देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गड्डाचौकीबाट नेपाली नागरिकको उद्धार गरिदैं

देशान्तर

कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्न शुरु गरेको जनाइएको छ ।

आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको थियो । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक भित्रिएका थिए ।
नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता यहाँको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन ।

बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापनलगायतमा खटिने तयारी प्रशासनले गरेको जनाएको छ । भारतमा यातायात सुचारु भएसँगै यहाँका नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।
त्यसैगरी जिल्लामा कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचारबाहेकका सबै सेवा बन्द गर्ने निर्णयसमेत गरेको छ ।

औषधोपचारबाहेक तकारी बजार, फलफूल, खाद्यान्न पसल र बैंकलगायत सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।