देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा आजदेखि लकडाउन खुकुलाे

देशान्तर

भारतमा आजदेखि लकडाउन खुकुलो बनाइएको छ । अझै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

तर राज्यलाई कोरोना सङ्क्रमण रोकथामको लागि केही गतिविधिमा प्रतिबन्ध लगाउने अधिकार केन्द्र सरकारले दिएको छ ।

उच्च सङ्क्रमण फैलिएको ठाउँबाहेकमा मानिसले सामान्य जीवन बिताउन पाउने खबरमा उल्लेख छ । भारतको गृह मन्त्रालयले मल, होटल, रेष्टुरेन्ट र धार्मिकस्थल लगायतका ठाउँ अर्को हप्ता अर्थात ८ जुनदेखि खोल्न अनुमति दिइसकेको छ ।

तर स्कुल, कलेज लगायत शैक्षिक संस्था भने राज्य र केन्द्र शासित प्रदेशले छलफल गरेपछि जुलाईमा मात्र निर्णय हुने भारतीय संचारमाध्यमले जनाएका छन् । लकडाउन खुले पनि अन्तराष्ट्रिय हवाई उडान, स्वीमिङ पुल, मनोरन्जन पार्क, सिनेमा घर, बार लगायत भने अझै बन्द नै हुनेछन् ।

भारतमा अहिलेसम्म १ लाख ९० हजार ६ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५ हजार ४ सय ८ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै भारतमा २ सय २३ जनाको ज्यान गएको र ८ हजार ७ सय ८२ जना बिरामी थपिएका वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमित बढेसँगै भारत सङ्क्रमित धेरै भएका देशको सूचीमा सातौ स्थानमा उक्लिएको छ ।