देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा तीन हजार भारतीय मजदूर अलपत्र

देशान्तर

काम नभएर इँटाभट्टामा कार्यरत भारतीय मजदुर अलपत्र परेका छन् । अलपत्र परेका मजदुर बिपी राजमार्ग हुँदै भारत फर्किन निस्केका साँगा आइपुगेपछि प्रहरीले राति भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १७५ मजदुरलाई नियन्त्रणमा लिएको छ ।

राति १०ः०० बजे चाँगुनारायण नगरपालिका कुमारी र चाँगुनारायण इँटाभट्टाबाट हिँडेरै भारत जान निस्केका मजदुर नाला हुँदै जाने क्रममा प्रहरीले रोकपछि पुनःफर्किएर चित्तपोल हुँदै साँगा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले कोरोना भाइरस सङ्क्रमणको महामारीले देशभर लकडाउन भएको र अन्तरराष्ट्रिय नाकासमेत बन्द भएका बेलामा इँटाभट्टामा काम गर्ने भारतीय मजदुर हिँडेरै जान लागेकाले साँगाबाट नियन्त्रणमा लिएर इँटाभट्टामै फर्काइएको बताउनुभयो ।

घर हिँडेका भारतीय मजदुरलाई बिहान ४ः०० बजे साँगाबाट नियन्त्रणमा लिएर सोधपुछ गरेपछि इँटाभट्टामै फर्काइएको बताउँदै यस्तो अवस्थामा हिँडेर वा सवारी साधनबाट जान नमिल्ने उहाँले बताउनुभयो । भट्टा सञ्चालकले प्रतिव्यक्ति पाँच किलो चिउरा र एक हजार रुपैयाँका दरले भारतीय मजदुरलाई दिएर भारत जान पठाएको पाइएको उहाँले जानकारी दिनुभयो । बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएर इँटाभट्टा सञ्चालकसँग सम्पर्क गरी त्यहीँबाट गाडी मगाएर सोही ठाउँ फर्काएको हो ।

यता भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नाति भाई ह्याम्बोले भने जिल्लाका इँटाभट्टामा कार्यरत दुई हजार ९४७ भारतीय मजदुर अलपत्र परेका बताउनुभयो । उहाँले उद्योग सञ्चालनका लागि हरेक वर्ष काममा आउने र भट्टा बन्द भएपछि भारत फर्किने गरेका मजदुर यस वर्ष भट्टा बन्द भएको एक महिना भइसक्दा पनि काम नभएका भारतीय अलपत्र परेका जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकामा एक हजार ४८७ मजदुरले ज्ञापनपत्र बुझाएर आफ्नो देश फर्कन पाउने व्यवस्था गरिदिन माग गरेका र नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको उहाँले बताउनुभयो ।

सङ्घका अध्यक्ष ह्याम्बोले भन्नुभयो, “भारतले बोर्डरबाट आफ्ना नागरिक लैजाने भनेपछि उनीहरुलाई फर्काउन जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा पटकपटक अनुरोध ग¥र्यौं, तर अनुमति पाएनाँै, नेपाल सरकारसँग पनि माग गरेका छाँै, अनुमति पाए छिटो फर्काउन चाहन्छौँ ।”

उद्योगीले लकडाउनका कारण नेपालमै रोकिएका भारतीय मजदुरलाई स्वदेश फर्काउने वातावरण मिलाउन नेपाल सरकारसँग आग्रह गरेका छन् । भट्टामा रहेका भारतीय मजदुरलाई अहिले सम्बन्धित इँटाभट्टा व्यवसायीले नै बस्ने व्यवस्था गरेको र खानका लागि प्रत्येक साता प्रतिव्यक्ति रु ६०० दिँदै आए पनि अब रकम दिन पनि समस्या परेको व्यवसायीको गुनासो छ ।

काम नभएपछि मजदुर बरालिने गरेका, मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने गरेका र कोरोना सङ्क्रमणको जोखिम पनि बढेको भन्दै कुनै नराम्रो घट्ना घट्नुअघि नै भारतीय मजदुर फर्काउने व्यवसायीको प्रयासमा सहयोग गर्न सरकारसँग माग गरेको सङ्घका अध्यक्ष ह्याम्बोले बताउनुभयो ।