देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब हङकङ चीनको स्वायत्त क्षेत्र रहेन : अमेरिका

देशान्तर

हङकङ अब चीनको विशेष अधिकार प्राप्त स्वायत्त क्षेत्र नरहेको अमेरिकाले जिकिर गरेको छ । अमेरिकी कंग्रेसमा विदेश मन्त्री माइक पोम्पिओले हङकङमा अब चीनबाट प्राप्त उच्चस्तरको स्वायत्तता बाँकी नरहेको दाबी गरेका हुन् ।
हङकङले विशेषस्तरको स्वायत्तताको हैसियत गुमाएसँगै अमेरिकाको हङकङसँग रहेको विशेषस्तरको व्यापारिक सम्बन्धमामा नोक्सान पर्न सक्ने उनले कंग्रेसलाई जानकारी दिए ।

यसले एक अन्तर्राष्ट्रीय वित्तीय क्षेत्रका रुपमा कायमै रहिरहन पनि हङकङलाई खतरा आउनसक्ने उनले बताए । राष्ट्रपति डोनल्ड ट्रम्प र उनको प्रशासन चीनमाथि गरिने कार्वाहीको स्वरुपबारे छलफल गरिरहेका बेला विदेशमन्त्री पोम्पियोले यस्तो बताएका हुन् ।
कोरोना भाइरसको महामारीको सूचना समयमा नदिएको भन्दै चीनसँग रुष्ट ट्रम्प प्रशासन बेइजिङसँग व्यापार युद्धमै रहेको छ ।

चीनले लागू गरेको नयाँ नीतिका कारण अब हङकङकले अमेरिकासँग यसअघि जस्तै हैसियतमा व्यापारिक सम्बन्ध कायम गर्न नसक्ने जानकारी पनि उनले दिए । हङकङले चीनसँग उच्चस्तरको स्वायत्तता कायमै राख्न सक्छ भन्ने कसैले पनि दाबी गर्न नसक्ने उनले बताए ।
एक देश दुई नीति अन्तर्गत बेइजिङमा भन्दा भिन्न ढंगले हङकङमा सीमित लोकतन्त्र र नागरिक स्वतन्त्रताको उपयोग गरिरहेको थियो ।

अमेरिकाले गत वर्षमात्र लोकतन्त्र पक्षधर प्रदर्शनकारीको समर्थनमा हङकङ मानवअधिकार र लोकतन्त्र एैन नै जारी गरेको थियो । उक्त ऐन अनुसार अमेरिकाले प्रत्येक वर्ष हङकङमा चीनसँगको स्वायत्तता कायम रहे नरहेको कंग्रेसलाई जानकारी गराउनुपर्ने हुन्छ ।
चीनले हालै हङकङमा सुरक्षा कानुन पारित गराएको छ । चिनियाँ समर्थनमा ल्याइएको उक्त कानुनको हङकङकका प्रजातन्त्र पक्षधरहरुले विरोध गरिरहेका छन् ।