देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाका कारण विश्वभर ११७ नेपालीको मृत्यु

देशान्तर

कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण मृत्यु भएको छ । संघका अनुसार युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिका, कतार र कुवेतमा एक एक जनाको यो साता मृत्यु भएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी अहिलेसम्म बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३ र कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र कुवेतमा अहिलेसम्म एक एक जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् ।

४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन ।

संयोजक डा.सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । ती मध्य मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।
अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ ।

संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि सापकोटाले जानकारी दिए । चीनवाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।