संसारभरिकै मानवजातीको अदृष्य दुश्मन कोरोना भाईरसले फैलाएकोआतंकवाट हामी कोही पनि अछुतो रहेनौं ।
आज मे २१ तारिखको यो लेख लेखेर पोस्ट गर्ने समयसम्म कोरोना घडीले देखाएको तथ्यांक अनुसार संसारका २०९मुलुकका ३लाख २९ हजार ७ सय बढी मानिसको मृत्यु भैसकेको छ ।
५० लाख ९२ हजार बढी संक्रमितहरु कोभीड १९ संग कठिन संघर्ष गरीरहेका छन् आफ्नो अस्तित्व जोगाउन । यसैगरी २० लाख मानिसहरु कोरोनाको युद्ध जितेर घर फर्किएका छन् । उनीहरुले फेरी कोरोना भाइरस नपसोस भनेर रात दिन वचाउका अनुशाशित उपायहरू पालना गरी जीवन चक्र चलाई रहेका छन् । यो आंकडा अनुसार प्रति दिन २२७१ जना मानिसहरू अनायास आफ्नो अनमोल जीन्दगी वलिदान गरिरहेका छन् ।
यो कहाली लाग्दो तथ्यांकले कहिले विश्राम लिने हो भनि किंकर्तव्यविमुड अवस्थामा विश्व भरिका हाम्रा वैज्ञानिकहरूले कोरोना भाईरस समाप्त पार्ने भ्यक्सिनको आविष्कार कहीले गर्ने हुन् भनि भगवान पशुपतिनाथलाई पुकार्दै प्रतिक्षारत छौं। यसवाहेक केही विकल्प देखिएकै छैन । संसारकै मानिसहरूलाई नयॉं सिरावाट सोच्न वाध्य वनाएको छ । आगामी कष्टकर दिनहरू र आ-आफ्नो देशको भविष्यको वारेमा हामीसवै मानवलाई गम्भीर वनाएको छ ।
विश्वभरीकै देशमा आर्थिक गतिविधी र उत्पादकत्वमा नराम्रो धक्का दिई सकेको छ । अमेरिका, यूरोपियन मुलुकहरू र स्कान्डिनेवियन राष्ट्रहरू त धरासायी वनाईसके भने हाम्रो जस्तो गरीव र असक्षम नेतृत्वगण तथा राजनैतिक प्रयोगशाला वनाईएको मुलुकमा त नराम्रोसॅंग उथलपुथल ल्याउने निश्चित जस्तै छ । जस्तोसुकै नकारात्मक घटनाले पनि धेरै ठूलो सकारात्मक परीणाम ल्याउन पनि सक्छ । हामी आशावादी हुनै पर्छ ।
विगतका घटनाहरूले सिकाएका पाठहरूको विश्लेषण गर्दै जॉंदा यो २०२०को कोरोना संकटले नेपालमा तेश्रो जनआन्दोलनलाई दस्तक दिएको आभास हुदैंछ । यस्ले देश र जनतालाई वास्तविक रूपमा लाभान्वित गराईहाम्रो गुमिसकेको गौरव एवं आशा र विश्वाशको आधारशिला पनि खडा हुन सक्ने गतिलो परिस्थितिको सिर्जना भएको छ र यसलाई सुनौलोअवसरको रूपमा परिणत गर्ने चुनौती पनि हो अवको नयॉं पुस्ताको लिडरसिपलाई ।
२००७ सालको जनक्रान्तिले १०४ वर्षको एकतंत्रिय जहानिया राणा शासनको अन्त्य गरी राजा र जनताबीचको पर्खाल भत्काई प्रजातन्त्रको उदय भएको ईतिहास हाम्रो पुस्ताले पढेका हौं । त्यसपछिका दिनहरू २०१५ सालको आम चुनावसम्म धेरै राजनैतिक खेलवाडका घटनापनि पढियो।नेपालकै ईतिहासमा हालसम्मकै महान प्रजातन्न्रवादी नेता विशेश्वरप्रसाद कोईराला ज्युको नेपाली काॅंग्रेस पार्टीको दुईतिहाई वहुमतप्राप्त सरकारले देशको उन्नती र प्रगतिको लागी गरेका अभ्यासहरू वारे पनि पढ्ने मौका पाईएकै हो ।
एक हल गोरू जोतिरहेका किसानको फोटो हेर्दै सवै नेपालीको आर्थिक हैसियत आफ्नो जतिकै वनाउने परीकल्पना गर्नुभएको थियो । तत्कालिन राजा महेन्द्र र विपि कोईरालाको व्यक्तिगत इगोका कारण र बहुदलीय व्यवस्थामा पार्टिगत स्वार्थभन्दामाथी उठी राष्ट्रियहितमा समर्पित हुन नसकेको विष्लेषण गरी २०१७ साल पौष १ गते दुई तिहाई वहुमत प्राप्त शक्तिशाली सरकारलाई विघटन गरी पञ्चायती व्यवस्था सहित नयाॅं संविधान जारी भएको र २०३६ सालको जनमत संग्रहसम्मको शासन व्यवस्था पनि स्कुले विद्यार्थी जीवनमा भोगेकै हो । शोषण रहित समाजको सिर्जना गरी विकाशको मूल फुटाउने भाषणहरू रेडियो नेपालले प्रसारण गरी नै रहन्थे ।
राजा विरेन्द्रले जन चाहना अनुसार राज्य चलाउने उदेश्यले नेपाली जनता के चाहन्छन्? वहुदलीय शासन पद्दति की निर्दलिय व्यवस्था? निर्वाचन गराउॅंदा निर्दलको पक्षमा २४ लाख मत र वहुदलको पक्षमा २० लाख मत खसि सुधारीएको पञ्चायती व्यवस्थाले २०४६ साल सम्म नेपालको शासन व्यवस्था सञ्चालन गरेको पनि हामीले देखे भोगेकै हो । जहिले पनि जुनसुकै व्यवस्थाका नेतागणले जनताकै हितर देशकै उन्नती गर्ने भाषणहरू दीई नै रहनु भयो । यस्मा कहिल्यै कमी आएन। २०४६ सालको प्रथम जनआन्दोलनको सफल र विशाल जन दवाव पश्चात तत्कालिन राजा विरेन्द्र वाध्य भएर पार्टीहरू प्रति लगाईएको प्रतिवन्ध हटाई वहुदलिय व्यवस्थालागु भएको घोषणा गर्न पुगे ।
सफल जन आन्दोलन पश्चात २०४६ चैत्र २७ गते काठमाण्डौको खुलामॅंचमा आयोजित विशाल आमसभामा, आन्दाेलनमा सहभागी दलहरू र वाममोर्चाका नेताहरू आ-आफ्नो दलको प्रतिनधित्व गर्दै अव देशको उन्नति र जनताको सुख सयलको लागी काम गर्ने साथै प्रजातंत्रको सुदृढीकरण गर्ने प्रतिवद्धता जाहेर गरेका भाषण यिनै कानले प्रत्यक्ष सुनेकै हो ।
त्यस वखत काॅंग्रेस पार्टी र वाम मोर्चाको सयुक्त जनआन्दोलनका कमाण्डर प्रजातन्त्रका पिता सर्वमान्य नेता वीर गणेशमानसिंहले भन्नुभएको थियो, “राजनितिक युद्ध समाप्त भयो अव आर्थिक क्रान्ति शुरू गर्नु पर्छ । निस्वार्थ भएर, अनुशाशित हुँदै प्रजातन्त्रको विकाश गर्नु पर्छ । देश र जनतालाई केन्द्र विन्दुमा राखेर विकाशको गतिविधिलाई तिव्रता दिनुपर्छ । तपाईहरूको यत्रो विशाल उपस्थितिले विश्वास सुम्पिनुभयो, मलाई कता कता डर लाग्नपो थाल्यो , कतै यो प्रजातन्त्र वादरकोहातमा नरीवल नवनोस ।” यी महानवाणी पनि यीनै कानले प्रत्यक्ष सुनेकैहो । तर वहाॅंले भने झै कुनैपनि नेताले ब्यक्तिगत र पार्टिगत स्वार्थभन्दा माथी उठेको कहील्यै पनि अनुभूति हुन सकेन ।
खाली फोस्रा आश्वासन र भाषणमै सिमित । जनताले कहिल्यै सुशासन देख्न र भोग्न पाएनन् । ठुलाठुला भ्रष्टाचार वाहेक देशको गौरव र ऊन्नतीको दिशामा केही उल्लेख्य प्रगतिको अनुभूति गर्न पाईएन । संवैधानिक राजतन्त्र र वहुदलीय शासन व्यवस्था सुदृढीकरण गर्न नेपालको सर्वोत्कृष्ट संविधान २०४७ लागु भयो । सत्ता र शक्ति प्राप्तीका अनेक फोहोरी खेलहरू देख्न पाईए । कुनै त्यागी, देश र जनताप्रति समर्पित नेता देख्नै पाईएन । जनताका एजेण्डाहरू त सिर्फ नारा र भाषणमा मात्रै सिमीत हुने रहेछ यस्तो प्रजातन्त्रमा । यस्तै घृणित राजनीतिक खेलकुद हेर्न वाध्य नेपाली जनता ५ वर्ष पश्चात २०५२ फागुन २ गते माओवादी जनयुद्धकाे घोषणा गरी कम्यूनिष्ट नेताहरू भूमीगत भएका र रगतको होली खेलेका डरलाग्दा दृष्यहरू र समाचारहरू सुन्न वाध्य भए । जनताकै हित र जीवनस्तरमाथी उठाउने भाषणहरू यथावतै थिए। संविघानसभाको निर्वाचन गरी नयाॅं सॅंविधान वनाउने रराजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्ने प्रमुख माग राखिए ।
१० वर्ष सम्मलगातार वम र गोलावारूदहरू पड्किए । जनताको कल्याण गर्ने नाममासोझा सीधा जनता र सुरक्षाकर्मी नेपाली दाजुभाई दीदीवहीनिहरू लगभग १७ हजारले जिवन आहुति दिए । धेरै रगतका खोलाे बग्याे । यसै बीचमा२०५८ जेष्ठ १९ गते नारायणहिटी राजदरवार हत्याकाण्ड मच्चियो ।तत्कालिन युवराजधिराज दिपेन्द्रले आफ्नो प्रेमिकासॅंग विवाह गर्न दरवारले मन्जुरी नदिएको झोंकमा नाम नखुलेको कालो पदार्थ सेवन गरी स्वचालित हतियार प्रयाेग गरी श्री ५ विरेन्द्रको वंश विनाश गरीएको र राजकुमार स्वयमले आफै लाई गोली हानी आत्माहत्या गरेको भन्ने कसैले पनि पत्याउनै नसक्ने सरकारी रिपोर्ट तयार भयो । यस्को वास्तविकता कुनै समयमा जनता समक्ष प्रश्तुत हुने नै छ । त्यस वखत नेपाली कांग्रेसका नेता गिरिजा प्रासद काेइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । राजा वीरेन्द्रको मलामी हिडेका प्रधानमन्त्री माथी ढुंगा वर्साए आक्रोशित समुदायले । देशमा भएको यत्रो ठुलो जघन्य र अकल्पनिय अपराधी घटनामा कसैलाई सजाय हुनु त कहाॅं हो कहाॅं कम से कम नैतिकताको आधारमा एक जना पनि जिम्मेवार राज्य संचालक पदाधिकारीले राजिनामा समेत दिएनन् ।
राजा विरेन्द्रको वंश विनास पछि राज्यरोहण गरेका उनकै भाई ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री नेपाली काँग्रेसकै अर्का नेता शेरवहादुर देउवालाई देशमा स्थानिय चुनाव पनि गराउन नसक्ने असक्षम भनि वर्खास्त गरी आफ्नो दाजु जस्तो चुपचाप सत्ताको खेल टुलुटुलु हेरेर मात्र वस्न नसक्ने भन्दै राजकिय सत्ता आफैले सम्हाले । संसद पनि विघटन गरीदिए । नेताका स्वार्थी र अपवित्र खेलकुद हेरेर वाक्क दिक्क भईसकेका नेपाली जनता केही हदसम्म यिनले त केही गर्छन् कि भनि आशावादी भएका पनि देखिन्थे । विरोध जुलुसमा जनताको सहभागितै थिएन । नेताहरू प्रजातन्त्रकाे गला घोटीयो भनि विरोधमा सडक जुलुसमा जनताको उपस्थिति विनै हीडिरहन्थे । गिरिजाप्रसाद कोईराला जस्तो नेताले पनि प्रहरीको लाठी खाएर रगताम्य भएको दृष्य देख्दा अचम्मै लाग्दथ्यो । जनताको विश्वास गुमाईसकेका नेताहरूले नागरीक समाजका अगुवाहरू देवेन्द्रराज पाण्डे लगायतको साथ पाए पछि केही जन समर्थन पाउन थाले ।
राजा ज्ञानेन्द्र सैनिक पोशाकमा मेची, महाकाली ,कर्णालीका जनतासॅंग साक्षात्कार गर्ने निहुमा देश दर्शनग र्दै राजकिय ठाॅंट वाॅंटको आनन्द लिदै फोकटको देश दर्शनमै समय विताईरहे । खान नपाएको दुई दिन भयो सरकार भनेको कुरा सुन्दै टाउको हल्लाउदै हिडेका दृष्य टेलिभिजनमा देखीए तर ति भाेका जनतालाई एक छाक अघाउने गरी खाना खुवाएको समाचार कहिल्यै पनि सुन्न पाईएन । देश र जनताको लागी आफ्नो अथाहा सम्पत्तिको ढुकुटी कहील्यै खोलेनन् । उल्टै राज्यको ढुकुटी वाट दरवारले पाउने वार्षिक ११ करोडको सुविधालाई वढाएर ६० करोड पुऱ्याएको समाचार पो पढ्न पाईयो । जनतावाट तिरस्कृत भैसकेका डेट एक्सपायर नेताहरूलाई आफ्नो अध्यक्षताको सरकारमा सामेल गराई जनताकै खिल्ली उडाउन व्यस्त रहे ।
यस्तै परीप्रेक्षमा भुमिगत रहेका सशस्त्र जनयुद्धरत माओवादी पार्टी र आन्दोलन गरिरहेका नेपाली कांग्रेस पार्टी, एमाले लगायतका पार्टीहरूको बीचमा भारतीय सरकारको अघोषित समर्थनमा भारतको राजधानी नयाॅं दिल्लीमा १२ ब्ँदे सहमति गरि नेपालको निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लागी सयुक्त रूपमा निर्णायक दोश्रो जनआन्दाेनलकाे शूरूवात भएकाे थियाे ।
माओवादी भूमिगतरुपमै भएकाले उनीहरु आफ्नाे पार्टीकाे झण्डा लिएर त सडकमा उत्रिएनन, तर आन्दाेलनमा जनतालाई ल्याउन भने ठूलाे भूमिका खेलेका थिए । काठमाडाैंकाे आन्दाेलनमा रुखका हाँगासहित आउने प्रदर्शनकारीहरु माओवादी पार्टीका कार्यकर्ता थिए । १९ दिनकै लामो संघर्षका वावजुद नेपाली जनताको वीशाल जन सहभागिता सामू राजा ज्ञानेन्द्रले वाध्य भएर जनता को नासो आफुले लिएको राजकिय सत्ता जनतालाई नै सुम्पिएको र विघटित संसद लाई पुनर्स्थापना गरेकोघोषणा गरी नारायणहिटि दरवार छाडेको पनि १४ वर्ष वितिसके छ ।
दोश्रो जनआन्दोलन पश्चात सम्पन्न निर्वाचनवाट स्पष्ट वहुमत प्राप्तगरी आन्दोलनका नायक, धेरै वर्ष भूमिगत जिवन विताएका कमरेड पुष्पकमल दाहाल, प्रचण्डले नेपालको ३९ औं प्रधानमंत्रीको सपथ लिए । जनता फेरी एक पटक आशावादी भएका थिए। भूमिगत राजनीतिवाट खारिएर आएका, जनताको समस्या वुझेका नेताले त अवस्य केही गर्ने छन् भनेर । विश्वले नै मानेका प्रभावशाली कम्युनिष्ट नेताको उदय नेपालमा भएको थियो । जनताको पक्षमा केन्द्रित रहेर केही विशेष कार्यक्रम ल्याउने छन् भनि विश्वाश गरिएका नेता त आफु अझ शक्तिशाली वन्ने प्रयासमा नेपाली सेनाका सेनापति जनताको छोरा , रूक्मांगद कटवाललाई वर्खास्त गर्ने पौंठे जोरी खेल्दा आफै रिंगबाट वाहीरीन पुगे ।
२०६४ को संविधानसभाले ४ वर्षकाे नेपाली जनताको अमुल्य समय र ६०१ सभासदले विना कुनै उपलव्धि करीव ९ अर्ब नेपाली सम्पत्ति वरवाद गरे । नेताहरूले जनतालाई यो संक्रमणकालिन अवस्थामा धैर्य धारण गर्न रआगामी संसदवाट संविधान जारी भएपछि देशकै कायापलट हुने भाषण गर्न छाडेनन् । २०७२ सालको विनाशकारी महाभुकम्पले ज्यालामा नमिलेका कामदार जस्ता, पुर्व पश्चिम मुख फर्काएका हाम्रा नेतागण जो जनतालाई आस्वासन वाॅंड्न खप्पिस छन्, एउटा मिलनविन्दुमा आईपुगे । शान्ति र संविधान, सहकार्य र एकता अनि राष्ट्रिय सहमित भन्न छाडेनन् । २०७२ आश्विन ३ गते दोश्रो संविधानसभामा उपस्थित भएर गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरणयादवले संघीय गणतन्त्र नेपालको संविधानकाे दस्तावेजमा हस्ताक्षर गरी जारी गरेको घोषणा भएको पनि ५ वर्षै पुग्न लागिसक्यो । नेतागणले भाषणमा भनेको जस्तोअवस्थाको खाका पनि तैयार हुन सकेको छैन ।
आफ्नो हर्कत उही सत्ता र शक्ति अनि भ्रष्टाचारमै लिप्त भएका समाचार आउन छाडेकै छैनन् । राजनैतिक अस्थिरताका कारण छिटो छिटो सरकार परीवर्तन हुनाले नतिजा मुलक काम गर्न नपाईएको विचारहरू सम्प्रेषण हुन थाले । जनताले जहिले पनि सही निर्णय गरेका छन् । सत्ता प्राप्तिको लागि कहिले कुन पार्टीसँग मिल्ने, कहीले सत्रु ठानेका दलहरूसँग गठवन्धन गरेका समाचारहरूले जनता आजित भैसकेका र व्यवस्था परिवर्तन भए पनि नियत र व्यहोरा वदलिन नसकेका यिनै नेतावाट वाक्क दिक्क भईसकेका जनताले एक पटक फेरी पुष्पकमल दाहाल, प्रचण्ड उर्फ छविलाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी र कमरेड खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी एमाले को गठवन्धनलाई लगभग दुईतिहाई वहुमत दिलाएर स्थिर सरकार चलाउने मतादेश दिए ।
संविधानमा भएकाे व्यवस्था अनुसार १ वर्षसम्म कसैले अविश्वाश प्रस्ताव ल्याउन पाईनेछैन । यस्तो दरीलो र दुईतिहाई मत लिएर प्रधानमंत्रीको कुर्सिमा वसेका जंगबहादुर राणापछिका शक्तिशालि तथा राष्ट्रवादी नेता खड्गप्रसाद ओलीले शासन गरेको पनि लगभग ३ वर्षै हुन लागीसक्यो ।तर जनताको समस्या जहीको तेहीं छ । समृद्ध नेपाल सुखि नेपाली भन्ने सुन्दर नारा, नारामै र कार्यकर्तामाझ भाषणमै सिमित दोखिन्छ । यस्तै परिप्रेक्षमा कोरोना भाईरसको विश्वव्यापी संत्रासले २०७६ चैत्र ११ गतेदेखि लागु भएको लकडाउन आज ५७ औं दिनमा घर भित्रै वस्ने उर्दीको पालना गर्नमै वाध्य भएका छन् आम जनमानस ।
कोभिड १९ ले संक्रमित तीनजना को ज्यान गईसकेको छ भने ४५२ जनाकाे संख्या संक्रमित छन् । आउने दिनहरू जनताका झन झन कष्टकर हुने निश्चितै देखिन्छ । सरकारको नेतृत्व कमजोर र सत्ता लिप्सामा नै उद्धत देखिएका राजनेता गणको गतिविधीबाट निरास भइसकेका जनताहरू छिमेकी मित्र राष्ट्रले आफ्नो भुमि मिचेर कालापानी लिपुलेक हुदै मानसरोवर सम्मको मोटर वाटो उदघाटन नै गरिसकेको तर प्रधानमन्त्रीको आफुलाई थाहा नै नभएको अभिव्यक्तिलेझनै ठूलो आघात पुऱ्याएको छ ।
कोरोना संक्रमणको आतंकले पुऱ्याएकोविश्वव्यापी आर्थिक उथल पुथलको प्रभावलाई सामना गर्न हाम्रो जस्ताे कमजोर व्यवस्थापनले जनताको चाहनाअनुसारका गतिविधि सञ्चालन गर्नैनसक्ने विषय सुनिश्चितै देखिन्छन् । आफ्नो सीमा रक्षा एवं वर्तमान कोरोना सन्त्रासलाई हालमा देखिएका टेस्टेड नेतृत्व वर्गले सहि समाधान गर्नै सक्दैनन् । तेसैले हालसम्म देश र जनताको पक्षमा वहाॅंहरूले पुऱ्याउनुभएको उत्कृष्ट योगदानको उच्च मुल्यांकन गर्दै स्वेच्छाले विश्राम लिनहुन सादर अनुरोध गरिन्छ । २००७ सालदेखिका जति पनि राजनैतिक दलहरू सञ्चालित छन्, जुन उदेश्यले खोलिएका थिए, त्यसको भरपुर परिचालन भैसकेको हुॅदा देश र जनताको पक्षमा उत्कृष्ट क्षमता प्रदर्शन भएको उच्च मुल्यांकन र निष्कर्ष निकाल्दै आगामी दिनहरूमा यी दलहरूको औचित्य समाप्तै भैसकेको प्रमाणित हुन गएको छ ।
नयाॅं जोस र होसका साथ नविनत्तम विचार र प्रविधिको विकाशको लागि तेश्रो जनआन्दाेलनकोशुरूआत नै आजको समयको माग हो । वैदेशिक रोजगारीमा रहेका हाम्रा होनहार ५० लाख युवा स्वदेश फर्कने तरखरमा छन् ।उनीहरूले पठाएको रेमीट्यान्समा आधारीत हाम्रो अर्थतन्त्रको के हाल होला ? नेपालमा त्योजनशक्तिलाई कसरी परीचालन गरीन्छ? विदेशवाट ज्ञान सिप सिकेकासाथै अन्तराष्ट्रिय गतिविधीप्रति चेतनशिल ति युवाहरू नेताका झोलावोकिफोकटको जुलुसमा त अवस्य हिड्ने छैनन् नी! विकशित मुलुकहरूमाअध्ययनरत र अन्तराष्ट्रिय प्रतिष्ठानमा आफ्नो व्यवसायिक दक्षता प्रदर्शन गरीरहेका क्षमतावान विज्ञ समुहहरू जो देशलाई आफ्नो प्राणभन्दा पनिज्यादा माया गर्छन् , वहाॅहरू पनि स्वदेश फर्कने तरखरमा छन् ।
नेपालमै रहेर पनि हाम्रा नेताहरूका रवैयावाट फ्रष्टेट भैसकेका र मातृभूमिको रक्षा एवं नेपाली जनताको जीवनस्तर उठाउन साथै राष्ट्रको गौरवको लागि आफ्नाे ज्यान नै वलिदान गर्न तत्पर रहेका प्रतिष्ठित र क्षमतावान तर निष्कृय रहने गरेका विद्वतवर्ग पनि अव सडकमा निस्कने छन् । कोरोनाको कहरले समस्त नेपालीजनमा नया चेतना र वलिदानि शिक्षा वौछार गरेको छ । सिमित कार्यकर्तालाई नै जनता देखेका हाम्रा नेतागणले वास्तविक जनता अव सडकमा देख्ने छन् । जस्ताे जनता उस्तै नेता भन्ने उदाहरणले कोल्टे फेर्ने समय आईसकेको छ । यो समयको मागलाई नयाँ पुस्ताले नेतृत्व लिने छन् र त्यो नै वास्तविक रूपमा सफल एबं देश रजनताले गर्व गर्ने उपलव्धीमुलक तेश्रो जनआनदोलन हुने छ ।… तथास्तु !!!
(लेखक रोशन श्रेष्ठ ,हाम्रो नेपाल सुशासन अभियानको सामाजिक अभियन्ता हुनुहुन्छ )
प्रतिक्रिया