देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ लाख नाघ्याे

देशान्तर

विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ४ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ४ लाख १ हजार ९६४ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ७० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ८ गुणा बढी हाे ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार १ सय ७७ जनाकाे मृत्यु भएकाे छ । शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ९८ हजार १२५ थियाे भने संक्रमित हुनेकाे संख्या भने ६८ लाख ४३ हजार ९१५ थियाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १९ लाख ८८ हजार ५४४ पुगेकाे छ ।

संक्रमितमध्ये ७ लाख ५१ हजार ८९४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख २४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ६ लाख ७३ हजार ५८७ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ३५ हजार ९५७ पुगेकाे छ ।

संक्रमितमध्ये ३ लाख २ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ३ लाख ३५ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

रूस पनि काेराेनाभाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म त्यहाँ ४ लाख ५८ हजार ६८९ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ५ हजार ७२५ पुगेकाे छ ।

संक्रमितमध्ये २ लाख २१ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ३१ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८८ हजार ३९० पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार १३५ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६२ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ४० हजार ४६५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ८४ हजार नाघेकाे छ ।

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

अहिलेसम्म भारतमा २ लाख ४६ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ६ हजार ९४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये १ लाख १८ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख २० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३३ हजार ८४६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ३४ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ६५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ३५ हजारमा काेराेना सक्रिय रहेकाे छ भने २९३ काे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ६७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार ३२९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८३ हजार ३० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।