देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सलहको संकट तत्काललाई टर्‍यो

देशान्तर

नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन। सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा यसको प्रवेश तत्कालका लागि टरेको हो।

हुमागाईंका अनुसार मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकियो। उक्त फट्यांग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो। भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्र, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो।

‘तर पछिल्लो समय सुरु भएको मनसुनी वर्षा र सलहको बथान उत्तरबाट दक्षिणतर्फ आउने क्रममा स–साना टुक्रामा विभाजित भएर भारततर्फ मोडिएकाले नेपालमा तत्काल आउने सम्भावना टरेको हो,’ संयोजक हुमागाईंले भने। उनका अनुसार मन्त्रालयलाई यो फट्यांग्राले तत्काल प्रवेश गर्न नसक्ने भन्दै कार्यदलले प्रतिवेदन बुझाएको छ।

‘सुख्खा खडेरी मौसम, पानी नपरेको र हावाको बेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ,’ हुमागाईंले भने। हावा पनि पूर्वबाट पश्चिमतर्फ बग्न थालेकाले नेपालको प्रवेशमा यसको रोक लागेको हो। हावा जता बग्छ, त्यतैतर्फ यसको बथान उड्ने उनको भनाइ छ।

कार्यदलले यसको विषयमा थप पुष्टिका लागि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) सँग पनि सहकार्य गरेको थियो। कार्यदलले एफएओलाई पत्राचार गरी यो फट्यांग्रा नेपालमा सर्न सक्ने विषयमा आवश्यक जानकारी माग गरेको थियो। जसअनुसार एफएओले मनिटरिङ सिस्टमबाट यो विषयमा अध्ययन गरेको थियो। अन्नपूर्ण पाेस्टमा खबर छ ।