देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक दूरी कायम हुनेगरी उडान सञ्चालनयोग्य अन्तर्राष्ट्रिय विमानस्थल

देशान्तर

काठमाडौं । कोभिड–१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो ।

विमानस्थलको तीन सय मिटर धावनमार्ग विस्तारसँगै कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलको भौतिक संरचना तथा कोभिडको जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे आज विमानस्थलले सञ्चारमाध्यमलाई स्थलगत अवगत गराएको थियो । विमानस्थलको धावनमार्ग विस्तारदेखि सामाजिक दूरी कायम गर्न दुबैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीसहितको प्राविधिक टोलीले विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गरिएको छ । यात्रुका लागि अन्तर्राष्ट्रियको टर्मिनलको ट्रली हलमा डेढ मिटर दूरी कायम गरिएको छ । सेवामा खटिने कर्मचारीको स्वास्थ्य सजकताका सबै मापदण्ड बनाइएको छ ।

बन्दाबन्दीपछि अन्तर्राष्ट्रिय विमानस्थलको सेवा कसरी सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । सम्भवतः सरकारको निर्णयअनुरुप एक साताभित्रै हवाई उद्धार उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउनेछ । त्यसका लागि विमानस्थलले अपनाउनुपर्ने आवश्यक सतर्कता र सबैखाले तयारी गरिएको महाप्रबन्धक केसीले बताए ।

बन्दाबन्दीको अवस्थामा विमानस्थलको धावनमार्ग विस्तारको काम पनि सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी तीन हजार ३०० कायम गरिएको छ । विमानस्थलको दक्षिणतर्फ तीन सय मिटरको धावनमार्ग निर्माण गरिएको हो । विस्तार भएको धावनमार्गमा अब रनवे र एप्रोच लाइटिङको काम मात्रै बाँकी छ । यसले अन्तर्राष्ट्रिय उडान सहजताका साथै हवाई सुरक्षाको सुनिश्चितता हुने विमानस्थलको भनाइ छ ।

विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टू विस्तारको काम भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्ड पूरा हुने बताए । यसले विमानस्थलको सेफ्टी स्ट्यान्डर बढ्नाका साथै हवाई सुरक्षाको सुनिश्चिता भएको उनले उल्लेख गरे ।

एशियाली विकास बैंकको सहयोगमा सन् २०१३ देखि नै ठेक्का प्रक्रिया चलेको भए पनि बीचमा ठेकेदारको लापर्वाहीले केही ढिला गरी आयोजना सम्पन्न भएको श्रेष्ठले बताए । तीन सय मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

विगत आठ वर्षदेखि थाती रहेको धावनमार्ग विस्तारको काम सम्पन्न भएको विमानस्थलका महाप्रबन्धक केसीले बताए । बन्दाबन्दीको अवस्थामा जहाजको गतिविधि कम भएपछि निर्माणमा सहजता आएको थियो । झण्डै दुई महिनामा यो काम सकिएको छ । धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक केसीले बताए ।

कोभिडको महामारीकै सन्दर्भमा सामाजिक दूरी कायम गरेर विमानस्थल सञ्चालनका तयारी भइरहेको छ । त्यसो त बन्दाबन्दीको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो चार्टर र कार्गो उडान भएका छन् । विमानस्थलका महाप्रबन्धक केसीले सरकारले विमानस्थल सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको बताउनुभयो । विमानस्थलमा सामाजिक दूरी कायम गरी सानिटाइजर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

यसैबीच विमानस्थलको नयाँ आवागमन भवनको काम पनि सम्पन्न भएको छ । विदेशबाट उद्धार गरेर ल्याउने पहिलो उडानका यात्रुलाई नयाँ भवनबाटै बाहिर ल्याउने गरी धमाधम काम भइरहेको जनाइएको छ । अब विदेशबाट आउने यात्रु सिधै पार्किङस्थलतर्फको हलबाट सिधै बाहिर निस्कनुपर्नेछ । प्रस्थान गर्ने यात्रु सिधै टर्मिनलको अगाडि ओर्लिएर सवारी साधन तलपट्टि पार्किङ हुँदै बाहिरिनुपर्नेछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन् ।