काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ । अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने पिसिआर परीक्षण नगर्ने स्पष्ट पारेको छ । आवश्यक परे जोखिममा रहेका व्यक्तिको आरडिटी परीक्षण गर्ने उल्लेख छ । आरडिटी परीक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन ।
राज्यको स्रोतसाधनले धान्न नसक्ने देखेपछि लक्षण नभएकालाई परीक्षण नगरी घर पठाउने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताए । भारतबाट आएकाहरू अधिकांश संक्रमित भएको र स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन नसक्दा संक्रमण फैलिएको समयमा मन्त्रालयले परीक्षण नगर्ने निर्देशिका बनाएपछि नेपाल महामारीको थप जोखिममा पुगेको विज्ञहरूले बताएका छन् ।
निर्देशिकामा स्पष्टसँग लेखिएको छ, ‘कोरोनाको लक्षण नदेखिएकालाई अब पिसिआर विधिमार्फत कोरोना जाँच गरिँदैन ।’ अहिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको भने १४ दिनपछि आरडिटी परीक्षण गरिनेछ । स्रोतका अनुसार आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा मात्रै पिसिआर परीक्षण हुनेछ । सरकारमातहत रहेको अनुसन्धान परिषद्ले समेत हालै गरेको एक अध्ययनले उपचारमा आरडिटी परीक्षण प्रयोग गर्न नमिल्ने सुझाब दिएको थियो ।
मन्त्रालय स्रोत भन्छ, ‘आरटी–पिसिआर परीक्षण निकै महँगो विधि रहेछ, हामीलाई धान्न निकै कठिन भयो । त्यसैले अब लक्षण नभएकालाई परीक्षणमा पिसिआर विधि प्रयोग गरिनेछैन ।’ कोरोना जाँचको चार महिनामै सरकार परीक्षणबाट भाग्न खोजेको देखिएको छ । अहिलेसम्म देशभर एक लाख ६६ हजार चार सय २३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै दुई हजार नौ सय १२ जनामा संक्रमण देखिएको छ । सबैजसो संक्रमितहरू लक्षणविहीन रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका आनुवांशिक विज्ञ डा. गिरिराज त्रिपाठी सरकारले जारी गरेको निर्देशिका ठीक भएको बताउँछन् । ‘पिसिआर परीक्षण निकै महँगो भएकाले हाम्रोजस्तो देशले धान्न सक्ने अवस्था रहँदैन,’ उनले भने । लक्षण नदेखिएकालाई पिसिआर परीक्षण जरुरत नभएको उनको भनाइ छ । ‘१४ दिनपछि आरडिटी परीक्षण गर्ने, पोजेटिभ देखाए पिसिआर गर्ने, नभए आवश्यक पर्दैन,’ डा. त्रिपाठीले भने ।
अहिलेसम्म नेपालमा ८८ हजार तीन सय ६६ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । नेपालमा पिसिआर परीक्षण गर्दा प्रतिव्यक्ति करिब पाँच हजार राज्यको खर्च हुन्छ । तर, कम्तीमा एक व्यक्तिको सरदर तीनपटक पिसिआर परीक्षण आवश्यक हुन्छ । यसको खर्च १५ हजार पर्न जान्छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया