । अनि बिहे गर्ने योजना त ? बिहे त गर्ने नि तर, केही कमाउन त प¥यो नि । कमलराजको कसैसँग प्रेमसम्बन्ध भए, नभएको पत्ता लगाउन खोज्छिन् र शंका गर्दै भन्छिन् खोइ, मोर्चामै कोही भेटिएको पो छन् कि ? शकुन्तला अलि च्यांठ्ठिएर र कस्सिएर प्रश्न गर्छिन् । कोही भएको भए त भनिहाल्थे नि, त्यस्तो केही छैन, बिहे गरे तिमीसँग नै गर्छु, तिमीले साथ दिएनौ भने बरु बिहे नै गर्दिनँ । ढुक्कका साथ कमलराज प्रस्तुत हुन्छन् । यतिका समय मैले पनि पर्खिएरै बसेकी छु । मैले पनि त्यही प्रण गरे ! बिहे गरे तपाईंसँगै गर्छु, अत म पनि यत्तिकै जीवन काट्छु, शकुन्तला आफूमा रहेको नारीत्वको भावलाई मजबुत बनाउँदै राख्छिन् । तिमी यही केही गर्दै गर म केही वर्ष अलिअलि बुटो बनाएर आउँछु । अनि हामी दुवै विवाहबन्धनमा बाँधियौला हुन्न । कमलराजमा आएको परिपक्वता, सामाजिक चेतना र भविष्यप्रतिको चिन्ताले शकुन्तला प्रसन्न हुन्छिन् र विदेश जाने कमलराजको चाहनामा सहमति जनाउँछिन् । कठोर अठोटका साथ करिब एक वर्ष पहिलेदेखि एउटा राम्रै कम्पनीमा काम पाएर ४४/४५ डिग्रीको तापक्रमको प्रवाह नगरी कमलराज अहिले विदेशमा छन् । वर्षौंको अन्तरालपछिको पुनर्मिलनले उत्साहित कमलराज बिहान बेलुका शकुन्तलालाई फोन गर्ने गर्छन् । उसको उराठिएको जीवनलाई प्रेमरूपी नदीबाट शकुन्तलाले सिञ्चित गरिराखेकी छन् । प्रगाढ सम्बन्ध र अर्को साल कम्पनीबाट घरछुट्टीमा जाँदा विवाहबन्धनमा बाँधिने यी दुईको संकल्पकै बीचमा संसारलाई नै फन्को मार्दै कोरोना भाइरसको महाव्याधी दिन दुई गुणा र रात चौगुणाको गतिमा फैलिँदैछ । कोरोनाको कहरले काम गरेको कम्पनी अहिले बन्द छ । विज्ञानले कोरोना भाइरसलाई जिती छाड्ने आशामा छन् कमलराज ।

सदियौंदेखि नेपाल देशले सही राजनीतिक नेतृत्व नपाएका कारण आर्थिक विकास र समृद्धिमा खासै उपलब्धि हासिल गर्न सकेको छैन । कमलराज जस्तै अवसर र रोजगारीको खोजीमा संसारको श्रम बजारहरूमा भौंतारिएका लाखौंलाख नेपाली नागरिकहरूको अवस्था एउटै र उस्तै छ । हामीले त बिदेसिनु पर्‍यो अबको भावी पुस्ताले सामान्य जीवनयापनका लागि कहिल्यै बिदेसिनु नपरोस् । कोरोनाको कहरमा नेपालीहरूमा पलाएको राष्ट्रप्रेम र राष्ट्रियताको लगाव चिरकालसम्म पनि अक्षुष्ण रहोस् । कोरोनाको कहरलगत्तै शकुन्तला र कमलराजजस्ता हजारौंले गरेका सबै वाचाहरू पूरा होस् ।

(लेखक भट्ट हाल अमेरिकामा बस्छन् ।)