विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ। सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ। निर्माण कम्पनी जापानको हाजमा आन्दो कर्पोरेसनले भने उक्त सर्त स्वीकार गरेको छैन।
सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले निर्माण कम्पनीले नेपाली सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्ने इच्छा नदेखाउँदा सुरुङमार्ग निर्माणमा ढिलाइ भइरहेको बताए। ‘सेनाको विस्फोटक पदार्थको गुणस्तर परीक्षण भइसकेको छैन। आयोजनाको ठेक्का लगाउँदा नेपालमा विस्फोटक पदार्थ उत्पादन हुँदैनथ्यो’, प्रमुख थापाले भने, ‘अहिले सेनाले आफ्नै उत्पादन प्रयोग गर्न जोड दिइरहेको छ।’
उनका अनुसार निर्माण कम्पनी भने गुणस्तर परीक्षण प्रमाणपत्र पेस गरिए प्रयोग गर्न सकिने अडानमा छ। सेनाले भने प्रमाणपत्र पेस गर्न ध्यान दिएको छैन। सेनाले इमल्सन विस्फोटक पदार्थ आयात गर्न सहमति प्रदान नगरी आफ्नै उत्पादन बिक्री गर्न खोजिरहेको छ। कुनै पनि आयोजनाका लागि विस्फोटक आयात गर्न सेनाको स्वीकृति अनिवार्य छ। उनले निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढ्ने र निर्माण कम्पनीले क्षतिपूर्ति दाबी गर्न सक्ने सम्भावना हुने बताए।
सेनाले सुनाचुरी प्लान्टबाट इमल्सन विस्फोटक उत्पादन गर्दै आएको छ। विस्फोटक पदार्थ खरिदका क्रममा विवाद निम्तिने सम्भावनालाई ध्यान दिई फागुन २८ गते सेनाबाट उत्पादित विस्फोटकको क्षमता गुणस्तर र स्वास्थ्यसम्बन्धी प्रभाव जाँच गर्ने सहमति भएको थियो। त्यस क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सेनाका महारथी, मन्त्रालयका सचिवलगायत उपस्थित थिए। मन्त्रालयका सचिवको नेतृत्वमा सडक विभाग प्रमुख र निर्माण कम्पनीको आयोजना निर्देशकबीच फागुन २९ गते सेनाबाट उत्पादित विस्फोटक परीक्षण गर्न भए पनि सुरुङमार्गमा प्रयोग गर्ने तय भएको थियो। अन्नपूर्ण पाेस्टमा खबर छ ।
प्रतिक्रिया