देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्मबल र हौसलाले कोरोना जितेँ : सप्तरीका पहिलो सङ्क्रमित

देशान्तर

सप्तरी । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका-३ हटेलका १७ वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाएका हुन् । शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला दिएको उनले उल्लेख गरे । आइसोलेशनमा ल्याएपछि चिकित्सक, स्वास्थ्यकर्मी, नर्सले हरेक क्षण हौसला दिनुभएपछि डर भागेको उनले बताए ।

गत वैशाख २९ गते सप्तरीको पहिलो सङ्क्रमितका रुपमा आइसोलेशनमा राखिनुभएका उनले खानपिन र बस्न कुनै समस्या नभएको, व्यवस्थापन पक्ष र सरकारलाई धन्यवाद दिए । सबैले हौसला दिएपछि आफूलाई ढुङ्गा पनि पचाउने उमेरमा नयाँ रोगले समाते पनि रोग जित्छु भन्ने हिम्मत अनुसार अस्पतालमा बसेको उनले उल्लेख गरे ।

यही जेठ ११ गते र जेठ १७ गते स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएकाले घर पठाउन उनलाई बिदाइ गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । उनले पनि औषधि नै नभएको कोरोनालाई जित्ने भनेकै आत्मबलले हो भने । त्यसका लागि सकारात्मक सोच र हिम्मत जरुरी रहेको डा दासले उल्लेख गरे ।

डाकनेश्वरी नगरपालिका–३ का युवकसँगै चितवनबाट आएका अन्य १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएको ११ दिनपछि जेठ ९ गते भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमित पुष्टि भयो ।

उनीसँगै आएकी श्रीमतीको पनि रिपोर्ट नेगेटिभ आएको थियो । त्यसयता भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, गुजरात, कलकत्ता, पटनालगायत विभिन्न राज्यबाट आएका तथा उनीहरूको सम्पर्कमा क्वारेन्टिनमा रहेका दुईजना प्रहरी र एकजना कार्यालय सहयोगी गरी सप्तरीमा ५६ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ती युवकको बिदाइसँगै सो अस्पतालको आइसोलेशन खाली भएको छ । दुई महिलासहित ५५ जनालाई साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेशनमा राखिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा पाँच, राजविराज र शम्भुनाथ नगरपालिकामा एक/एक गरी १३ जना कोरोना सङक्रमित थप भएका छन् । योसँगै सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । आज सङ्क्रमण पुष्टि भएका १३ जनालाई राजविराज ल्याउने तयारी भइरहेको छ ।