वियोन्ड द बक्स

प्रा.डा. दुर्गा दाहाल

  • 86
  •  
  •  
  •  
    86
    Shares

“ The ordinary people think inside of the box whereas the extra- ordinary people think outside of the box.”

शीर्षक मा ‘वियोन्ड द बक्स’ (Beyond the box) भनिएको कुराले के अर्थ लगाउँछ भन्ने उत्सुकता जाग्नु स्वाभाविक हो किनभने, नेपालका हामी करिब ९१ प्रतिशत मानिसहरू बक्सभित्रै बाँचिरहेका हुन्छौं । अर्थात् ‘लकिर के फकिर’ भएर हिँड्न रुचाउँछौँ । हामी नयाँ ढंगले, फरक ढंगले सोच्न चाहँदैनौं अथवा सक्दैनौं । त्यसो भएर नै नेपालमा आजको दयनीय स्थिति जन्मिएको हो ।

समय परिवर्तनशील छ । मानिसले समय, परिस्थिति र बदलिँदो अवस्था अनुरूप चल्न चाहेन अथवा सिक्न सकेन भने धेरै पछि पर्छ । यो कुरा व्यक्तिमा मात्रै लागू नभएर एउटा राष्ट्रमा पनि लागू हुन्छ । हामी नेपालीहरू धेरै पछि परिसकेका छौं र अझै पछि पर्दै जानेछौं । आजका मितिसम्म आइपुग्दा भारतभन्दा हामी धेरै सवालहरूमा कमजोर भइसकेका छौं र उसले हामीलाई एउटा स्वतन्त्र राष्ट्रको हैसियत पनि दिएको छैन ।

Beyond the box भनेको फरक ढंगले सोच्नु हो । कुनै पनि विषयवस्तु वा विचारलाई आफ्नै दिमाग लगाएर हेर्नु हो । आफ्नो ब्रम्ह र विवेक लगाएर बुझ्नु वा विश्लेषण गर्नु हो । अरूले भनेको कुरा सही हो कि हैन त्यसलाई पुनर्विचार र सिंहावलोकन गर्नु हो । यो कुरा गर्न हामीलाई झ्याउ लाग्छ । हामी आफैं पकाउँदैनौं वा पकाउने प्रयत्न गर्दैनौं : अरूले पकाएको जिब्रो पडकाएर खान्छौं । भन्नुको तात्पर्य, हामी स्वविवेक प्रयोग गर्दैनौं, पढ्दैनौं, चिन्तन–मनन गर्दैनौं ।

हामी सबै एक किसिमले कुवाका भ्यागुता हौं । हाम्रा लागि हामी महापुरुष र महात्मा हौं । अब हामीले जान्नुपर्ने र बुझ्नुपर्ने केही छैन भन्ने दरिद्र मानसिकता पालेर बसेका छौँ । त्यो माथि उल्लेख गरिएको बक्सको त्यही साँघुरो घेरा हो जहाँ हामी छौं र निक्लिन चाहन्नौं ।

‘Beyond the box’ means to think out of the box in a different way, unconventionally, or from a different perspective, in a new way.

हामी परिवर्तन हुन सक्नुपर्छ । शब्दले मात्रै हैन, कर्म र व्यवहारले पनि । नयाँ सोच, नयाँ चिन्तन र नयाँ परिधिबाट हाम्रो समाज, समुदाय र विश्व समुदायलाई हेर्न सक्नुपर्छ । अब आफ्नो निर्णय आफैं गर्न सक्नुपर्छ । खुद पनि परिवर्तनको बाहक बन्न सक्नुपर्छ । मतदानका बेला पनि तपाईंले आफ्नो विवेक प्रयोग गर्न सक्नुपर्छ । हरेक विषय र सन्दर्भमा यो कुरा लागू हुन्छ ।

एउटा कुरा के सत्य हो भने यो संसारमा जहाँ, जेसुकै नराम्रो घटना घटेता पनि भोलि सूर्य उदाएरै छोड्छ । प्राकृतिक नियमहरू शाश्वत सत्य हुन्छन् । तर हामीले धैर्य धारण गरेर आफ्नो, समाजको, समुदायको, राष्ट्रको र अन्तर्राष्ट्रिय जगत्को सर्वोपरि हकहितका निम्ति काम गर्नु पर्छ । हरेक दिन सकारात्मक भएर जिन्दगीको सुरुआत गर्नु पर्छ ।

हरेक दिन र हरेक पल तपाईं हाम्रो लागि शुभ सुरुआत हो । सधैं सबैको कल्याणको खातिर काम गरौं । त्यो ‘सबै’ भित्र कोही पनि छुट्दैन ।

आफू भएर बाँचौं, जिन्दगीमा अत्यधिक रमाऊँ । भूतमा गएर चिन्ता नगरौं, भविष्यका बारेमा पनि बढी आशावादी अथवा पीर नमानौं । वर्तमानमा असल कर्महरू गर्दै जाऔं । वर्तमान रुचिकर र रोचक बनाउने कुरामा शतत ध्यान दिऔं । त्यही हो ‘beyond the box’ को एउटा सामान्य पहल ।

अहिलेको नेपालको सीमासम्बन्धी समस्यालाई पनि हामीले फरक ढंगले सोच्नुपर्छ । कूटनीतिक स्तरबाट यसको समाधान गरिनु पर्छ । केवल कागज पठाएर अथवा सम्मेलन गरेर यसको समाधान हुन्न । हामीले के बुझ्न सक्नुपर्छ भने छिमेकी देशलाई हामी फेर्न सक्तैनौं । जनस्तरमा हाम्रो कुनै समस्या छैन । ऊसँगको हाम्रो सम्बन्ध सदैव राम्रै हुनु पर्छ सदाकालका लागि किन भने सबै कुरामा हामी उसको आश्रित बन्दै गइरहेका छौं ।

हाम्रा नेता र हामीहरू नालायक हौं । हामीलाई उसले थिचोमिचो गर्दै गयो । सीमित स्वार्थ र लोभमा परेर हामी तल पर्दै गयौँ । अब हामीले बक्सबाट बाहिर आएर सोच्नुपर्छ र नेपालीत्वलाई जोगाउनुपर्छ तर चर्का नारा लगाएर अथवा सडकमा टायर बालेर हैन : परन्तु कूटनैतिक ढंगले, प्रमाण जुटाएर, साहसिकतापूर्वक बुद्धिजीवीवर्गको समेत सहयोग लिएर ।

नरिसाए हुन्छ कसैले, अब पुराना नेताहरूबाट देशको विकास र प्रगति सम्भव छैन । उनीहरू सदैव बक्समै रमाउने मानिसहरू हुन । कुनै पनि पार्टीका कुनै पनि बूढा नेताहरूबाट केही आशा नगरे हुन्छ । अब नयाँ पुस्ता र नयाँ नेताले देश हाँक्नुपर्छ ।

विडम्बना । २०४६ पछि सबै पार्टीमा तिनै असफल र टेस्टेड नेताहरू छन्, जोप्रति जनताको विश्वास रत्तिभर छैन तर तिनीहरूनै जितेर पनि आइरहन्छन् । कस्तो व्यवस्था र पद्धति हो यो ?

(क्यालिफोर्निया निवासी प्रा.डा. दुर्गा दाहाल राजनैतिक विश्लेषक र चिन्तक हुन्)

२०७७ जेठ ११ गते प्रकाशित देशान्तर साप्ताहिकबाट


  • 86
  •  
  •  
  •  
    86
    Shares

Facebook Comments