अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा स्वदेश फिर्न नपाएका नेपाली कामदारलाई सरकारले फर्काउने प्रक्रिया सुरु गरेको छ । नेपाली वायुसेवा कम्पनीका विमानबाट उनीहरु नेपाल फर्किनेछन् । त्यसलाई सहज बनाउन सरकारले कार्यविधि तयार गरेको छ । आदेश भनी उल्लेख गरिएको कार्यविधिमा कस्ता व्यक्तिलाई प्राथमिकता दिने भन्ने सूचीसमेत छ ।
विभिन्न मुलुकमा सजायबाट आममाफी पाएर नेपाल फर्किन चाहेका र डिटेन्सन सेन्टरमा रही नेपाल आउन अनुमति पाएकाहरुलाई उद्धारका लागि सरकारले पहिलो प्राथमिकता दिएको छ । यस्ता कामदार प्रमुख श्रम गन्तव्यमा ५ हजार जना छन् । कुवेतमा मात्रै ३५ सय जना रहेका छन् । त्यसपछिको प्राथमिकतामा जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका र आफन्तको निधनले किरियामा आउनुपर्नेलाई राखिएको छ । श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कोभिड–१९ बाहेकका गम्भीर स्वास्थ्य समस्या भएको, सुत्केरी एवं गर्भवतीलगायत त्यसपछिको प्राथमिकता क्रममा छन् ।
नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश २०७७ को बँुदा ७ मा खर्चसम्बन्धी व्यवस्था छ । जसअनुसार स्वदेश फर्केपछि सरकारले तोकेको क्वारेन्टाइनमा बस्न चाहनेहरुले दुई साता नि:शुल्क खाने, बस्ने सुविधा पाउनेछन् । तर होटलमा बनाइने क्वारेन्टाइनमा बस्न चाहे आफैले खर्च बेहोर्नुपर्नेछ । उनीहरुको फर्किने खर्चको दायित्वबारे भने फरक–फरक दाबी आइरहेका छन् ।
आदेशमा तेस्रो मुलुकबाट नेपाल फर्कन चाहने वैदेशिक रोजगारका कामदारले सबै खर्च आफैंले बेहोर्नुपर्ने भनिएको छ । उनीहरुले नेपालमा प्रवेश गर्ने बिन्दुदेखि क्वारेन्टाइनसम्म जाने यातायात खर्चसमेत आफैंले बेहोर्नुपर्नेछ । आदेशमा छ, ‘सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाई, यातायात र होटल क्वारेन्टाइनको खर्च बेहोरेमा त्योबाहेकको खर्च मात्रै व्यक्तिले बेहोर्नुपर्नेछ ।’
सामान्यत: अवस्थामा खाडी तथा मलेसियाबाट स्वदेश फिर्नेको हवाई टिकट २६ हजार रुपैयाँसम्म पर्छ । अहिले हुने भनिएको चार्टर विमानको टिकटको मूल्य सार्वजनिक गरिएको छैन । सरकारले नै यातायात खर्चसमेत कामदारको हुने भनी तोकेकाले १ हजारदेखि ३/४ हजार रुपैयाँसम्म नेपाल आएपछि यातायातमा थप खर्च हुनेछ ।
प्रतिक्रिया